थप समाचारशनिबार, चैत्र २८, २०७१

घरेलुबाट विश्वव्यापी बन्दै नेपाली महिला

हिमालखबर

– मीना शर्मा

 हालै भृकुटीमण्डपमा सम्पन्न २६औं औद्योगिक वस्तु तथा प्रविधि मेलामा कल्पना लिम्बूले तयार गरेका ढाकाको पहिरनमा सजिएका महिला। तस्वीरहरुः देवकी बिष्ट


हालै भृकुटीमण्डपमा सम्पन्न २६औं औद्योगिक वस्तु तथा प्रविधि मेलामा कल्पना लिम्बूले तयार गरेका ढाकाको पहिरनमा सजिएका महिला। तस्वीरहरुः देवकी बिष्ट

सानो लगानीबाट घरेलु उद्यम थालेका नेपाली महिला अन्तर्राष्ट्रिय बजारमा परिचित बन्दैछन्।

आफ्नो क्षमता र लगानीले भेट्ने साना उद्यम थालेका महिला देशको आर्थिक गतिविधिमा टेवा दिने तहमा पुगेका छन्। उनीहरू नाम–दाम आर्जनसँगै परम्परा–संस्कृतिको सम्वर्द्धनमा पनि सफल देखिन्छन्। ढाका, अल्लो, राडीपाखी र काष्ठकलाका काम गर्ने यी महिला बाहिरी बजारमा ‘ब्रान्ड’ को रूपमा स्थापित हुने प्रयत्नमा छन्।

kalpanaकल्पना लिम्बू
२०६४ मा रु.१५ हजारको लगानीमा ढाका व्यवसाय थालेकी ५२ वर्षीया कल्पना अहिले डेढ करोडकी मालिक छिन्। काठमाडौंको गोकर्णस्थित उनको ‘दी हाइल्याण्ड तानघर’ मा ५५ जनाले काम पाएका छन्।

उनले ढाकाका साडी, मेख्ली, ब्लाउज, सल, लेहेङ्गा, कोट, आउटर, कुर्ता सलवार, रूमाल लगायत आइटम अन्तर्राष्ट्रिय बजारमा पुर्यााइरहेकी छन्।

“अहिले अमेरिका, अष्ट्रेलिया, सिंगापुर, बु्रनाइ, बेलायत, क्यानडा र मलेशिया लगायतका देशबाट अर्डर पाइरहेकी छु”, कल्पना भन्छिन्, “गत मंसीरमा लण्डनमा भएको ‘मिस वर्ल्ड’ प्रतियोगितामा मिस नेपाल सुविन लिम्बूले मेख्ली लगाउँदा मेरो उद्योगलाई व्यावसायिक लाभ भयो।”

नेपालभित्र कुन ठाउँ र बाहिर कुन देशमा ढाकाको कस्तो रङ–डिजाइन मन पराउँछन् भन्ने कुरामा ध्यान दिने कल्पना बुट्टा र रङलाई उत्तिकै महत्व दिन्छिन्। उनका अनुसार, पहिले तारा, ईंटा, मन्दिर आदिको बुट्टाको चलन थियो, अहिले ‘किस’ बुट्टा र राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चाका विषय समेटिएका बुट्टाको समय छ।

अहिले विवाहमा लगाउने ढाका साडी डिजाइन गरिरहेकी उनी अब ढाका नेपाली बेहुलीहरूको रोजाइ हुने बताउँछिन्।

पूर्वी पहाडमा ढाका संस्कृतिको अनुसन्धान गरेकी उनी गत फागुनमा काठमाडौंमा भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा महिला उद्यमी समूहतर्फ उत्कृष्ट भइन्।

amitaअमिता शिल्पकार
फर्निचर उद्योगहरूमा खेर गएका काठका टुक्राटाक्री देखेर उद्यमको सोच पलायो, ललितपुर ताल्छिखेलकी ४० वर्षीया अमिता।

अहिले उनी काठका माना–पाथी, ठेकी, कचौरा, धुपौरो, खेलौना लगायतका सामान बेचेर वार्षिक सरदर रु.४ लाख आर्जन गर्छिन्। यो आम्दानीसँगै माना–पाथी संस्कृति सम्झाउन पनि धेरथोर मद्दत पुगेको उनी बताउँछिन्।

२०६७ सालमा उत्कृष्ट महिला उद्यमी पुरस्कार जितेकी अमिताले त्यसपछि पाएको दिल्लीको औद्योगिक क्षेत्र भ्रमणको अवसरले आफूलाई ठूलो मद्दत गरेको बताइन्। त्यसपछि उनले आफ्ना उत्पादनमा मौलिकता नमारी आधुनिकता झ्ल्काउन थालिन्, यसले राम्रो काम गर्‍यो ।

“६ जनालाई रोजगारी दिएकी छु, परिवारसँगै स्वाभिमानका साथ बाँचेकी छु”, अमिता भन्छिन्, “योभन्दा बढी के चाहियो!”

sitaसीता कुशवाह
२०५६ सालमा काठमाडौंमा एभरेष्ट पस्मिना एण्ड मल्ट्री डाइङ इन्ड्रष्ट्रिज खोलेकी ४२ वर्षीया सीताको सल, मफलर लगायतका उत्पादनले अष्ट्रेलिया, जर्मनी, पाकिस्तान र दुबईको बजार लिएको छ।

अहिलेलाई उनका लागि हातमा सीप भएको जनशक्ति सबभन्दा प्रमुख समस्या भएको छ। मान्छेहरू नेपालमा जागीर पाइँदैन भन्छन्, तर सीप सिकाएर काम दिन्छु भन्दा पनि कोही नआउने सीता बताउँछिन्।

“सीप सिक्नेहरू पनि खै किन हो विदेश कुद्नै हतारिन्छन्”, उनी भन्छिन्, “स्वदेशको कमाइलाई सानो देख्ने प्रवृत्ति ठूलो समस्या भएको छ।”

rekhaरेखा सुनुवार
६ वर्षअघि एक थान तानबाट ढाकाको काम थालेकी सिन्धुपाल्चोककी ३३ वर्षीया रेखा २०६८ सालमा उद्योग नै दर्ता गरिन्।

अहिले नौ जना सहयोगी राखेर काम गरिरहेकी उनले ढाका बेचेरै काठमाडौंको जोरपाटीमा घडेरी जोडेकी छन्। त्यो जग्गा धितो राखेर व्यवसाय बढाउने र तालीम केन्द्र समेत सञ्चालन गर्ने उनको योजना छ।

ढाकाको सल, टोपी, साडी, मफलर, पर्स, रूमाल, ब्याग, कुर्ता सलवार र टाई विदेश पठाउन थालेकी उनी माग पनि बढ्दै गएकोमा उत्साही छिन्।

“यसमा घरमै बसी–बसी राम्रो आम्दानी गर्न सकिन्छ”, रेखा भन्छिन्, “अब हिंसा पीडित र बेरोजगार दिदीबहिनीलाई सीप सिकाएर नेपाली ढाकाको बजार पनि बढाउने विचारमा छु।”

kunjangकुन्जाङ लामा
गएको ६–१० फागुनको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा पहिलो पटक कर्णालीबाट काठमाडौं आएकी ३७ वर्षीया कुन्जाङ जुम्लामा ‘लिउ राडीपाखी झोला उद्योग’ चलाउँछिन्।

२०५२ सालमा काम खोज्दै मुगुबाट जुम्ला आएकी उनी अहिले नै पाँच जनालाई रोजगार दिने भएकी छन्।

कर्णाली बाहिरका मानिसलाई कस्तो–कस्तो सामान मन पर्छ, आफ्नो उत्पादनलाई कसरी समय अनुसार परिवर्तन गर्ने लगायतका कुरा काठमाडौं यात्राले सिकाएको उनले बताइन्।

“औद्योगिक प्रदर्शनीमा धेरै कुरा हेरियो, बुझियो, अब त्यही अनुसार गर्ने हो”, कुन्जाङ भन्छिन्, “आफूले काम दिंदा पाँच जनाले गाउँ छाड्नु परेको छैन, अब रोजगारी पनि बढाउने हो!”

chitrakalaचित्रकली बुढामगर
प्यूठानकी चित्रकली सानैबाट अल्लोको भाङ्ग्रो बुन्थिन्। लघु उद्यम संघले नेपाल भ्रमण गर्ने उद्यमीको टोलीमा राखेकोले पहिलो पटक २०६१ सालमा काठमाडौं आएकी उनले ठमेलको पसलमा बेच्न राखेको अल्लोको मूल्य सोध्दा ‘जति भए पनि तपाईंले किन्न सक्नुहुन्न’ भन्ने नमिठो जवाफ पाइन्।

“पसलेको त्यही बोलीले मलाई व्यवसायी बनायो”, ४६ वर्षीया चित्रकली भन्छिन्।

अल्लोको धागो बेच्दै आएकी उनले इखैले २०६३ मा ‘कोठी हिमाल अल्लो कपडा उद्योग’ खोलेर कोट, झ्ोला, पर्स, टोपी, चप्पल, जुहारी कोट, इस्टकोट तयार गर्न थालिन्। डेढ लाख रुपैयाँबाट शुरू भएको उनको उद्योग अहिले २५ लाखको भएको छ। १९ जनालाई रोजगारी दिएकी छन्।

उनलाई प्यूठान, रोल्पा र बाग्लुङका विभिन्न गाउँका करीब एक हजार महिलाले धागो बेच्छन्। ‘राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी २०६६’ मा महिला उद्यमी समूहमा प्रथम भएर थाइल्याण्ड भ्रमण गरेकी चित्रकली भन्छिन्, “काम गर्नेहरूलाई सरकारले विना धितो ऋणको व्यवस्था गरे व्यवसाय बढाउन सकिन्थ्यो।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>