टिप्पणीआइतबार, चैत्र २२, २०७१
के रोज्ने दाहालजी ?
आफूलाई सजिलो हुँदा एक थोक र अप्ठ्यारो पर्दा ठीक उल्टो बोल्ने बानीले एमाओवादी अध्यक्ष दाहालको विश्वसनीयता समाप्त पार्दैछ ।
नेताको बोलीको धेरै ठूलो महत्व हुन्छ तर एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल जतिखेर जे मन लाग्छ सोचविचारै नगरी त्यही बोलिदिन्छन् । त्यसैले, जनताले उनका कुरा पत्याउन छाडेका छन् । समाजले राजनीतिज्ञहरूको कुरा पत्याउन छाड्नु ज्यादै गम्भीर हो ।
बोलीमा नअड्ने नेता
एमाओवादी अध्यक्ष दाहाल नेपाली राजनीतिमा जति छिटो स्थापित भए त्योभन्दा तीव्र गतिमा विस्थापित हुँदै गएका छन्, आफ्नै बोली र व्यवहारका कारण । दाहाल अहिले पनि नेपाली राजनीतिको महŒवपूर्ण भूमिकामै छन्, तर उनको बोली–व्यवहार देशको लागि रचनात्मक बन्न सकेको छैन ।
‘जनयुद्ध’ छाडेर शान्तिपूर्ण राजनीतिमा आउनु दाहालको बाध्यात्मक कदम थियो । निरन्तर बढ्दो प्रतिकूलता, क्षति र घट्दो आत्मबलको सामना गरिरहेको माओवादी र त्यसका अध्यक्षलाई १२ बँुदे सहमति मार्फत नेकपा एमाले र नेपाली कांग्रेसले शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने सम्मानजनक अवसर जुराइदिएका थिए ।
माओवादीलाई भारतको आश्रयमा लुकेर बस्ने अवस्थाबाट काठमाडौंको केन्द्रीय राजनीतिमा पदार्पण गर्ने परिस्थिति बनाइदिने अर्काे शक्ति राजतन्त्र पनि थियो । माओवादीलाई बलियो र कांग्रेस–एमाले जस्ता लोकतान्त्रिक शक्तिहरूलाई कमजोर पारेर शक्ति हत्याउने रणनीतिमा राजतन्त्र सफल पनि भएको थियो, तर छोटो समयको लागि । अन्ततः लोकतन्त्र विरुद्धको यो षडयन्त्र नेपालको राजतन्त्रकै लागि आत्मघाती ठहरियो ।
राजतन्त्रको समाप्तिसँगै माओवादी अध्यक्ष दाहाल निर्णायक नेताको रूपमा देखा परे । दुर्भाग्यवश, उनले लामो समयदेखि नेपाली समाजमा स्थापित लोकतान्त्रिक शक्तिहरू कांग्रेस–एमालेको भूमिका बुझनै सकेनन् ।
२०६४ सालको निर्वाचनमा माओवादी सबभन्दा ठूलो दल बनेको घटनालाई दाहालले स्थायी अवस्था ठाने । त्यो बुझइले उनको अभिव्यक्तिलाई अहंकारी तथा सोच र कार्यशैलीलाई अधिनायकवादी बनाउँदै लग्यो । परिणाम, उनी र उनको पार्टीप्रति जनताको विकर्षण–विरोध बढ्न थाल्यो ।
दाहालका जातिवादी–क्षेत्रवादी चिन्तन–व्यवहारले माओवादीलाई नेपाली जनमानस टाढा पार्दै लग्यो र दोस्रो संविधानसभामा उनी तेस्रो दलको नेता बन्न पुगे । आफ्नो पुरानै निर्वाचन क्षेत्र काठमाडौं–१० मा उनी तेस्रो बने । तराईको निर्वाचन क्षेत्रमा उनको विजय विवादास्पद रह्यो ।
स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराएको भनेर सार्वजनिक वक्तव्य दिएका उनी परिणामहरू आउन थाल्दाथाल्दै उल्टो बोल्न थाले । दुई दिनको अन्तरमा दुई धु्रवका वक्तव्यहरू दिएर उनले आफ्नै विश्वसनीयतामाथि प्रश्नचिह्न उठाए, आफूलाई ‘राजनीतिक जोकर’ को अवस्थामा पुर्याए । त्यसयता उनले यस्तो प्रवृत्तिलाई कायम राखेका र ‘बोलीको ठेगान नभएको नेता’ को छवि बनाएका छन् । दाहालले यो छवि बदलेर एउटा गम्भीर–जिम्मेवार नेताको रूपमा उभिनु जरूरी छ ।
अबको बाटो
माओवादीहरू सशस्त्र संघर्षको बाटो छाडेर शान्ति प्रक्रियामा आउनुको उद्देश्य के थियो ? यो प्रश्नको जवाफ आज दाहालले नेपाली जनतालाई दिनुपर्छ ।
माओवादी पार्टीले संविधानसभाबाट नयाँ संविधान बनाउने मुख्य लक्ष्यका लागि २०६२/६३ को जनआन्दोलनमा एमाले–कांग्रेसलाई साथ दिंदै शान्ति प्रक्रियामा आएको थियो । १२ बुँदेको सार यही थियो ।
आज त्यही एमाओवादी र दाहालले मैले चाहे जस्तो संविधान नबन्ने हो भने संविधानसभा नै छोड्छु, दुईतिहाइको प्रक्रियाबाट संविधान बनाउने हो भने बहिष्कार गर्छु भन्न मिल्छ ?
हरेक खेलका आ–आफ्ना विधि र प्रक्रिया हुन्छन् । त्यसका निर्णायकहरू हुन्छन् । राजनीतिमा निर्णायक रहने जनताले निर्वाचनमा निर्णय दिन्छन् । लोकतन्त्र स्वीकार गरेर निर्वाचनमा भाग लिने दलहरूले त्यो निर्णय शिरोधार्य गर्छन् । त्यही अनुसार, सत्ता पक्ष र प्रतिपक्ष बन्छन् ।
तर, एमाओवादी अध्यक्ष दाहाल प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा तलब, भत्ता र अन्य सबै सुविधा लिने अनि संविधान बनाउने बेलामा संविधानसभा छोड्छु, प्रक्रिया पनि बहिष्कार गर्छु भनिरहेका छन् । नैतिकताको दृष्टिमा योभन्दा निकृष्ट उदाहरण अरू के हुन सक्छ ?
पुष्पकमल दाहाल आज एमाओवादी नेताका रूपमा एकछत्र छैनन् । उनले हिजो नेतृत्व गरेको माओवादी आज पाँच टुक्रामा विभाजित छ । यो स्थितिको अर्काे पाटोमा दाहाल संसद्को प्रमुख प्रतिपक्ष दलका नेता, तेस्रो ठूलो दल एमाओवादीका अध्यक्ष र विपक्षी मोर्चाका नेता छन् ।
संविधान बनेन भने कसैले मोहन वैद्य वा नेत्रविक्रम चन्दलाई जिम्मेवार ठान्ने छैनन् । उनले संविधान किन बन्न सकेन भन्ने प्रश्नको जवाफ आम जनताको मात्र होइन इतिहासलाई पनि दिनुपर्नेछ ।
शान्ति प्रक्रियाका तीन मुख्य पक्ष नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीमध्ये माओवादीका प्रमुख नेता दाहाल नै हुन् । संविधानसभा उनको समेत सहमतिको साझ अजेण्डा हो ।
दोस्रो संविधानसभा क्रियाशील हुन खोजिरहेको छ, तर दाहाल आफैं यो सर्वोच्च निकायलाई संविधान बनाउने कामबाट रोक्न मोर्चा बनाएर लागिपरेका छन् । बन्दूक बोकेर कहिले डाँडापाखामा भौंतारिदा र भारतका गल्लीहरूमा अलमलिंदा समाप्त हुन लागेको माओवादीलाई शान्ति प्रक्रिया मार्फत पुनर्जीवन दिंदै राष्ट्रिय राजनीतिमा एउटा प्रमुख नेतामा स्थापित दाहालको चरित्र आफैंमा शंकास्पद बनेको देखिन्छ ।
अहिले पनि माओवादी धारको प्रमुख नेता रहेका उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सही राजनीतिक कदम उठाएका थिए । त्यही कदमले दाहाल र बाबुराम भट्टराई यहाँसम्म आइपुगेका हुन् । आफैंले चालेको कदमलाई पूर्णतातर्फ अग्रसर गराउनु दाहालको पहिलो राजनीतिक कर्तव्य हो ।
अलग भएर गएका मोहन वैद्य, नेत्रविक्रम चन्द लगायतले छुट्टै पार्टी बनाउनुको राजनीतिक औचित्य पुष्टि गर्न नसकिरहेको अवस्थामा आफूले शुरू गरेको राजनीतिक प्रक्रियालाई पूर्णतामा पु¥याउने दाहालले नै हो । उनका सामु त्यो अवसर हाजिर छ ।
संविधानसभाले शुरू गरेको संविधान निर्माण प्रक्रिया बहिष्कार गर्नु भनेको लोकतन्त्र नमान्नु हो । संविधानसभा नै छोड्छु भन्नु त झ्न् आत्मघाती राजनीतिक निष्कर्ष हो । १० वर्षअघि शुरू गरिएको राजनीतिक ‘कोर्ष’ छाडेर वैद्य÷चन्दको लाइनमा आत्मसमर्पण गर्नु हो ।
दाहाल यति केटाकेटी निष्कर्षमा पुगिहाले भन्न सकिन्न, तर एमाले–कांग्रेसलाई घुक्र्याउन मात्र उनले संविधानसभा छोड्छु भनेका हुन् भने पनि यस्तो बोली र व्यवहारले उनैलाई गम्भीर क्षति पुर्याइरहेको छ ।
धनुषबाट ननिस्किएको बाँण र मुखबाट ननिस्किएको बोली मात्र आफ्नो नियन्त्रणमा हुन्छ । दाहालका बोलीहरूले उत्पन्न गरेका प्रतिक्रियाहरूले सबभन्दा बढी नोक्सान एमाओवादी पार्टीलाई नै पुर्याइरहेको छ ।
उनका गलत अभिव्यक्ति र कदमहरूले नेपालको राजनीति, संविधान निर्माण प्रक्रिया र एमाओवादी पार्टीको राजनीतिक भविष्यमा क्षति पुर्याइरहेको छ । संविधान निर्माणमा उनले गर्ने सकारात्मक प्रयासले भविष्यमा समेत उनको भूमिका सुनिश्चित गर्नेछ । के रोज्ने, दाहालकै हातमा छ ।