टिप्पणीशुक्रबार, चैत्र २७, २०७१
अाम अादमीः विरोधाभासबाट विग्रह
अरविन्द केजरीवाल पछिका दुई वरिष्ठतम हस्ती योगेन्द्र यादव र प्रशान्त भूषण राष्ट्रिय कार्यकारिणीबाट बर्खास्त भएपछि आम आद्मी पार्टीको अन्तरसंघर्ष छताछुल्ल भएको छ।
दिल्ली विधानसभामा तिलस्मी सफलता मिलेको करीब दुई महीनामा आम आद्मी पार्टी फेरि भारतीय राजनीतिको चर्चाको केन्द्रमा छ, तर आन्तरिक कलहका कारण।
स्वराज र भ्रष्टाचार विरोधी नाराबाट उठेको आम आद्मी पार्टीमा विभिन्न किसिमका आन्दोलनकारी सामाजिक कार्यकर्ता र रचनात्मक कार्यक्रमका अभियन्ताहरू सहभागी छन्। स्थापनाको छोटो समयमै पार्टीले २०१३ मा दिल्ली विधानसभामा दोस्रो ठूलो दल भएर सरकार बनायो।
तर, मुख्यमन्त्री अरविन्द केजरीवालले विपक्षीहरूले काम गर्न नदिएको भन्दै ४९ दिनमा राजीनामा गरे। त्यसपछि लोकसभा निर्वाचनमा कांग्रेस र भाजपाले भन्दा धेरै ठाउँमा उम्मेदवारी दियो, तर पहिलो प्रयासमा कुल चार सीटमा सीमित हुनपुग्यो।
बनारसमा मोदीलाई चुनौती दिन पुगेका पार्टीका संयोजक केजरीवालले लोकसभा निर्वाचनबाट पाठ सिक्दै पार्टीको सम्पूर्ण शक्ति दिल्लीमा नै केन्द्रित गर्न आह्वान गरे। देशभर फैलने सम्भावना हुँदाहुँदै दिल्लीमा ध्यान केन्द्रित गरेको परिणाम मतदाताले दिल्ली विधानसभामा कुल ७० मध्ये ६७ सीट दिलाइदिए।
लोकसभा र दिल्ली विधानसभा निर्वाचनका बीचमा केजरीवाल र योगेन्द्र यादवका मतमतान्तर सतहमा आएका थिए। यादव चाहन्थे– पार्टी तेज रफ्तारमा भारतभर फैलियोस्, तर केजरीवालले त्यसलाई रोकिदिए।
मुख्यमन्त्रीको अहंकार!
केजरीवाल सरकारी कर्मचारीबाट एनजीओकर्मी बनेका थिए। यादव राममनोहर लोहिया समर्थक समाजवादी संगठनका हस्ती थिए। देशभरका समाजवादी कार्यकर्ताहरूमा यादवको प्रभाव बलियो थियो, छ।
त्यो आधारमा देशभर फैलँदा केजरीवाललाई पार्टीमा पकड राखिराख्न अप्ठ्यारो हुन्थ्यो। केजरीवालले महसूस गरेको यो असुरक्षालाई मलजल गर्दै पार्टीका दोस्रो तहका नेताहरू आशिष खेतान, मनिष सिसौदिया आदिले ‘कोटरी’ मजबूत बनाउन शुरू गरे।
विधानसभामा ६७ सीट जितेका आधारमा माथिल्लो सदन राज्यसभामा पार्टीले तीन सीट मनोनयन गर्न सक्ने भयो, जसमा शीर्षस्थ नेताहरू योगेन्द्र यादव, प्रशान्त भूषण र आनन्दकुमार स्वाभाविक हकदार हुन्थे। सँगसँगै, यी तीनको पत्तासाफ नगरी खेतान, सिसौदिया, सञ्जय सिंह, कुमार विश्वास आदिको उदय तत्काल सम्भव थिएन।
यादव समूहबाट भित्रभित्रै सशंकित केजरीवालले गुटको बहकाउमा लागेर उनीहरूलाई पार्टीको साधारण सदस्य मात्र रहने गरी हटाइदिए। पार्टीको मह140वपूर्ण निकाय राष्ट्रिय कार्यकारिणीबाट हटाइँदा यादव समूहले सफाइ दिने लोकतान्त्रिक अभ्यास समेत गर्न पाएन। सम्मानजनक राजीनामाको याचना गर्दा गलहत्याएर निकालियो।
यादवले ‘नयाँ राजनीतिको विकल्प’ शीर्षकको लेखमा केही गम्भीर सवाल उठाएका छन्– ‘के आप अरू जस्तै सामान्य पार्टी बनिसकेको हो त? पूरै देशमा बदलाव ल्याउने भनेर खोलिएको पार्टी दिल्लीको क्षेत्रीय दलमै सीमित रहने त? स्वराजको मन्त्र लिएको पार्टीको ‘स्व’ एक व्यक्तिमा अड्केको हो त?’ अब उनका अगाडि तीन विकल्प छन्– पार्टी बन्नुभन्दा पहिले ज–जसले जहाँ–जहाँबाट काम गर्थे त्यहीं फिर्ता जाने, पार्टी कब्जा गर्न निर्वाचन आयोग गएर कानूनी लडाइँ लड्ने वा कार्यकर्ताहरूको राय सुनेर नयाँ पार्टी बनाउने।
यादव समूहले १४ अप्रिलमा डाकिएको कार्यकर्ता भेलाबाट केही निष्कर्ष निकाल्न सक्छन्। त्यसअगावै केजरीवालले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पन्छाइदिने सम्भावना पनि छ। त्यो अवस्थामा बागीहरूले भेलाबाट औपचारिक रूपमा नयाँ पार्टी गठन गर्ने अवसर पाउनेछन्।
वरिष्ठ नेता आनन्द कुमारले अहिलेसम्म पार्टीको साधारण सदस्यका हैसियतले काम गरिरहेको बताएका छन्। ‘साथ नछाड्ने, उनीहरूलाई सुधार्ने र आफू पनि सुधि्रने’ उनको भनाइ छ। तर, यस्तो आशा र संघर्ष पूरा नहुने सम्भावना बढेको छ। केजरीवालका पछिल्ला वक्तव्यहरूमा विपश्यनाका साधकको ‘सरलता र मिठास’ कम, कुर्सीमा विराजमान ‘मुख्यमन्त्रीको अहंकार’ ज्यादा मुखरित भइरहेको छ।
आन्दोलनको आत्मा बचाउन कस्सिएकाहरू नेतृत्वको नैतिक पतन पर्खनु भन्दा आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउने सुरसार देखाइरहेका छन्।
सबै विलखबन्दमा
यादवहरूको विद्रोहले दिल्लीमा केजरीवाल नेतृत्वको सरकार ढलिहाल्दैन। केजरीवालले निर्वाध आफ्ना जनमुखी कामहरू गर्न पाउनेछन्। केजरीवालले निर्वाचनमा बाचा गरे अनुसार बिजुली र पानी महसुल घटाइसकेका छन्। तर, योगेन्द्र यादव, प्रशान्त भूषण, आनन्द कुमार जस्ता राष्ट्रिय चेहराहरूलाई पार्टीको नेतृत्व पंक्तिबाट हटाएपछि उनको नैतिक कान्ति र चमक गुमेको छ।
दिल्लीका जनताले केजरीवाललाई नेता मानेको कुरामा सन्देह छैन, तर पार्टीको आन्तरिक कार्यप्रणालीलाई लोकतान्त्रिक शैलीबाट व्यवस्थित गर्न नसक्दा एकाधिकारवादी गन्ध सुँघ्नेहरू धेरै भएका छन्। इमानदार कार्यकर्ता र जनतालाई संस्थाको पारदर्शिता उसै पनि महत्वपूर्ण हुन्छ। तर, केजरीवालले पार्टीको आन्तरिक लफडा पार्टीको ‘लोकपाल’ मार्फत टुंग्याउनुपर्नेमा ‘लोकपाल’ नै हटाइदिए। उनले पार्टीभित्र ‘लोकपाल’ राख्न नसकिने बताएर आम आद्मी पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूलाई विलखबन्दमा पारेका छन्।
कुनै पनि पार्टी आफ्नै सम्भाव्यता र विरोधाभास बीचबाट अगाडि बढिरहेको हुन्छ। अझ्, आन्दोलनले राजनीतिक पार्टीको रूप ग्रहण गर्दा आफ्नो सक्कली स्वरुप गुमाउनु स्वाभाविक हो। सामूहिक नेतृत्वको भावना एकल नेतृत्वको व्यक्तिगत मनोकांक्षासामु लाचार बन्न पुग्छ। आपमा पनि केजरीवालले आफूलाई बराबर मध्येको पहिलो नठानेर सर्वशक्तिमान ठान्दा संकट पैदा भएको हो। यादव समूह केजरीवाल निर्णयबाट फिर्ता भएको प्रतीक्षा गरिरहेका छन्– सहनशीलतापूर्वक।
आपभित्रको संकटबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस प्रशन्न हुनु स्वाभाविक हो। वैकल्पिक राजनीतिको प्रयोगबाट आशावादी भएको ठूलो समूहलाई भने केजरीवालले निराश पारिदिएका छन्।
अरू र आप
भारतको इतिहासमा गान्धीले सुवासचन्द्र बोसलाई कांग्रेसको निर्वाचित अध्यक्षबाट राजीनामा गर्न लगाएको नजिर छ। नेहरूले पनि १९५१ मा पार्टीका निर्वाचित अध्यक्ष पुरुषोत्तम दास टण्डनलाई पटेल समर्थक भन्दै राजीनामा गर्न बाध्य पारेका थिए।
रूसमा लेनिन बिरामी परेपछिको सत्ता संघर्षमा स्टालिनले लेनिनका समकक्षी ट्रटस्कीलाई बलजफ्ती हटाएका थिए। नेपालमै पनि गिरिजाप्रसाद कोइरालाले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई दरकिनार पारिदिएका थिए।
यसरी हेर्दा कुनै पनि राजनीतिक पार्टीको जीवनमा आपमा जस्तो झट्का आउनु सामान्य भए पनि यस्ता घटनाले पार्टीलाई असामान्य क्षति पुर्याएर जान्छ। आफ्नो सम्भाव्यता बिर्सेर विरोधाभासमा फस्दा ओजस्वी छवि कायम राख्न मुश्किल अवस्थामा पुगेको छ– आप।