रमझमसोमबार, चैत्र ३०, २०७१
मनमाया
-उपेन्द्र सुब्बा
बाख्राको टाट्नोछेउ माउ कुखुरा कराउँदै निस्क्यो– ‘क क कुदे, ग…, क क कुदे, ग…!’ सुँगुरखोरको छानामा बसेको नाहेन भाले पनि उसरी नै कराउन थाल्यो । बाँसको फकफकेलाई डोरीले तान्दै मनमाया कराई– ‘हरेरे… हरे… हरे… !’ फकफके दुईपल्ट मधुरो गरी फक फक बज्यो । स्याल तर्स्यो तर्सेन, सुँगुरखोरको सुँगुर भने थुतुनो ठाडो पार्दै ‘च्वाँ च्वाइँ…’ गर्यो । टाट्नामा बाँधेका दुई माउ बाख्रा कराउन थाले । कोक्रोमा सुतेको भाइ तब रुन थाल्यो ।
मनमाया कुद्दै आई र कोक्रो हल्लाएर भाइलाई सुताउन खोजी । बाख्रा र कुखुराहरु कराएको हल्लाले भाइ सुत्न मानेन ।
मनमाया मात्र नौ वर्षकी छे । वर्ष दिनको भाइ हेर्नु र कुखुरा स्यालले लान्छ कि ? भनेर गोठालो गर्नु उसको काम हो । दुईदिनदेखि झरी पानी रोकिएको छैन । जेठको अन्तिम महिना छ । मनमायाको आमा खेतको नाममा भएको चार फोक्टा खेत हिल्याउन गएकी छिन् । मनमायाको बाउ लाखबहादुर सदरमुकाम गएका छन् ।
भाइ एकोहोरो रुन थाल्यो । मनमायाले कोक्रोबाट भाइ निकालेर काखमा राखी । भाइ एकछिन रोकियो तर सुँगुर र बाख्रा भने कराइरहे । नाहेन भाले सुँगुरखोरको छानामा पखेटा फ्याट्फ्याट पारेर बाँस्यो– ‘कुखुरी काँ.. !’
भाइ फेरि बाटारिँदै रुन थाल्यो । भाइलाई हसाउन पेटमा काउकुती लगाई । सधैं आमाले यसो गर्दा भाइ खूब हाँस्थ्यो । भाइ हाँस्नुको सट्टा झन् साह्रो रोयो । तब, भाइलार्ई कोक्रोमा लगाई र आमाले गाउने गरेको लोरी गाउन थाली—
‘मेरो कान्छा छोरा सुत्छ है सुत्छ,
उठेपछि कति धेर बुबु खान्छ है खान्छ… ’
भाइले रुन छोडेन । लोरी गाउँदागाउँदै मनमाया रुन थाली । सिमसिम पानीमा भिज्दै बिर्खेनी काकी घाँसको भारी बोकेर मनमायाको आँगनको बाटो भएर आइन् ।
‘तिम्रो भाइलाई भोग लागेछ । आमा खोई ?’ बिर्खेनी काकीले आँगनमा उभिएर सोधिन् ।
मनमायाले रुँदै भनी– ‘हुँ..हुँ..खेतमा, हुँ.. हुँ…!’
‘मेरो आउन छोड्यो, माइली तुम्मा घरमा होला । भाइ लैजा,’ बिर्खेनी काकीले आफ्नो छाती दुवै हातले छाम्दै भनिन् ।
मनमायाले भाइ कोक्रोबाट निकाल्न खोज्दा झण्डै भाइ लडाई ।
‘मेम्बे, लडाई मार्छस् होला है,’ बिर्खेनी काकी घाँसको भारी बिसाएर आइन् ।
बिर्खेनी काकीले मनमायाको ढाडमा भाइलाई मजेत्रोले नझर्ने गरी बाँधिदिइन् र थोत्रो प्लाष्टिक ओढाइदिँदै भनिन्– ‘बाटो चिप्लो छ है, बिस्तारै जा ।’
मंगले कुद्दै स्कूलबाट आइपुग्यो । उसले किताब सिकुवाको खोपीमा फ्यात्त राख्यो ।
‘एकछिन घरमा कुखुरा हेर्दै बस है तँ,’ मनमायाले मंगलेलाई भनी ।
‘हेर्छु खुबै,’ मंगले कुद्दै खेल्न गयो ।
मंगले र मनमाया सँगै स्कूल जान्थे । मनमाया दुई कक्षामा पढ्दै गर्दा कान्छा भाइ जन्मियो । भाइ जन्मेपछि उस्को पढाइ रोकियो । मंगले भने एक कक्षामा पढ्दै छ । मनमायालाई पढ्न खूब मन पर्छ । उसलाई बाउआमाले भाइ हुर्केपछि मात्रै स्कूल पठाउने भनेका छन् तर भाइ पो कहिले हुर्किने हो ?
मनमाया माइली तुम्माको घरमा पुग्दा तुम्मा सुँगुरको चारो पकाउँदै थिइन् । झण्डै सँगैजस्तो मनमायाको आमा र तुम्मा सुत्केरी भएका हुन् । तुम्माको भने छोरी जन्मेको छ ।
‘यस्तो झरीमा काँ हिँडिस् मनमाया ?’ तुम्माले चारो छोप्दै सोधिन् ।
‘तुम्मा, मेरो भाइलाई पनि अलिकति दुध दिनू न भोकले रुन्छ मात्तै,’ मनमायाले रुन्चे स्वरमा भनी ।
‘मेरो नानीलाई त अघाउँजी दुध आउँदैन, तेरो भाइलाई कताबाट दिनु ?’ तुम्माले झर्किंदै भनिन् ।
ढाडमा बोकेको भाइ रुन थाल्यो । मनमायाको आँखाबाट आँसु टिल्पिलाए । तुम्माको नानी झोलुङ्गेमा मस्त सुतिरहेकी थिई ।
‘तेरो आमाचैं काँ गो ?’ तुम्माले नरम बोलीमा सोधिन् ।
मनमाया बोलिन । आँखा माड्दै उभिरही ।
‘खोइ ले, अलिकति खुवाउँछु,’ मनमायाको ढाडको भाइ समाउँदै तुम्माले भनिन्– ‘तैँले चैं त्यो गाग्रीभरि पानी भरिदे है ।’
मनमायाले खुशी हुँदै ‘ल’ भनी । दुई पाथी जाने जर्किन देखाउँदै तुम्माले भनिन्– ‘तीनचोटी ल्याइस् भने भरिन्छ ।’
तुम्माले भनेझैं मनमायाले तीन चोटी पानी ओसार्दा गाग्री भरियो तर झरीले मनमाया निथु्रक्क भिजी । मनमायाको भाइ दुधले अघाएर तुम्माको काखैमा सुत्यो । मनमायाले अगेनामा ठिहिँर्याएको आफ्नो हात एकछिन सेकाई ।
‘तेरो भाइलाई अघाउँजेल दुध खुवाएँ । एकछिन यहीं सुतोस् । तेरो तुम्बालाई यो जाँड खेतमा पुराइदे ल ?’ तुम्माले जाँडको भाँडा अघि सारिदिँदै भनिन् ।
तुम्बाको खेत निकै टाढा थियो । मनमायाले ‘नाई’ भन्न सकिन, गई । जाँड पुर्याएर आउन उसलाई झण्डै आधा घण्टा लाग्यो ।
‘आइपुगिस् ? कुखुरा स्यालले लग्यो भने तेरो आमाले मार्छ । लु जा ।’ मनमायाले सँघार नटेक्दै तुम्माले भनिन् ।
मनमायाले ढाड थापी । तुम्माले भाइ राखेर बाँधिदिइन् । प्लाष्टिक ओढेर मनमाया घरतिर कुदी । भाइ सन्तोकी छ, भोक लाग्दा मात्र हो रुने त । त्यै भएर आमा मेलापात ढुक्कले जाने गर्छिन् ।
मनमायाले भाइलाई कोक्रोमा लगाएर हल्लाई । भाइ फेरि सुत्यो । तब, कुखुरा हेरी, धन्न स्याल आएनछ । कुखुरा गाईगोठ वरपर नै थिए । ‘भाइ सुतेपछि, सुँगुरको चारो पकाइराख्नू है’ आमाले भनेको सम्झी । मनमाया घरभित्र पसी । चुलामा आगो मरेको थियो । मनमायालाई चुलामा पसेपछि पो भोक लागेको सम्झना भयो । काठको पिरामा चढेर भारमा हेरी, खानुकुरा केही थिएन । खोपीहरुमा आमाले केही लुुकाएकी छिन् कि ? खोजी हेरी त्यहाँ पनि केही भेटिन । घरबाहिर आई र भाइको कोक्रोछेउ बसी । भाइको मुखभरि बसेका झिँगा धपाई । भाइ सुतेको कोक्रोमा पातलो मजेत्रोले छोपी । भोक बेसरी लागेको वेला मनमायालाई पुछारबारी डिलको आलुचा आद आयो । आचुला टिपी खानु जाने सोच्दै थिई, गाईगोठबाट कुखुराहरु तर्सेर कराउँदै आँगनतिर उड्दै आए । उडेको भाले समाउन ताक्दै घोर्ले स्याल आँगनमै आइपुग्यो । स्याल देखेर मनमाया डराई, उनको बोली फुटेन । आवाज हरायो । आँखा सामुन्ने स्यालले आँगनबाट नाहेन भाले टिपेर लग्यो । मनमाया डरले थरथर काम्दै भाइ बोकेर घरभित्र पसी र ढोका लगाई ।
साँझतिर मनमायाको आमा खेतबाट घर आइपुगिन् । आँगन पुगेर लगतै कुखुरालाई डाकिन्, ‘आ..आ..ह .!’ अरु कुखुरा भेला भए नाहेन भाले आएन ।
‘मनमाया ! काँ मरी यो पातर्नी ? मनमाया !’ आँगनमा उभिएर आमा कराइन्– ‘नाहेन भाले पो स्याललाई खुवाएछ । एल्लाई आज जानेको छु । जहिले खेल्नुपर्ने ।’
आँगनको डिलमा उभिएर स्वर च्यातिने गरी फेरि एकखेप आमा जोडले कराइन्– ‘मनमाया !’
आमाको स्वरले गाउँ थर्कियो । कहींकतैबाट ‘हु’सम्मको आवाज आएन । फत्फतिँदै घरभित्र पसिन् । मनमाया र सानो छोरा चुलाको एकापट्टि कुनामा सुतेको देखेर आमा रिसले पागलझैं भइन् ।
‘कराई मार्छु, यो त याँ पो सुतेको रैछ, तँलाई..’ आमाले मनमायालाई जगल्टामा समाएर झापट लाउन थालिन् ।
मनमाया रुँदै चिच्याउन थाली । मनमायाको लुगा भिजेको देखेर आमा झन रिसाइन्– ‘घर रुँग्दै बस् है भनेको त, बाहिर खेल्न पो जाने ? जाँ.. !’
आमाले सोथे टिपिन् । आमाको हातबाट कसो फुत्किएर मनमाया भाग्न पाई ।
‘घरभित्र आई मात्र हेर, मैले जानेको छु,’ सोथेले झटारो हान्दै आमा कराइन् ।
मनमाया रुँदै घरपछाडि भागी । घरपछाडि पिँढीमा थरर काम्दै कुक्रुक्क परेर सुँकसुँक रुँदै बसी ।
आमाले गनगन गर्दै आगो जोडिन् । सुँगुरलाई चारो दिइन् । कुखुरा, बाख्रा थुनिन् । रात पर्यो । अँध्यारोसँग मनमाया साह्रै डराउँछे । जाडो पनि थपियो । ऊ सिकुवामा आई र गुन्द्रीमा बेरिएर सुती । मंगले पनि घर आयो । आमा खाना बनाउनलाई तयारी गर्दै थिइन् ।
‘आमो, भात !’ मंगलले चुलामा बस्दै भात माग्यो ।
आमाको रिस मरेको थिएन्, ‘लाः जाँठा भात । खान्छस् ?’ पन्यूले मंगलेको ढाडमा हान्दै आमा कराइन् ।
मंगले जुरुक्क उठेर बाहिर भाग्यो । सिकुवामा मनमाया गुन्द्रीमा सुतेको उस्ले देख्यो र छेउमा गएर सुँकसुँक रुँदै टुसुक्क बस्यो तर मनमायाले केही भनिन । केही गरिन । मंगलेले अनुमान पायो कि दिदीले पनि आज कुटाइ पाइछे । तब, उस्को दुःखेको चित्त केही शान्त भयो ।
लाखबहादुर ढाकरसँग घर आइपुग्यो । ढाकर पिँढीमा बिसायो । ढाकरमा सदाको जस्तो मट्टितेलका टिनहरु थिएनन् । मंगले रुन छोडेर बाउको ढाकरछेउ गएर कोट्याउन थाल्यो– ‘के हो यो बाउ ?’
‘न छु जाँठा ! तेरो स्कूलको किताप हो,’ ढाकरबाट प्लाष्टिक हटाउँदै बाउले भन्यो ।
बोरामा बाँधिएका कितापहरु थिए । मंगले पढ्ने स्कूलको किताप । मंगल खुशी भयो, रमायो– ‘आहा, भोलि त नयाँ किताप पाइने भो !’
लाखबहादुर झोला हातमा झुण्ड्याएर घरभित्र पस्यो । मंगले बाउको पछि लाग्यो । लाखबहादुरले झोला बूढीलाई दियो । पशुपती बिस्कुटको एउटा पुरिया गोजीबाट निकालेर मंगलेलाई दि“दै लाखबहादुरले भन्यो– ‘इः ला, दिदीसँग बराबरी बाँडेर खाऊ । खोई मनमाया ?’
‘असत्तिनी ! दिनभर खेल्न काँ गई कुन्नि ? निथु्रक्क भिजेर त्यतिकै सुतेछ । नाहेन भाले पनि स्यालले खुवाएर मरेछ ।’ झोला भारमा राख्दै आमाले भनिन् ।
‘माइला बडालाई पो खाजा पुर्याउन खेतमा गएको थियो रे, झरीपानीमा भिज्यो होला नि ।’ लाखबहादुरले भन्यो ।
‘खेल्न त्यता मेरेछ ? त्यस्को अल्छेनी तुम्माले अरायो होला नि ।’
‘दाजूको समान पुर्याउँदै म त्यहाँ एकछिन बसेर आको । भाइ भोकले रोएर दुध खुवाउन तुम्माकोमा लगेको थियो रे, पूरा कुरा नबुझी मान्छे नरिसाउनु पो,’ लाखबहादुरले मनमायालाई खोज्दै सोध्यो– ‘अनि काँ गई त ?’
आमा बोलिनन् । उनलाई थोरै पश्चाताप भयो ।
‘दिदी त बाहिर कुन्द्रीमा सुतेको छ,’ मंगलेले भन्यो ।
लाखबहादुर बाहिर निस्क्यो । मनमाया गुन्द्रीमा बेरिएर काम्दै सुतेकी थिई । बाउले मनमायाको निधार छाम्यो, हनहनी ज्वरो थियो ।
‘छोरी त बिरामी छ,’ छोरीलाई बोकेर भित्र आउँदै लाखबहादुरले भन्यो ।
आमा छेउमा आई र मनमायाको निधार छाम्दै बोलाइन्– ‘मनमाया ! छोरी !’
‘स्याल आयो, स्याल आयो… !’ मनमाया बर्बराई ।
आमाले मनमायालाई काखमा लिइन् । मनमाया काम्दा आमा पनि कामिन् । छोरीको मायाले आमाको आँखा रसायो ।
‘तिमी पनि के आजै जानुपर्छ खेतमा ? म आएर गरिहाल्थें नि त्यो मुला चार फोक्टा खेत ।’ बाउ रिसायो ।
‘के भनिबसेको ? छिटो देवारी बोलाएर ले न, ऊँ..ऊँ… !’ आमा रुन थालिन् ।
लाखबहादुर देवारी बोलाउन गयो ।
‘थुक्क ! म अलछिनी, उँ…उँ… ,’ आमाले रुँदै मनमायाको भिजेको जामा फेरिदिइन् । छोरीलाई काखमा सुताएर पानीपट्टी गरिन् ।
लाखबहादुरले देवारी लिएर आयो । देवारीले जोखाना हेर्यो । जोखानामा मनमायाको सातो हराएको पायो । देवारीले मनमायाको हराएको सातो समाइल्यायो र मनमायाको शरीरमा राखिदियो । ‘मनमायाको सातो फूलबारीको पछाडि रुखको ठुटामा पो रुँदै बसेको र छ,’ देवारीले यसो भन्दा देवारीको अघि आमा क्वाँक्वाँ रोइन् ।
‘नरौ, केही हुँदैन । भोलि बिहानसम्ममा निको भइसक्छ ।’ देवारीले भनेपछि आमाको रुवाइ कम भयो ।
देवारी गयो । मंगले सुतिसकेको थियो ।
एउटै ओछ्यानमा भित्तापट्टि मनमाया, छेउमा मंगले, मंगलेको छेउमा एक वर्षको नानी सुताएर मनमायाको आमा लोग्नेको छेउमा ढल्किन् । कुपी निभाएपछि आफ्नो टाउको लोग्नेको छातीमा टसाइन् र विरह गाएजस्तो गरेर भनिन्– ‘छ्या ! छोराछोरी जन्माएर पापै मात्र गरियो । न राम्रो खानुलाउनु दिनु सकिन्छ न त पढाउन लेखाउनै…’
सजिलो गरी ढल्किँदै लाखबहादुरले भन्यो– ‘चिन्ता नगर । खानुलाउनु पनि दिन्छु, स्कूल पनि पठाउँछु । भोलिदेखि नै मनमाया पनि स्कूल जान्छ ।’
लोग्नेको कुरा सुनेर मनमायाको आमा खुशीले झण्डै रोइन् । यतिको बुझ्झकी लोग्ने पाएकोमा आफैलाई धन्य भएको ठानिन् ।
‘आमा, भोलिदेखि स्कूल जाने….’ मनमाया बर्बराई ।
मनमायाकी आमाले सलाई कोरेर कुपी बालिन् । मनमाया उठी । अघि बाउले बोकिल्याएको किताबको भारीतिर गई । ढाकरका किताबहरु सुम्सुम्याउन थाली । मनमायाकी आमा हिरिक्कै भइन् ।
(याे कथा ३० चैतमा विमाेचन गरिएकाे उपेन्द्र सुब्बाकाे कथा संग्रहबाट लिइएकाे हाे ।)