रमझमशुक्रबार, चैत्र २७, २०७१
भविष्यको रंग
-सजना बराल

योङ पिकासोले आयोजना गरेको बाल चित्रकला प्रदर्शनीको उद्घाटन गरिंदै।
चित्रकलाले बालबालिकामा टेलिभिजन, भिडियो गेम जस्ता लत घटाउने मात्र होइन लुकेका थुप्रै प्रतिभा बाहिर ल्याउन मद्दत गर्छ।
ललितपुर, पाटनका उज्ज्वल श्रेष्ठकी ९ वर्षीया छोरी उक्ति खूब चित्र कोर्थिन्। छोरीको चित्रमोह देखेर उज्ज्वलले उनलाई योङ पिकासो स्कूल अफ फाइन आर्टमा भर्ना गरिदिए।
भर्नाको पन्ध्र दिनपछि योङ पिकासोले विद्यार्थीका चित्र प्रदर्शनीमा राख्ने निर्णय गर्योो। उज्ज्वलले खासै वास्ता गरेनन्। “के चित्र बनाउँली भन्ने लागेको थियो”, उज्ज्वल भन्छन्, “तर, पाटन ग्यालरी गएर हेरेपछि छक्कै परें। राम्रो चित्र बनाइछ।”

उक्ति श्रेष्ठले बनाएको चित्र।
पाटनकै मंगल मानन्धर पनि छोरा स्वर्णिमको चित्र देखेर दंग परे। सेन्ट जेभियर्स स्कूलमा कक्षा ३ मा पढ्ने स्वर्णिम फुर्सदको बेला घर, गाडी, कार्टुन आदि बनाइरहन्थे। “चित्र बनाउन रहर गर्थ्यो”, मंगल भन्छन्, “जाडो बिदाका बेला चित्रकला सिकाउने स्कूलमा भर्ना गरिदिएँ। राम्रो गरिरहेको छ।”
योङ पिकासोले गत फागुनमा आयोजना गरेको बाल चित्रकला प्रदर्शनीमा २४ सहभागीको चित्र टाँगिएको थियो। जसमा चार वर्षीय यसराज श्रेष्ठले गोलभेंडा र भान्टा, जेविस व्यञ्जनकारले फूलबारी, आमिर खानले घोडा, ज्योतिलक्ष्मी अमात्यले च्याउ आदिका चित्र बनाएका थिए।
कुनै पेन्सिल स्केच त कुनैमा पानी रंग र एक्रेलिक रङ प्रयोग गरिएका थिए। फ्रान्सको युरोपियन युनिभर्सिटी अफ फाइन आर्टस् अफ ब्रिटानीका कोर्नउ कोराली र ओक्लाफेन बाप्टिस्टले यी बालबालिकालाई चित्रकला प्रशिक्षण दिएका थिए। “नेपाली बालबालिकालाई सिकाउन पाउँदा रमाइलो लाग्यो,” बाप्टिस्टले भने, “उनीहरूबाट पनि सिक्ने अवसर मिल्यो।”
काठमाडौंस्थित थापाथली हाइटमा रहेको ‘आर्ट स्पेक’ मा पनि प्रत्येक शनिबार बालबालिकालाई चित्रकला सिकाइन्छ। “चित्रकलाको ज्ञान हुनेले अरू विषयमा पनि राम्रो गर्न सक्छन्”, आर्ट स्पेकका संस्थापक किशोर राजभण्डारी भन्छन्, “बालबालिकाले चित्रकला सिकेमा उनीहरूभित्रको अन्य प्रतिभा पनि प्रस्फुटन हुन्छ।”
१५ वर्षदेखि चित्र र मूर्तिकला सिकाउँदै आएका राजभण्डारी चित्र कोर्ने अधिकांश बालबालिका पढाइमा तेज हुनुका साथै विज्ञान र गणित विषयमा राम्रो अंक ल्याउने दाबी गर्छन्। “तर, हाम्रा विद्यालयमा पेन्टिङ सिकाउने चलन स्थापित हुनसकेको छैन”, चीनको सेन्ट्रल एकेडेमी अफ फाइन आर्टस्का स्नातकोत्तर उनी भन्छन्, “अभिभावकमा चेतना चाहिन्छ।”

आर्ट स्पेकमा चित्रकला सिक्दै विद्यार्थी।
योङ पिकासोका अजय देसार नेपालमा चित्रकारिता पेशा बन्न नसकेकाले अभिभावकले सन्तानलाई प्रोत्साहित नगरेको विश्लेषण गर्छन्। “छोराछोरीका चित्र हेर्न बुबाआमा मुश्किलले आइपुगे”, देसार भन्छन्, “चित्र हेरेपछि उनीहरु भावुक बने।”
सन्तानलाई टीभी र भिडियो गेमको लत छुटाउन पनि अभिभावकले आर्ट स्कूल रोज्ने गरेको देखिएको छ। चित्रकार सपना शाह र कुशल हमालले सानेपास्थित सपनाकै घरमा बालबालिकालाई चित्रकला सिकाइरहेका छन्। “जाडो विदाका बेला हामी आर्ट क्याम्प गर्छौं”, सपना भन्छिन्, “गएको माघमा गरेका थियौं। टोलका ५–६ जना केटाकेटी आए। चित्र प्रदर्शनी पनि गरेका थियौं।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
