ब्लगशुक्रबार, चैत्र २७, २०७१
लेखकीय दुनियाँको चित्र
पुस्तक पढ्ने बानी र जमात बढ्नु भनेको अन्ततः लेखक र लेखकीय दायरा वृद्धि नै हो। पाठक बढ्दा विभिन्न विधामा लेखक वृद्धिसँगै व्यावसायिकता तथा लेखकीय स्तरमाथि छलफल पनि हुन्छ। यसैक्रममा नवोदित लेखक अशोक सिलवालले लेखक को हुन्?
लेखनका तरिका–सूत्र के हुन्? पैसा कमाउन, पुरस्कार पाउन वा समाजका लागि लेखिन्छ? भनेर खोतल्न लेखक दुनियाँ सार्वजनिक गरेका छन्। यसमा प्रसिद्ध लेखक ध्रुवचन्द्र गौतमसँगको ‘अन्तरङ्ग’ लाई माध्यम बनाइएको छ।
अन्तर्वार्ताको स्वरुपमा लेखिएको पुस्तकमा गौतमलाई केन्द्रमा राखेर ‘एउटा लेखक र उसको संसार देखाउने’ प्रयास भएको छ।
पाँच दशकमा २५ वटा उपन्यास लेखेका गौतमसँगको अन्तरङ्ग समेटिएको पुस्तकले हिजो र आजको लेखनको मूलभूत भिन्नतासँगै लेखकीय दुनियाँका अँध्यारा/उज्याला पाटाहरू उजागर गर्न खोजेको छ।
अभिव्यक्ति स्वतन्त्रता विनाको पञ्चायती प्रजातन्त्रको प्रतिकूलता चित्रित अन्तरङ्गमा सस्तो प्रचारका लागि पुस्तक निकाल्ने ‘लोकतन्त्रकालीन प्रवृत्ति’ लाई इङ्गित गर्दै गौतम भन्छन्, “म कनेर पनि लेख्दिनँ, गनेर पनि लेख्दिनँ, अब अर्को एउटा पनि थपिएको छ– भनेर पनि लेख्दिनँ।”
पंचायतकालमा लेखकहरू पहेंलो (निर्दलीय) र बहुदलीय (नीलो) कित्तामा बाँडिएका थिए। गौतमले त्यसबेला मनभित्र आउने कतिपय स्वतन्त्रताका उभारहरूलाई पत्रपत्रिकामा व्यक्त गरेर तारो बन्नुभन्दा पुस्तकमा दस्तावेजीकरण गरेको उल्लेख गरेका छन्। सिलवालले त्यसबेला व्यावसायिक बन्न नसकेको नेपाली लेखनको मिहिन चित्रण गराएका छन्– गौतमबाट।
त्यो बेला पुस्तक छाप्ने काम नै दुरुह थियो। कदाचित छापिए पनि पुस्तक बिक्री नहुने भन्दा पनि कति बेला पक्राउ परिएला भन्ने त्रासमा पर्थे लेखकहरू। गौतमले मागेका ठाउँमा पुस्तक पुर्याएर प्राप्त भएको केही रकमबाट खानाको जोहो गरेको आफ्नै अनुभव स्मरण गरेका छन्।
गौतमले भोगेको त्यो अवस्था पार भएर अहिले ‘लेखेर बाँच्ने’ परिवेश आएको छ। प्रकाशन गृहहरूले लेखकहरूलाई अग्रिम भुक्तानी दिन थालेका छन्। पुस्तकले यो परिवेश र लेखनका नयाँ आयामहरूलाई बेवास्ता गरेको छ। एउटा लेखककै नजरियाबाट सिङ्गो लेखन दुनियाँ देखाउने जुक्ति भने सराहनीय छ।