थप समाचारसोमबार, चैत्र २३, २०७१
पोखरेलीले नदेखेका पात्र
पोखरा उपमहानगरपालिका शान्तिवनस्थित सुकुम्बासी बस्तीकी ६१ वर्षीया विभा परियारले २४ वर्षअघि श्रीमान् गुमाइन् । दुई सन्तान छन्, दुवै अपाङ्ग ।
छोरा बुद्धे (२९) र छोरी रूपा (२५) को सहारा उनै आमा हुन् ।
विभा हरेक दिन सेती नदीको किनार रामघाटमा पुग्छिन् । दिनमा मुश्किलले पाँच बोरा बालुवा चाल्छिन् । किनाराबाट शान्तिवनसम्म बालुवा बोक्नुपर्छ, तर सक्दिनन् । बालुवा बोक्नेलाई छुट्टै पैसा दिनुपर्छ ।
“एक दिनमा मुश्किलले तीन/चार सय रुपैयाँ कमाइ हुन्छ”, उनी भन्छिन् । बेलाबेला बिरामी पर्दा परिवार भोकै बस्नुपर्ने बताउँदै उनी भन्छिन्, “मैले काम नगरे छोराछारी भोकै पर्छन् ।”
कपिलवस्तुका भोला मौरिया (३४) १० वर्षदेखि पोखरामा तरकारी बेच्दै आइरहेका छन् । जसै पानी पर्छ, मौरियाको मन धमिलिन्छ । ”पानी परेको दिनमा तरकारी बेच्नै पाउँदिनँ”, उनी भन्छन्, “किनेका तरकारी कुहेर फाल्नुपर्दा मन साह्रै रुन्छ ।”
पाँच, तीन र दुई वर्षका उनका छोरा अहिलेसम्म विद्यालय गएका छैनन् । “यही कमाइले बच्चाहरूलाई पढाउन सकिंदैन भन्ने चिन्ता छ”, मौरिया भन्छन् ।
परियार र मौरिया पोखराको भव्यताभित्रका दुई पात्र हुन्, जो गरीबीका कथा भनिरहेका छन् । तथ्यांक अनुसार कुल ४ लाख ९२ हजार ९८ जनसंख्या रहेको पोखरामा ३ हजार २९४ जना मात्र गरीबीको रेखामुनि छन् ।
उपमहानगरपालिकाका सामाजिक शाखा अधिकृत ओमराज पौडेलका अनुसार ३७ जिल्लाबाट बसाइँ सरेर आएका परिवारमध्ये करीब २३ प्रतिशत भाडामा बस्छन् भने १० प्रतिशत सुकुम्बासी छन् । “उनीहरू नै गरीबीको रेखामुनि छन्”, पौडेल भन्छन् ।
उपमहानगरपालिकाले शहरी गरीबी न्यूनीकरण तथा सामाजिक परिचालन शाखा मार्फत हालसम्म १ हजार ५०० अतिविपन्न समूहमा २५ हजार रुपैयाँका दरले लघु कर्जा कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, यो कार्यक्रमले परियार र मौरिया जस्ता गरीबलाई छुनसकेको छैन ।
सुरेन्द्र पौडेल, पोखरा