रमझमसोमबार, चैत्र ३०, २०७१
माओवादी द्वन्द्वको फरक पाटो
२०६६ मा हिमालमा छापिएको आन्विका गिरीको कथाको शीर्षक थियो– कम्युनिष्ट । पछि उनले आफ्नो कथा संग्रहको शीर्षक पनि कम्युनिष्ट नै राखिन् । उनको पछिल्लो औपन्यासिक कृति मान्छेको रङले पनि कम्युनिष्ट विचारधारामा बगेकी युवती मायाको कथा भनेको छ । २०४६ सालमा पंचायती शासन व्यवस्था ढल्नु भन्दा केही पहिले जन्मेकी मूलपात्र मायाको जीवनदृष्टि, भोगाइ र हण्डरका विविध पहलु छन्, उपन्यासमा ।
पंचायती शासनसँग जोडिएका हजुरबुवाको यथास्थितिवादी अडान, भूमिगत राजनीतिमा सामेल शिक्षक बुवाको क्रान्तिकारी गतिविधि, तिनै बाबुको गद्दार चाला, घरायसी जिम्मेवारीको पहाडले थिचिएकी आमाको समस्या, गाउँका जमीनदारको रवाफ आदि हेर्दै–भोग्दै जीवनदृष्टि बनाइरहेकी माया सरकारी सुरक्षाकर्मी र विद्रोही माओवादीको हत्याहिंसासँग अभ्यस्त हुँदै जान्छिन् ।
त्यसबीचमा माओवादी विद्रोहमा लागेका शिखर र सहपाठी सविनले प्रेम प्रस्ताव पनि राख्छन्, उनलाई । मायामा क्रमशः आकार लिइरहेको वैचारिक रुझानले हुन सक्छ, प्रेमीको रुपमा शिखर प्राथमिकतामा पर्छन् । त्यसरी आठ कक्षा पास नगर्दै भूमिगत हुन पुगेकी उनलाई समाज बदल्न हिंडेका अपरिपक्वहरूले कति आलाकाँचा सोचबाट मान्छेको ज्यान लिइरहेका छन् भन्ने बुझ्न धेरै समय लगाउँछिन् । गर्दै नगरेको अपराधमा माया आफैं झण्डै ज्यान गुमाउन पुग्छिन् ।
निरंकुश शाही शासन विरुद्ध सात दलको आन्दोलन चलिरहेका बखत काठमाडौंको पुतलीसडकमा माया र पवनको भेट हुन्छ । राजधानीमा पढ्न बसेका दाङका पवन मायासँग भेट हुँदा विदेश जाने अन्तिम तयारीमा हुन्छन् ।
पवनसँग चियापसलमा बसेर केही बेर गफिएकी केटी यति रहस्यमयी लाग्छ कि उनी तत्काललाई अष्ट्रेलिया जाने योजना रोकेर मायाको विगत बुझ्न उनको गाउँ बयरवन पुग्छन् । पवनको यो निर्णयलाई लेखिकाले विश्वसनीय बनाउन सकेकी छैनन् । २०६२/६३ सालको जनआन्दोलनको सफलतासँगै टुङ्गिने उपन्यासको पहिलो अध्याय निकै रोमाञ्चक छ ।
अन्याय विरुद्ध निरन्तर संघर्ष मायाको ध्येय हुन्छ । उनकी आफ्नै आमा छोरा नपाएको भनेर बुबाबाट हेलामा परेकी नारी पात्र हुन्छिन् । गाउँका जमीनदार शेरबहादुर थापा मारिंदा भने तिनै बुबाको मनको खुशी लुक्न नसकेको मायाले देख्छिन् । लडाइँका बेला गद्दारको बिल्ला भिराइकाहरूको जीवनको त्रासदी मायाले विस्तारै बुझ्दै जान्छिन् । अनि उनलाई लाग्छ, कुनै बेला गद्दार जस्तो देखिएका बुबा परिस्थितिको शिकार भएका थिए ।
उपन्यासको मध्य भाग पहिलो अध्यायको गतिमा बगेको छैन । पात्रलाई स्थापित गर्ने निकै लामा विवरणहरू छन् । मायाको बाल्यकालको वर्णनमा निकै पृष्ठ खर्च भएको छ । मायाले बाल्यकालमै प्रयोग गर्ने कम्युनिष्ट ‘जार्गन’ हरू उति स्वाभाविक लाग्दैन ।
उपन्यासमा माओवादी सशस्त्र आन्दोलनलाई २०–२५ वर्षे युवक–युवतीको आँखाबाट चित्रण गरिएको छ । उपन्यासमा धेरैजसो सैद्धान्तिक–वैचारिक रुझानभन्दा लहडले छापामार बनेका छन् । माओवादी द्वन्द्वको फरक पाटो उधिन्न सफल उपन्यासको मूल पात्र मायामा पाठकले उपन्यासकारको प्रतिबिम्ब देख्छन् ।