रमझममंगलबार, बैशाख १, २०७२
सितारवादक सीता
संगीतका कतिपय धुन यति कर्णप्रिय हुन्छन् कि तिनले हाम्रो मानसिक तनाव शान्त पारिदिन्छन्। त्यसैले मानिसहरू दिनभरिको थकान मेटाउन साँझ गजल, भजन आदि सुन्ने गर्छन्। विज्ञानले संगीतलाई थेरापीका रूपमा प्रयोग गर्न सकिने पुष्टि नै गरेको छ। यस्तो थेरापी नेपालमा पनि उपलब्ध छ।
सितारवादक सीतामैया राजचल सुवाल (३८) ले विगत तीन वर्षदेखि काठमाडौं, ठमेलको ब्रिजल रेष्टुरेन्ट भएकै घरमा संगीत थेरापी गराउँदै आएकी छिन्। सन् २००४ मा भारत जाँदा उनले यो थेरापीबारे जानकारी पाएपछि तीन वर्षसम्म आफैंले यसको अभ्यास गरेकी थिइन्। “त्यहाँ म्युजिक–थेरापी गराउने थुपै्र संघसंस्था रहेछन्”, उनी भन्छिन्, “तिनको सदस्य बनेर विभिन्न शिविरमा भाग लिएँ। र, नेपाल आएर अरूलाई सिकाउन थालेँ।”
यो थेरापीमा विरामीलाई उसको रोगअनुसारको राग निश्चित मुद्रामा बसाएर निश्चित समयका लागि सुनाइन्छ। “संगीतको भाइब्रेसनका कारण विरामीको शरीरभित्रका ‘ब्लकेज’ खुल्छन् र रोग निको हुन्छ”, सीता भन्छिन्। हालसम्म डेढ सय जति नेपालीलाई म्युजिक–थेरापी गराइसकेकी उनी यसले मान्छेको ‘कन्सन्टे्रसन पावर’ पनि बढाउने बताउँछिन्।
तीन दसकदेखि व्यावसायिक रूपमै सितार बजाउदै आएकी सीतामैयाले ‘टकिङ स्ट्रिग्स’ र ‘परम्परा’ नामका दुई अल्बम सार्वजनिक गरिसकेकी छन्। तेस्रो र चौथो अल्बम एकैचोटि निकाल्ने तरखरमा रहेकी उनी सितार बजाउँदै भारत र थाइल्यान्डसम्म पुगेकी छन्। ललितकला क्याम्पसमा पढाउने उनी भन्छिन्, “मेरा विद्यार्थी साह्रै थोरै छन्। अलि अप्ठ्यारो खालको बाजा भएकाले हत्तपत्त सिक्नै खोज्दैनन् जो कोही।”
कतिपयले त सितारलाई दसैंमा मात्रै बजाउने बाजा भन्ठानेको देख्दा सीतालाई दिक्क लाग्छ। यो गलत बुझाइलाई हटाउन उनले सितारलाई पनि गिटार जसरी उभिएरै बजाउन थालेकी छिन्। “पुरानो बन्दिजलाई फ्युजन गरेर निकाल्दैछु,” उनी भन्छिन्, “यसअघि हामीकहाँ कसैले पनि शास्त्रीय रागलाई फ्युजन गरेको छैन।” नयाँ पुस्तालाई सितारप्रति आकर्षित गराउन नै यो सबै गरिरहेको उनको दाबी छ।
सीता पहिले–पहिले गीत पनि गाउँथिन्। तर, सितारवादनमै भविष्य देखेपछि उनले स्वरभन्दा सुरतिर ध्यान दिन थालिन्। “मेहेनत गर्दै डटेर लागिपर्यो भने वाद्यवादक भएर पनि गरिखान सकिदो रहेछ”, उनी भन्छिन्।
सजना बराल