ब्लगबिहीबार, चैत्र २६, २०७१
संक्रमणकालीन जोगाड
अर्थोक लुँड्याउन नपाए’नि दिनदहाडै नौला–नौला अपराधको खुलेआम दर्शन पाइएकाले नेपालीले साह्रै मन कुँड्याउनु मनासिब नहोला।
अपराधले बारीको बन्सो रूप लिंदा आन्तरिक सुरक्षाको जिम्मुवाल गृहमन्त्री महोदयको बेचैनी काउसो झैं बनेको छ। बढ्दो अपराधप्रति मानिसहरूको चिन्ताको अनुमान चल्तीकी एक नेतृको ड्याङ परिवर्तनबाटै लगाउन सकिन्छ। हालै नेतागिरी छाडी लमीगिरीमा लामबद्ध भएकी उनले नागो जीवन व्यतीत गरिरहेका राजनीतिकर्मीहरूको लगन जुराउन कम्मर कसेकी छन्– महिलामैत्री समाज निर्माणार्थ।
बलात्कार लगायत महिला हिंसाका घटना बढेकोमा रिपोर्टरहरू पनि खुर्राट–खुर्राट प्रश्न सोध्छन्, सम्पादकहरू मुटुछेड सम्पादकीय लेख्छन्, कोही सडकमै ‘खै अपराधी’ भन्दै सामूहिक लम्पसारीमा उत्रन्छन्। अपराधी भन्या खल्तीमा पट्याएर राखेको रुमाल जस्तो चिज भए माननीय गृहमन्त्रीले फुत्त–फुत्त निकाल्दै चोक–चोकमा बाँडिदिनुहुन्थ्यो होला।
तर, अपराधीहरू कहिले काखी त कहिले नाभीलोकको विहडमा फड्की मार्ने उपियाँ जस्ता छन्। बरा गृहमन्त्री हात मार्दै हत्तु। एकातिर थिच्न खोज्छ, अर्कोतिर हुन्छ घटना। तर, हाम्रा दबंग गृहमन्त्री यसै कहाँ गल्थे। गडगडाएर घोषणा गरे– संक्रमणकालमा बलात्कार त भइहाल्छ!
हुन पनि; चोरी–डकैती, अन्याय–अत्याचार, भ्रष्टाचार–बलात्कार नबढे त्यो कसरी संक्रमणकाल? संक्रमणकालीन लाभका जानिफकार नेतृत्व पाएको हाम्रो देशमा त संक्रमणकाल अझ् सप्रेको छ। संक्रमणकालको नाम बदनाम नहोस् भनेरै गृहमन्त्रीज्यूले बलात्कारी एवम् अपराधीलाई हरियो झ्ण्डा देखाएको हुनुपर्छ।
अधिकारका मुद्दाहरूले लट्टन लिएको घडीमा अपराधीले मात्र अधिकार नपाउँदा असमावेशी भैजानेमा गृहमन्त्री सजग देखिनुभो। भोलि सरकार पिलित्त भयो र संक्रमणकालको मर्म नबुझने बेवकुफहरूले कानूनी डण्डा चलाएर दपेट्न खोजेमा विचरा अपराधीहरू टुहुरा हुन पुग्लान्। गृहमन्त्रीज्यूको यो संक्रमणकालीन अफरको फाइदा उठाउन पट्केहरूले कुनै कसर बाँकी नराख्ने आशा गरम्!
अन्यत्र एकातिर अपराध गरी अर्कोतिर कुलेलम् ठोक्ने प्रवृत्ति देखिए पनि नेपालका अपराधीहरू विदेशी भूमिमा पक्राउ परिएला भन्ने डरले सरहद काट्न त्राहिमाम् हुन्छन्। ठीकै हो, यो सरहदभित्र आफूविरुद्ध फैसला भइहाले मैमत्त भएर सडकबाट अदालतलाई ललकार्न पाइन्छ, बाहिर त कानूनको फेला पर्दा बडे–बडे सुरमाहरू पनि स्वतः तोर्मा बनिजान्छन्। भनेपछि, अपराधीमैत्री देशमा अपराध नबढेर तिनका बराजुको जोवन बढोस् त!
गृहमन्त्री महोदयको अन्तर्य नबुझेकाहरूले हायतौबा मच्चाउनुमा कुनै उदेक छैन। अनुभवहीन अदनाहरूले न अनुभवका सागर गृहमन्त्रीको अन्तर्य ठम्याउन सक्छन् न त संक्रमणलाई थप संक्रमित तुल्याएर अपराधको सामान्यीकरण मार्फत अपराधीलाई थोकमा माफी मिनाहाको प्रपञ्च मिलाई दलहरूबीच राष्ट्रिय सहमतिको उर्बर आधार खडा गर्ने तरकिब बुझन।
संक्रमणकालमा गृह मन्त्रालय हाँक्नु भनेको पानीघट्ट चलाए जस्तो होइन। सरुवा, बढुवा, टेन्डर, ठेक्का लगायतको यावत् कर्म झ्कास्सँग निप्टाइरहेका गृहमन्त्रीले जाबो जनसुरक्षामा सम्झौताको प्रस्ताव राखेको विषयमा बबन्डर मच्चाउन खोज्नु बकम्फुसे बुद्धिको द्योतक हो।
टोफेल, जीआरई समेतले ज्ञानको ढिकुरो समान हुनपुगेका हाम्रा मन्त्रीहरूलाई अंग्रेजीमा बक्कै भएका अदक्ष कर्मचारी कणबाट काम निकाल्न कम सकस छैन। यो अवस्थामा भिसा प्रोसेसिङको जिम्मा विदेशी कम्पनीलाई सुम्पने जुक्ति झिकेका गृहमन्त्रीको संक्रमणकालीन सुरक्षा अवधारणा कम्ता ‘हाइटेक’ छैन।
सुरसाको मुखरूपी संक्रमणकाल बीच अपराधको पिरलोमा पिल्सिनु भन्दा रामभरोसे भई चित्त स्थिर पार्ने रोकथाम विधि त्यसै पनि कमसल जोगाड होइन।
शंका उप–शंकामा बरालिनु भन्दा गृहमन्त्रीज्यूले जोड गरेको विदेशी वा कुनै घच्ची स्वदेशीलाई काम दिंदाहुँदी संक्रमण तुरिने सम्भावना पनि ह्वात्तै बढ्थ्यो। गृहमन्त्रीज्यूले संक्रमण व्यवस्थापनको यो जोगाड मन्त्रिपरिषद्मा पेशेको चाँडै सुन्न पाइयोस्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
