ब्लगमंगलबार, बैशाख १, २०७२

अमेरिकी कूटनीतिज्ञको विश्वदृष्टि

शंकर तिवारी

106-112.inddहेनरी किसिञ्जर अन्तर्राष्ट्रिय सम्बन्धमा रुचि राख्ने जो–कोहीका लागि परिचित नाम हो। उनी अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ मात्र नभएर भाष्यकार पनि हुन्। उनका अघिल्ला पुस्तकहरू डिप्लोमेसी र अन चाइना पर्याप्त चर्चामा रहे।

सन् १९७३ मा अमेरिकाको विदेशमन्त्री भएकै बेला नोबेल शान्ति पुरस्कार पाएका किसिञ्जर नयाँ पुस्तक वर्ल्ड अर्डरः रिफ्लेक्सन्स् अन दी क्यारेक्टर अफ नेशन्स् एण्ड दी कोर्स अफ हिस्ट्री मा भने फरक अवतारमा देखिएका छन्। उनी व्यावहारिक राजनीति भन्दा माथि उठेर नैतिक र आदर्शका कुरा गर्छन्।

किसिञ्जरले पुस्तकमा विश्व प्रणाली/व्यवस्थाको लोमहर्षक तर सटिक वर्णन गरेका छन्। प्राचीन रोमन साम्राज्यदेखि अमेरिकी साम्राज्यले कसरी आफ्नो आधिपत्य कायम गरे र विश्व प्रणाली नै बदले भन्ने जान्न पुस्तक ‘ब्रह्मास्त्र’ बन्न सक्छ।

किसिञ्जरको कथन छ– ३० वर्षको निरन्तर युद्धले आक्रान्त यूरोपका दुई सय प्रतिनिधिको भेलाले सन् १६४८ मा तय गरेको ‘पिस अफ वेष्टफालिया सन्धि’ का आधारमा आधुनिक विश्व प्रणाली बनेको हो। मात्र यूरोपेली प्रतिनिधिले परिकल्पना गरेको संरचना कसरी चार सय वर्षसम्म सफल रह्यो भन्दै उनले सन्धिको तारिफ गरेका छन्।

वर्तमान राजनेताहरूप्रति किसिञ्जरको आग्रह र अपेक्षा छ–विश्व वेष्टफालिया सन्धिको समयभन्दा जटिल समस्याले ग्रस्त छ। समस्याबारे सचेत भएर मात्र पुग्दैन, ठोस कार्यविधि नै तय गर्नुपर्छ, जसका लागि समय घर्किन लागेको छ। उनको चेतावनी छ– प्रत्येक पुस्ताको मूल्यांकन उसले मानव सभ्यतामा आइपर्ने कठिनतम् समस्या झेल्यो कि झेलेन र त्यसबाट पार पाउन राजनेताले बेलामा निर्णय गर्‍यो कि गरेन भन्नेमा हुन्छ।

किसिञ्जरले पुस्तकमा एशियालाई विशेष महत्व दिएका छन्। जापान, भारत र चीनबारेमा परिचर्चा गरेका छन्। २१औं शताब्दी एशियाली शताब्दी भनी आकलन गरिएकै बेला उनले पनि यो तर्क सहजतापूर्वक स्वीकारेका छन्।

106-112.inddसदियौंसम्म चीन र भारतसँग कुशलतापूर्वक सन्तुलन राख्दै नेपालले कूटनीतिक छवि कायम गरेको बताउँदै किसिञ्जर नेपालबारे टिप्पणी गर्छन्– चीनले ‘भेटी’ ठान्ने तर नेपालले बराबरीको आदानप्रदान सोच्ने। यस्तै चिठीपत्र र उपहार मार्फत चीनसँगको विशेष सम्बन्धको आधार देखाउँदै नेपालले भारतसँग पनि स्वतन्त्रता अक्षुण्ण राख्न पुग्यो।

नेपालबारेको यो विश्लेषण हिमालय क्षेत्रका विज्ञ अमेरिकी लियो ई. रोजको धारणासँग मेल खान्छ। एशियामा विद्यमान राजतन्त्र, तिनले धारण गर्ने भनिएका दैवी शक्तिको उल्लेख गर्दै किसिञ्जरले वर्तमानसँग त्यसको प्रभावबारे खोतल्ने कोशिश गरेका छन्।

नरेन्द्र मोदीको चुम्बकीय नेतृत्व र प्रष्ट जनादेशका कारण भारतले परम्परागत परराष्ट्र नीतिमा बदलाव ल्याउन सक्ने किसिञ्जरको अनुमान छ। भारत, जापान र चीन तीनै देशमा रणनीतिक चातुर्यले भरिपूर्ण शासक भएकाले सघन द्वन्द्व र ठोस निर्णयको बराबर सम्भावना देखिन्छ।

वेष्टफालिया सन्धिले परिकल्पना गरेभन्दा बेग्लै कारणले दक्षिणएशिया र पूर्वी एशियाको शक्ति–सन्तुलन कायम हुन पुगेको किसिञ्जरको ठहर छ। विश्व प्रणालीमा भारतको भूमिका छिमेकीहरू पाकिस्तान, बाङ्लादेश, अफगानिस्तान र चीनसँगको जटिल संरचनामा जकडिएका कारण स्थिति सहज नरहेको उनको दाबी छ।

कुल नौ खण्डमा विभाजित यो पुस्तकमा यूरोप, अमेरिका, इस्लामिक र मध्यपूर्व, एशिया र विश्व शक्ति सन्तुलनबारे परिचर्चा गरिएको छ। विश्व हाँक्ने ‘शक्तिकेन्द्र’ को शक्ति पनि वैध हुनुपर्ने तर्क गर्ने उनी जनमतबाट निर्वाचित/अनुमोदित नभएका राजनीतिक प्रणालीप्रति सन्देह व्यक्त गर्छन्।

किसिञ्जरले पुस्तकमा आजको विश्वमा गम्भीर समस्याका रूपमा रहेको आतंकवादको चर्चा भने छुटाएका छन्। गरीबी, जलवायु परिवर्तन, निरक्षरता, आपराधिक गिरोहका सञ्जालबारे पनि पुस्तकमा उल्लेख छैन। तर, यूरोपका पछिल्ला घटनाक्रमले विश्व प्रणालीमा ‘देश’ भन्दा ‘जनता’ को प्रतिमान माथि राखिनुपर्ने बहस शुरू भएको छ।

किसिञ्जर इस्लाम, चीन र भारतीय संस्कृतिको बहुलतालाई आदर गर्छन् र नयाँ विश्व प्रणालीले यो बहुलता/विविधता सम्बोधन गर्नुपर्नेमा जोड दिन्छन्। उनी एकल संस्कृति बढावा दिने विद्यमान पद्धतिको दिन सकिएको ठोकुवा गर्छन्।

९१ वर्षको उमेरमा प्रकाशित यो पुस्तकमा किसिञ्जरले आफू कूटनीतिज्ञ छँदा गरेका निर्णयको एक एक गरी बचाउ गर्दै रिचर्ड निक्सन यताका सबै राष्ट्रप्रतिको तारिफ गरेका छन्। पुस्तक मार्फत उनले क्रिस्टोफर हिचेन्स लिखित पुस्तक दी ट्रायल्स अफ हेन्री किसिञ्जर मा आफूमाथि लगाइएको आरोपको जवाफ र खण्डन दुवै गरेका छन्।

त्यसो त दी ब्लड टेलिग्राम पुस्तकमा चीन–अमेरिका सम्बन्ध सहज बनाउन १९७१ मा बाङ्लादेशमा नरसंहार मच्चाउन पाकिस्तानलाई उक्साएको आरोप पनि उनीमाथि लागेको छ।

किसिञ्जरको यो पुस्तकले नेतृत्व, देश र सम्पन्नतालाई संस्कृति, धर्म र राजनीतिसँग कुशलतापूर्वक जोड्दै इतिहासका दिशा र दशाको बेजोड वर्णन गरेको छ।


पुस्तक वर्ल्ड अर्डरः रिफ्लेक्सन्स् अन दी क्यारेक्टर अफ नेशन्स् एण्ड दी कोर्स अफ हिस्ट्री

प्रकाशक पेन्गुइन बुक्स

पृष्ठ ४३२ मूल्य रु.१४००

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>