ब्लगशनिबार, चैत्र २८, २०७१

मजलिसको आँखा–१२: राणा प्राइममिनिष्टरका सालिक

कमल दीक्षित

Jungabahadur

जंगबहादुरको सालिक अहिले र पहिले (तल)

बाहिरियाको हातको सीप भएर पनि ती हाम्रा आफ्ना सम्पदा हुन सक्दा रहेछन् र विदेशीहरूद्वारा प्रशंसित पनि हुँदा रहेछन्। म स्वयं त्यसको साक्षी भएको छु एक पटक।

सन् १९७५ तिर, म काठमाण्डू रोटरी क्लबको सेक्रेटरी भएका बेला युरोप हो कि अमेरिकाबाट आएका रोटरीका एक जना उच्च पदाधिकारीलाई काठमाण्डू घुमाउने जिम्मा मलाई दिइएको थियो।

ती व्यक्ति कलापारखी पनि रहेछन्। तर उनलाई अरूतिरको भन्दा हाम्रो टुँडिखेल अगाडि सडकका बीचबीचमा खडा रहेका राणाका सालिकहरूमा बढी चाख लागेछ। अरूभन्दा पनि जङ्गबहादुर र रणोद्दीप सिंहको घोडचढी मुद्राका दुइटा सालिकमा।

jung1गाडीबाट ओर्लेर उनले घुमीघुमी निरीक्षण गरे ती दुई सालिकको। अनि मलाई भनेका थिए “अरूतिर मैले देखेका उत्कृष्ट ‘एक्विष्ट्रियन स्ट्याचू’ (घोडचढीको सालिक) सँग तुलनीय छन् यी। कल्ले बनायो यिनलाई?”

मलाई थाहा भएको जति कुरा मैले बताएको थिएँ। मैले सुने अनुसार ती राणाका सालिकहरू, तिनमा पनि चन्द्रशमशेरको राज्यकालमा स्थापित सबै सालिकहरू बेलाइतमा बनेर आएका हुन्।

विदेशीहरूले पनि त्यसरी प्रशंसा गर्ने त्यस्ता सम्पदाहरू हामीले भने कसैका आँखा नपर्ने टुँडिखेलका कुनाकुनामा उभ्याइदिएका छौं।

ऐले हामीले माया नगरेर लत्याएका ती सम्पदा कुनै बेला कत्रो सम्मानका साथ प्रतिष्ठापित भएका थिए हामीले विचारै गरेनौं। ती सालिकहरू कति इज्जतका साथ चौबाटाको बीचबीचमा स्थापित थिए।

यी सालिकहरू बेलाइतमा निर्माण भएका हुन् भनिसकियो। त्यहाँबाट ती जहाज चढेर कलकत्तासम्म र त्यताबाट रेल र लरी अनि मान्छेका काँध चढी नेपाल भित्रिएका हुन्, एक सय वर्षअघि।

रणोद्दिपको सालिक उहिले र अहिले (तल)

रणोद्दिपको सालिक उहिले र अहिले (तल)

बेलाइतमा यस्ता सालिक बनाउने कलाकार को थियो हामीलाई थाहा छैन। कहाँ, कुन फ्याक्ट्रीमा यिनीहरूको ढलान भयो त्यो पनि ऐले कसैले भन्न सक्दैन।

एउटा संभावना के छ भने भारतको बम्बईको ‘जू’ मा स्थापित बेलाइती बादशाह जर्ज पञ्चमको सालिक जसले बनायो उसैले यी सालिकहरू पनि बनायो होला भन्ने अनुमान गर्न सजिलो छ, किनभने ती समकालीन थिए।

यी सबै कुराको अभिलेख मुन्सीखाना, ऊ बेलाको परराष्ट्र मन्त्रालयमा हुनुपर्छ। ती पुराना कागजपत्र त्यहाँ अझै होलान्। तिनलाई उधिनेर सत्यतथ्य पत्ता लगाउने सत्यार्थी साधक कोही होला, अथवा कोही उब्जेला भन्ने आशा गरूँ।

ऐले हामीलाई थाहा भएको त यत्ति हो– चन्द्रशमशेरले इज्जतसाथ, चौबाटाका बीचबीचमा ‘राउन्डअबाउट’ बनाई स्थापना गराएका यी सुन्दर मूर्तिहरू बेलाइतकी महारानी एलिजाबेथ आउँदा स्वागत जनाउन सडकहरू चौडा पार्ने भनेर उखेलेर अन्यत्र पुरुर्‍याइएका थिए।

ranoiddipबेलाइती महारानीको त्यो नेपाल भ्रमण राजा महेन्द्रका लागि खुदो भएको थियो। एक त उनको पञ्चायती ‘टेकओभर’ को समर्थन जस्तो थियो त्यो।

त्यसमाथि त्यस भ्रमणले उनलाई राणाहरूका सन्मानमा ठड्याइएका ती सालिकहरूलाई कुनातिर पन्छाउने राम्रो बहाना पनि दिएको थियो। जगजाहेर कुरो हो, राजा महेन्द्र, आफ्ना पुर्खालाई खोपामा थुन्ने राणा महाराजहरूलाई मन पराउँदैनथे।

इतिहासलाई छाडेर अलिकति सम्पदाका कुरा गरूँ। माथि भनिसकेकै हो, जल्ले बनाए पनि ती सालिकहरू हाम्रा सम्पदाकै वस्तु हुन्। ती सालिकमा राजाहरूका श्रीपेचदेखि तल बूटको ऐंडीसम्म र घोडाका यालदेखि पुच्छरसम्म जुन सूक्ष्मता र सुन्दरतासाथ ती मूर्तिहरू निर्माण भएका छन् तिनको तारीफ नगरी बस्न सकिन्न। ती सालिकहरू त्यसै फालिनु हुन्न। तिनको संरक्षण हुनुपर्छ।

ऐले पनि हेरे देखिनेछन् कुनै सालिकका हातका तरबार गायब छन्, कुनैका के भाँचिएका छन्। कल्ले हेर्ने तिनलाई? कसको क्षेत्र हो यो? संस्कृति विभागको कि सेनाको?

ती रोटेरियन कलापारखीले त्यस दिन सह्राएका जङ्गबहादुर र रणोद्दीपका ती सालिकका घोडाको र घोडचढीका ‘पोज’ या मुद्रा नै हेरूँ न। कस्तो गति छ तिनमा, कस्तो ‘याक्सन’! साधारण आँखाले हेर्दा पनि ‘वाह्’ नभनी सकिन्न। रणोद्दीप सिंहको सालिकले त नेपालको इतिहासको एउटा गौरवमय पाटो नै बखान्छ।

नेपालले भोट (तिब्बत) को भूमिमा हासिल गरेको ऐतिहासिक विजयको, शायद कुतीको किल्ला सर गर्दाको क्षण हो त्यो। त्यस सालिकमा घोडाको टापनेर दुई टुक्रा भएको यौटा तोप देखिन्छ।

त्यो तोप रणोद्दीपकै तरबारले टुक्र्याएको हो। तर धातुको तोप होइन त्यो, केवल भोटमा मात्र बन्ने ‘छालाको तोप’ हो त्यो टुक्रिएको। केही वर्षअघिसम्म नेपाल म्युजियममा त्यस्तै छालाका दुइटा सग्ला तोप देख्न पाइन्थे।

ती दुई तोप पनि त्यसै लडाईंबाट नेपाली सेनाले ल्याएको थियो रे! ती दुई तोप ऐले पनि सुरक्षित हुनुपर्छ हाम्रो राष्ट्रिय म्युजियम छाउनीमा।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...