थप समाचारशनिबार, चैत्र २८, २०७१
ब्ल्याक कार्बनको करामत
– कुन्द दीक्षित र सोनिया अवाले
वातावरणमा कार्बनडाइअक्साइड भन्दा ब्ल्याककार्बन नियन्त्रण गर्न सजिलो हुन्छ– ग्लोबलवार्मिङ र स्वास्थ्य जोखिम घटाउनका लागि।
विश्वभर प्रायशः कार्बनडाइअक्साइड उत्सर्जन कम गरेर यो शताब्दीको अन्त्यसम्ममा ग्लोबलवार्मिङ वृद्धि दरलाई दुई डिग्री भन्दा तल राख्ने लक्ष्यका साथ प्रयास भइरहेको छ। तर, लक्ष्य पूरा हुने सम्भावना देखिंदैन। कार्बनडाइअक्साइड भन्दा सवारी साधन, ईंटाभट्टा लगायतका चिम्नी, खेतबारीमा लगाइने आगो, डढेलो आदिबाट निस्कने धुवाँमा रहने ब्ल्याककार्बन उत्सर्जन नियन्त्रण गर्न सजिलो हुन्छ। ब्ल्याककार्बन पनि ग्लोबलवार्मिङको प्रमुख कारक नै हो।
यही तथ्यलाई ध्यानमा राखेर एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र क्लाइमेट एण्ड क्लिन एअर कोयलिसन (सीसीएसी) ले तीन साताअघि काठमाडौंमा ब्ल्याककार्बन उत्सर्जन नियन्त्रण सम्बन्धी बृहत् छलफल आयोजना गर्यो, जसका सिफारिशहरू आगामी डिसेम्बरमा पेरिस सम्मेलनमा सहभागी हुने विश्वका नेताहरू समक्ष राखिनेछ।
“दुई डिग्रीको लक्ष्य भेट्टाउन कार्बनडाइअक्साइड भन्दा ब्ल्याककार्बन नियन्त्रण छिटो र सजिलो हुन्छ” नर्वेका जलवायु परिवर्तन सम्बन्धी विशेष दूत रहेका सीसीएसीका उपाध्यक्ष हेन बजुस्ट्रम भन्छन्, “यसबाट प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असर कम गर्न पनि सकिन्छ।”
वैज्ञानिकहरूका अनुसार, डिजल, कोइला, दाउरा बाल्दा र डढेलो लाग्दा २.५ माइक्रोनभन्दा साना कणहरूको रूपमा ब्ल्याककार्बन उत्सर्जन हुन्छ। वायुमण्डल तताउन यस्ता कणहरूको मुख्य भूमिका हुन्छ। यस्ता कणले हिमाललाई कालो पार्दा हिउँ र वरफहरू छिटो पग्लिन्छन्। ब्ल्याककार्बन नियन्त्रण गरेर यो शताब्दीको अन्त्यसम्ममा ग्लोबलवार्मिङलाई ०.५ डिग्रीसम्म घटाउन सकिने वैज्ञानिकहरू बताउँछन्। यसलाई मिथेन, एरोसोल्स, रेफ्रिजेरेटर, एअर कन्डिसनिङ जस्ता उपकरणबाट निस्कने हाइड्रोफ्लूरो कार्बन जस्तै नष्ट हुने वायुप्रदूषकको रूपमा वर्गीकरण गरिएको छ। सधैं उत्सर्जन भइरहने यसले जैविक इन्धन जल्दा निस्कने कार्बनडाइअक्साइडसँग मिलेर ग्लोबलवार्मिङमा भूमिका खेलिरहेको हुन्छ।
ब्ल्याककार्बन नियन्त्रण गर्दा मानव स्वास्थ्यमा थुप्रै फाइदा पुग्छ। विश्वभर प्रतिवर्ष २५ लाख मानिसको वायुप्रदूषणका कारण मृत्यु भइरहेको मानिन्छ। नेपालमा फोक्सो संक्रमणको मुख्य कारणमध्ये दाउराको चूलोबाट निस्कने धुवाँ देखिएको छ। ग्रामीण क्षेत्रमा श्वासप्रश्वासमा समस्या भई कति गृहिणी, वृद्धवृद्धा र बालबालिकाको मृत्यु भइरहेको छ भन्ने यकिन आँकडा छैन।
काठमाडौं उपत्यकालाई सवारी साधन र ईंटाभट्टाबाट निस्कने धुवाँले विश्वकै प्रदूषित शहरहरूमध्येको एक बनाएको छ। हिउँदमा यस्तो प्रदूषण झ्नै बढी हुन्छ। ईंटाभट्टा पूर्ण रूपमा सञ्चालन हुने पुस–माघमा गरिएको एउटा अध्ययनमा काठमाडौं शहरको प्रदूषण बाहिरको भन्दा दुई गुणा बढी पाइएको थियो। “प्रदूषण धेरै भएका बेला विश्वका कतिपय शहरमा ‘प्रदूषण आपतकाल’ घोषणा गरिन्छ, तर काठमाडौं उपत्यकामा हामी सधैं अघोषित आपतस्थितिमा हुन्छौं”, इसिमोडका वरिष्ठ वातावरणविज्ञ अरनिको पाण्डे भन्छन्।
नेपाल सरकारले सन् २०१७ सम्ममा सबै घरलाई धुवाँरहित बनाउने लक्ष्य लिएको छ। वन डढेलो र कृषि उत्पादनका अवशेष जलाउने चलन नियन्त्रण गर्न भने गाह्रो छ। डढेलो र कृषि उत्पादन जलाउने चलन रोक्न सकियो भने पनि हरियाणा र पञ्जाबबाट उत्सर्जन हुने कार्बनलाई हावाले उडाउँदै नेपाल ल्याइपुर्याउँछ, जसलाई नियन्त्रण गर्न भारतकै प्रयास हुनुपर्छ।
किसानहरूले बाली काटिसकेपछि बाँकी रहेका ढोड–छ्वाली डढाउने चलन छ। खेतबारीमा पलाएका बुट्यानहरूलाई पनि उखेलेर जलाइन्छ। यसो गर्दा खरानीले माटो शुद्धीकरण र मलको काम गर्छ भन्ने विश्वास गरिन्छ। रूसमा पनि यस्तै गरिन्छ। यसरी खेतबारीमा आगो लगाउँदा धुवाँसँगै निस्कने ब्ल्याककार्बनले आर्कटिक क्षेत्रमा बरफ पग्लने क्रमलाई तीव्र बनाएको छ।
बाल्कन क्षेत्रमा भने अहिले यो चलन रोकिएको छ। प्रोत्साहन र कानूनी प्रक्रियाबाट खेतबारीमा डढेलो लगाउने प्रथा रोक्न सकिने बताउने ‘इन्टरन्याशनल क्रिओस्फेयर इनिसियटिभ्स्’ सँग आवद्ध विशेषज्ञ स्वन्त वोडिन भन्छन्, “दक्षिण एशियामा भने यो प्रचलन रोक्न कृषकहरूबाटै प्रक्रिया थाल्नुपर्छ।”
हरित ईंटा
हिउँदमा काठमाडौं उपत्यकाको वायु प्रदूषणमा ईंटाभट्टाबाट निस्कने कार्बनको हिस्सा ४० प्रतिशत रहन्छ। यसले मानव स्वास्थ्यमा त प्रतिकूल असर पार्छ नै, हिमालमा छिटो हिउँ पग्लिनुको एउटा कारण पनि यही हो। तर, स्वच्छ र मितव्ययी प्रविधि उपलब्ध हुँदाहुँदै पनि पुरानै प्रविधिमा भर परेका राजधानी शहर वरपरका ईंटाभट्टाहरूले बाक्लो धुवाँ फालिरहेका छन्।
ईंटाभट्टा, सवारी साधन र खेतबारीमा लगाइने आगोको धुवाँमा रहने कार्बनका कणहरूले जलवायु परिवर्तनलाई तीव्र पारिरहेका छन्। “यसले हिमनदीको पग्लाइ र मनसुनी वर्षामा नकारात्मक प्रभाव पर्नेदेखि मानिसको स्वास्थ्यमा चर्को मूल्य असुल्नेसम्मको असर गरिरहेको छ”, वातावरणविज्ञ पाण्डे भन्छन्।
नेपालका कुल ११०० ठूला ईंटाभट्टामध्ये एकतिहाइ काठमाडौं उपत्यकामा छन्। यीमध्ये अधिकांश पुरानै ‘बुल ट्रेन्च’ प्रविधिमा आधारित छन्। कम इन्धन लाग्ने र थोरै प्रदूषण गर्ने ‘भर्टिकल सफ्ट ब्रिक क्लिन (भीएसबीके)’ प्रविधिका ईंटाभट्टा नेपालभर जम्मा ८ वटा छन्। तीमध्ये दुईवटा मात्र उपत्यकामा छन्।
तिनैमध्येको एक ललितपुरको इमाडोलस्थित सत्यनारायण ईंटा कारखानाका सुपरभाइजर राजकुमार लामाका अनुसार भीएसबीके प्रविधिमा कम कोइला लाग्छ, खरानी र धुवाँ पनि कम हुन्छ। ईंटा पनि २४ घण्टामै तयार हुन्छ। लामाले पाकिस्तान र अफगानिस्तानमा समेत भीएसबीके प्रविधि अपनाउन सहयोग गरिरहेका छन्।
बढी पानी खपत हुने भीएसबीके कारखाना स्थापना गर्दा बढी लागत लाग्छ। मजदूर पनि वर्षभरि नै चाहिन्छ। यो प्रविधिका ईंटा ‘साउण्ड प्रुफ’ र हलुका ‘र्याट ट्रयाप’ विधिका भित्ता निर्माणमा प्रयोग हुन्छ। यो प्रविधिको भट्टा चलाउँदा विद्युत् पनि चाहिने हुनाले ईंटाको मूल्य बढ्छ।
काठमाडौंमा ईंटाको माग प्रति वर्ष १५ प्रतिशतले बढिरहेको छ। यसको अर्थ वायु प्रदूषण खतराको तहमा रहेको भन्ने पनि हुन्छ। ईंटाभट्टा खोल्ने क्षेत्र र प्रदूषणको मात्रा सम्बन्धी नियमहरू छन्, तर राम्रोसँग कार्यान्वयन हुनसकेको छैन। यो अवस्थामा सरकारले परम्परागत ईंटाभट्टाहरूलाई वातावरण सुहाउँदो हुन प्रोत्साहन र सहयोग गर्नुपर्ने ईंटा प्रविधि विशेषज्ञ सुयश प्रजापति बताउँछन्।
विडम्बना, राजकुमार लामा र सुयश प्रजापति जस्ता विशेषज्ञहरूको माग नेपालमा भन्दा विदेशमा बढी छ। लामा विदेशमा राम्रो अवसर भए पनि नेपालमै खट्ने बताउँछन्। तर, उनैले तालीम दिएका थुप्रै युवक कतार र मलेशिया गएका छन्। “हामीकहाँ प्रदूषणरहित ईंटा कारखाना थोरै हुँदा जनशक्ति पलायन भएको हो”, लामा भन्छन्।
एक महीनाअघि गोदावरीमा भएको ‘ईंटाभट्टा नीति र पैरवी’ सम्मेलनले सरकारलाई ‘हरित प्रमाणपत्र’ लिएका भट्टाहरूबाट मात्र ईंटा किन्न सिफारिश गरेको छ।
बालमजदूरविहीन ईंटाभट्टा
नेपालका ईंटाभट्टा संचालकहरूमाथि सुधारको दबाब परेको दशकौं भइसक्यो। मिडियाको निगरानी, अधिकारकर्मीहरूको पैरवी र बालश्रम प्रयोग भएको ईंटा नकिन्ने सचेत ग्राहकहरूको चेतावनीका कारण केही उद्योगले १८ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने, मजदूरका छोराछोरीका लागि ‘डे केयर सेन्टर’ खोल्ने आदि काम शुरू गरेका छन्। जस्तो, इमाडोलको सत्यनारायण ईंटा उद्योगमा काम गर्ने सिन्धुपाल्चोकका देवकी अधिकारी दम्पतीका छोरा र छोरी स्कूल जान्छन्। उनीहरूकी ठूलीछोरीले यो पटक एसएलसी परीक्षा दिएकी छन्।
ललितपुरको छम्पीस्थित छम्पीमाई ईंटाभट्टाले आफ्नो परिसरमै ‘डे केयर सेन्टर’ खोलेको छ। स्कूल जाने उमेरका बालबालिकालाई नजिकैको सरकारी विद्यालयमा भर्ना गराइएको छ।
उचित श्रम अभ्यास र वातावरणीय स्तर कायम गरेबापत ‘बेटर ब्रिक नेपाल’ को ‘ब्रिक क्लिन नेटवर्क सर्टिफिकेसन’ पाएको पाँचवटा ईंटाभट्टामध्येको एक छम्पीमाईले ‘जिगज्याग’ प्रविधि अपनाएको छ। यो प्रविधिबाट पनि परम्परागत तरीकामा भन्दा कम प्रदूषण हुने संचालक मंगल महर्जन बताउँछन्।
‘बेटर ब्रिक नेटवर्क’ का होमराज आचार्य ईंटाभट्टाका मालिकहरूले पनि बालबालिकालाई काममा लगाउन र पुरानो प्रविधि अपनाउन नचाहने बताउँछन्। अधिकारकर्मी उषा मानन्धर धेरैजसो बालमजदूरीमा मजदूर आपूर्ति गर्ने ठेकेदार जिम्मेवार देखिएको बताउँछिन्। भट्टा संचालकहरूले बालमजदूरीरहित कारखानाले नै मुनाफा दिने कुरा बुझेको अधिकारकर्मीहरू बताउँछन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
