ब्लगबुधबार, चैत्र २५, २०७१

‘अभागी’ पुस्ताको बयान

लक्ष्मण श्रेष्ठ

mohan_mainaliकिशोरवस्थाको उकालो चढ्दै गरेको उमेरमा हिमाल खबरपत्रिकाको एक अंक मेरो हात पर्‍यो । नेपाल टेलिभिजन बाहेक अरु सञ्चारमाध्यमको पहुँच नभएको गाउँमा त्यो पत्रिकाको आफ्नै महत्व थियो ।

त्यो अङ्कमा प्रकाशित कालिकोटमा विमानस्थल खन्न गएका जोगिमाराका मजदुर मारिएको कथाले मेरो किशोर मनमा भुइँचालो ल्याइदिएको थियो तर, लेखकको नाम याद गर्ने भइसकेको रहेनछु । एसएलसी पास गरेर शहर ओर्लेको केही समयपछि मैले थाहा पाएँ हामीलाई दुःखको त्यो खबर सुनाउने मोहन मैनाली थिए ।

तिनै मोहन मैनालीले द्वन्द्वले पिल्सिएका साधारण मान्छेहरुको कथा सुनाउँदा देखे-भोगेको दृश्य र अनुभूतिहरुको संग्रह किताबको रुपमा हात परेपछि म रोकिन सकिन । तर मान्छे देखि मान्छे डराएको युगको कथा भन्ने ‘मान्ठा डराएको जुग’ पढ्नु सजिलो छैन ।

पानैपिच्छे थपिने दृश्यहरुले मन भरिएर आउँछ । कोही कसैले घाँटी निचोरेजस्तो लाग्छ । आँखै अगाडि छोरा मरेको देखेका बाबु, कमाउन गएको छोराको मृत्युको खबर पर्खिरहेकी आमा । खसमलाई मार्न लैजाँदै गरेका जल्लादहरुको पछिपछि मलाई पनि मारिदेउ भन्दै विलाप गरिरहेकी श्रीमती ।

विरह र वियोगले मलिन अनुहारहरु । सबैले थिचेपछि निसास्सिनुको विकल्प रहँदैन । पटकैपिच्छे ज्वालामुखी, प्रश्न उठ्छः ‘होइन हामी कसरी भोगेर आयौं यत्रो त्रासद समय ?’

मोहन मैनालीले देखेर, भोगेर लेखेको कथा कुनै स्थान विशेष र कुनै व्यक्ति विशेषको मात्र होइन । यो हामी सबैको व्यथा हो । म र मेरो छिमलले धेरथोर मात्रामा कुनै न कुनै हिसाबले भोगेको भोगाइको आलो कथा हो ।

भाग्यमा विश्वास गर्ने हो भने, सबैभन्दा अभागी पुस्ता हौं हामी जसले हुर्किने क्रममा नै मान्छेदेखि मान्छे डराउने समय भोगेर हुर्कियौं ।

मान्छेले मान्छेलाई लखेटी लखेटी मारेको देखेर भोगेर हुर्कियौं । मेरो छिमलका थुप्रै मान्छेहरु यो मर्ने र मार्ने कुकृत्यमा सहभागी पनि गराइए ।

सजिलोसँग भन्ने हो भने, मैनालीको यो पुस्तक नेपाली समाजले भोगेको द्वन्द्वको आलो कथा हो । तर यत्ति भनेर पुग्दैन । यो किताब द्वन्द्वमा कुनै पनि पक्षबाट सहभागी नभएर पनि पिल्सिन बाध्य साधारण मान्छेहरुको दुःख, पीडा, क्लेश र आँसुको साक्षी हो ।

मैनालीले पक्षधरताको सबै किनाराहरु छोडेर साधारण मान्छेहरुको मैदानमा देखेको तस्वीर उतारेका छन् । उनले बताएका छन्, देशले नै मारेका मान्छेहरु कति कष्टमा बाँचेका थिए । गरीबीले थिचेको जीवनमा युद्ध थपिएपछि कसरी मान्छे आफैलाई व्यर्थैमा जन्मेको भनेर सराप्न बाध्य हुन्छ ।

पुस्तकको कुनै पनि पाना यस्तो छैन जहाँ युद्धको दुखद तस्वीर नकोरिएको होस् । यस्तो लाग्छ, हरेक शब्दहरुका पछाडि कालीकोटमा ज्यान गुमाएका धादिङ्गका किसानहरुको रोदन छ । हरेक वाक्य पछाडि बाजुरा कोल्टीमा आफ्नै आँखा अगाडि कुट्दै लतार्दै मार्न लतारिएका खसमको दृश्य देखेर अचेतप्राय भएकी श्रीमतीको दुःख छ ।

जब निहत्था र निमुखाको लासहरुको तस्वीर खिच्दै उसका आफन्तहरुको रोदनको साक्षी बस्न बाध्य भइन्छ त्यसबेल बनेबनाएका सबै मान्यताहरु उल्टिन्छन् । मानवीय संवेदनाको उत्ताल वेगले आफैलाई बगाउँछ ।

पत्रकार मोहन मैनालीले केवल घटनाहरुको कोरा वर्णन मात्र गरेका छैनन् । त्यसको सामाजिक पृष्ठभूमिसँगै आफ्ना अनुभूतिहरुको बेलीविस्तार पनि लगाएका छन् । बताएका छन्– मानवीय संवेदनाहरुको निर्मम हत्या भएको समयमा कसरी राज्यले आफ्नै नागरिकहरुको दुःख सुन्न पनि तयार भएन । र, देखाएका छन्, जनताको मुक्ति गर्छु भन्नेहरु पनि कसरी जनताको शासक मात्रै बनिरहे ।

उनले देखेको एउटै तस्वीर हो– हतियार समाएपछि मान्छेको संवेदना मर्दोरैछ र त्यो शासक बन्दोरैछ । पिल्सिने त आखिर निहत्था जनता रैछन् ।

हो, द्वन्द्व सकिएको छ । तर पुस्तक पढ्दै गर्दा लाग्छ, हाम्रो देशको शान्ति प्रक्रिया खिल ननिक्लेको पिलोजस्तै भएको रैछ । द्वन्द्वमा पिल्सिएका साधारण जनताको आँसु पुछ्ने रुमाल राज्यले अझै दिन सकेको छैन । त्यो समयमा भएका अपराधहरुलाई सहमतिको नाममा जबरजस्ती टुंग्याउन खोजिदैछ ।

के निहत्था मान्छेलाई लखेट्दै- कुट्दै मार्नेहरुलाई कारवाही हुनुपर्दैन ? के युद्धको नाममा भएका सबै अपराधलाई माफी दिन सकिन्छ ? अवश्य, सकिंदैन । त्यसो गरियो भने त्यो त नसकिएको युद्ध हुन्छ ।

आज पिडामा पिल्सिएकाहरु भोली बदलाको भावनाले जागे भने फेरी अर्को युद्ध नहोला ? के फेरी मान्छे डराउने समय नआउला ? कल्पिँदा पनि कहाली लाग्छ ।

पुस्तकको अन्तिम पातो पढिभ्याउँदा म कहालिन्छु । सोच्छु, भावी पुस्ताले जब यो पुस्तक पढेर सोध्नेछ– किन भएको थियो युद्ध ? के पायौ त्यत्रा मान्छेहरु मारेर ? सायद त्यतिबेला हामीसँग शब्दको अभाव हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...