अन्तर्वार्ता/विचारबुधबार, चैत्र २५, २०७१
‘गरीबी घट्नु भनेको धनी बढ्नु होइन’
गरीबी निवारण कोषद्वारा सञ्चालित गरीबी निवारण कार्यक्रम लागू भएका जिल्लामा अध्ययन गरेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) का अनुसन्धानकर्ता योगेन्द्रबहादुर गुरुङ भन्छन्, “तीन महीना मात्रै खान पुग्ने परिवारले ६ महीना खान पाउनु गरीबी कम हुनु हो, तर त्यो परिवारलाई धनी भन्न त सकिंदैन।”
सेडाको अध्ययनले गरीबी १७ प्रतिशत घटेको भनेको छ, यसको आधार के हो?
प्रमुख आधार आर्थिक सूचकहरु नै हुन्। वस्तु उपभोगमा गरिएको खर्चको आधारमा अध्ययन गर्दा सन् २००७ मा ५०.७ प्रतिशत रहेको गरीबी २०१४ मा ३३.१ प्रतिशतमा झ्ारेको छ। आम्दानी भन्दा खर्चको आधारमा गरिएको अध्ययन वैज्ञानिक मानिन्छ।
६ जिल्लामा गरिएको अध्ययन नतीजालाई सामान्यीकरण गरेर हेर्न मिल्ला?
गरीबी निवारण कार्यक्रम लागू भएका १९ मध्ये ६ जिल्लामा गरिएको अध्ययनबाट गरीबी घटेको देखिएको हो। डोटी, दैलेख, जुम्ला, रोल्पा, रौतहट र हुम्लाका २८०० घरधुरी लिएर गरिएको अध्ययन हो। नमूना छनोटदेखि तथ्यांक विश्लेषणमा वैज्ञानिक विधि अपनाइएको छ। यसको विस्तृत विश्लेषण विश्व ब्याङ्कले गरिरहेको छ।
गरीबी के कारणले घटेको रहेछ?
गरीबी निवारण कार्यक्रमको लक्षित समूह गरीब जिल्लाबाट गरीब गाविस, त्यसबाट पनि गरीब वडा र गरीब वडाका पनि सबभन्दा गरीब परिवार पर्छ। गरीबी निवारण कार्यक्रमको रकम निकै कम संचालन खर्च (३.४ प्रतिशत) मा लक्षित समुदायमा पुग्दा प्रभावकारी हुँदोरहेछ।
गरीबी निवारण कोषकै कार्यक्रमको आधारमा गरीबी घटेको भनियो नि?
सन् २००७, २०१० र २०१४ मा गरिएको अध्ययनको निष्कर्ष हो यो। गरीबी निर्वारण कार्यक्रममा सहभागी भएकाहरूले निरन्तर आयआर्जनको अवसर पाएका छन्। कार्यक्रममा सहभागी नहुनेहरू लगभग सन् २००७ ताकाकै अवस्थामा छन्।
सेडाको तथ्यांक र नेपाली गाउँघरको यथार्थ कति मिल्ला?
गरीबी घट्नु भनेको गरीबको संख्या घट्नु होइन। तीन महीना मात्रै खान पुग्ने परिवारले ६ महीना खान पाउनु गरीबी कम हुनु हो, तर ६ महीना खान पुग्ने परिवारलाई धनी भन्न सकिंदैन। उनीहरूका लागि सरकारले थप कार्यक्रम ल्याउनुपर्छ।