थप समाचारमंगलबार, चैत्र २४, २०७१

विपत् सामनाको तयारी शुरू

हिमालखबर


सइन्द्र राई

उच्च भूकम्पीय जोखिममा रहेको नेपालमा ‘मानवीय सहायता स्थल’ बन्न थालेका छन्।

१२ चैतमा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माण भएको मानवीय सहायतास्थल उद्घाटन गर्दै गृहमन्त्री वामदेव गौतम।

१२ चैतमा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माण भएको मानवीय सहायतास्थल उद्घाटन गर्दै गृहमन्त्री वामदेव गौतम।

भीषण आगलागीबाट खरानी बनेको ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङ बजार पुगेका गृहमन्त्री वामदेव गौतमले पीडित परिवारलाई राहतको आश्वासन मात्र दिन सके। त्यसको दुई दिनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मध्यभागको पश्चिमछेउमा ‘मानवीय सहायता स्थल’ को उद्घाटन गर्दा गृहमन्त्रीले ‘विपत् सामना गर्ने पूर्वतयारी नहुँदा ठूलो क्षति खप्नु परिरहेको’ पीडा पोखे।

वर्षेनि साना–ठूला प्राकृतिक प्रकोप परिरहने नेपालमा त्यसको व्यवस्थापनमा कुनै पूर्वतयारी छैन। यसै वर्ष सिन्धुपाल्चोकको पहिरो र पश्चिम तराईमा बाढी चलेपछि बेहोर्नुपरेको गञ्जागोलले पनि प्रकोप व्यवस्थापन पूर्वतयारीको बिजोग अवस्था देखाउँछ। बाढी–पहिरो, आगलागी, भूकम्प लगायतका आकस्मिक प्रकोपबारे सामान्य प्रचार बाहेक केही हुनसकेको छैन।

१९९० र २०४५ सालको भूकम्पबाट जनधनको ठूलो क्षति बेहोरेको नेपालमा देशी–विदेशी विज्ञहरूले संभावित जोखिम न्यून गर्नको लागि पूर्वतयारी तत्काल थाल्न सुझ्ाव दिदै आएका छन्। नेपालमा वि.सं. १३२० यता हरेक ७५ वर्षमा महाभूकम्प आउने गरेको छ। पछिल्लो ६ वर्षयता वर्षैपिच्छे १० भन्दा बढी पटक पाँच रिख्टर स्केलसम्मको भूकम्प गएको छ।

भारतीय र तिब्बती प्लेटको बीचमा रहेका नेपाल, बङ्गलादेश, म्यानमार, फिलिपिन्स र इन्डोनेसिया ८ रिख्टर स्केलभन्दा ठूलो भूकम्प जाने भागमा पर्छन्।

विना तयारी बस्ने हो भने आसन्न भूकम्पले काठमाडौंमा मात्र ४० हजारको मृत्यु र एक लाखभन्दा बढी घाइते हुने विज्ञहरूको अनुमान छ। त्यो स्तरको भूकम्पमा राजधानीका खानेपानीका ९५ प्रतिशत संरचना, ५० प्रतिशत पुल, १० प्रतिशत सडक भत्कने अनुमान छ। त्यो अवस्थामा पुराना भवनमा रहेका अधिकांश अस्पताल ध्वस्त हुनेछन्।

त्यस्तो अवस्थालाई ध्यानमा राखेर ‘मानवीय सहायता स्थल’ बनाउन थालिएको गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले बताए।

मानवीय सहायता स्थल
विमानस्थलमा ‘मानवीय सहायता स्थल’ बनाउन संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम र बेलायत सरकारले सघाएको छ। १० हजार वर्गमीटरमा बनेको यो क्षेत्रमा साढे दुई लाख जनालाई एक महीना पुग्ने खाद्यान्न र दुई लाख ३० हजारको लागि एक पटक पुग्ने प्राथमिक उपचारका सामग्री भण्डार गरिनेछ। यो स्थलमा ९४ हजार मानिसले आपत्कालीन आश्रय लिन सक्नेछन्।

विश्व खाद्य कार्यक्रमका पीट भोक्टेनका अनुसार, भूकम्पबाट सञ्चार, यातायात, खानेपानी लगायतका सेवा अवरुद्ध भएको बेला पनि यो स्थलमा सञ्चार र यातायात चौबीसै घन्टा सुचारु हुनेछ। यो स्थलबाट उद्धार रणनीति बनाएर कार्यान्वयन गरिन्छ। मुलुकका अन्य ठाउँ र विदेशसँग समन्वय गरेर उद्धार कार्यलाई प्रभावकारी बनाउने तथा अन्तर्राष्ट्रिय राहत अभियानको प्रवेशद्वार पनि यही स्थल हुनेछ।

सरकारले काठमाडौं उपत्यकामा यो सहित कीर्तिपुर, खुमलटार र भक्तपुर तथा बाहिर विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवामा आपत्कालीन ‘मानवीय सहायता स्थल’ स्थापना गर्दैछ। यी स्थलहरू सबै खाले विपत्का बेला सक्रिय हुनेछन्।

तीन वर्षअघि शुरू गरिएको यो परियोजनाले विपत्बारे सचेतना कार्यक्रम पनि सञ्चालन गर्नेछ। भूकम्पीय जोखिमका दृष्टिकोणले संसारको सर्वाधिक खतरायुक्त १० शहरमा पर्ने काठमाडौंमा बनाउन थालिएको उद्धार स्थलले सुरक्षा र न्यून क्षतिको आशा जगाएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>