थप समाचारमंगलबार, बैशाख १, २०७२
शरणार्थीको सुखद् सफर
गोपाल गडतौला
सन् १९९० को शुरुआततिरै भूटानको दक्षिणी भेगका ल्होत्साम्पा बस्तीमा आँधी फैलिंदै थियो। आफूमाथिको अत्याचार विरुद्ध नेपालीभाषी भूटानी तानाशाही राजा जिग्मे सरकार विरुद्ध बोल्ने हिम्मत जुटाउँदै थिए।
आन्दोलनको एउटा केन्द्र थियो, ऊबेलाको एक मात्र सेरप्ची कलेज, जहाँ अधिकांश नेपालीभाषी पढ्दथे। तिनैमध्ये एक थिए, टोमकुमार अधिकारी। अधिकारीकै पहलमा २ अगस्ट १९९० मा कलेजमा जुलूस निस्कियो। जुलूसमा सरकारले दमन गरेन।
तर चिराङ जिल्लास्थित बुढिछुमा रहेको उनको घरमा सेनाले वितण्डा मच्चाइसकेको थियो। यो खबरसँगै चिराङस्थित बुढिछु पुगेका उनी फेरि कलेज फर्कन पाएनन्।
टोमकुमारका बाबु धनपति बुढिछुका गाउँकै मूली थिए। २५ एकडमा फैलिएको अलैंचीखेती, चारखला खेत, आँखाले नभ्याउने बारी र खर्क थियो। गाउँलेका घर भत्काउन र देश निकाला गर्न साथ नदिएको भन्दै सेनाले दागा धरेपछि धनपति भागेर भारत पसेका थिए। सेना रात दिन घरमा आउन थाल्यो। टोमलगायत धेरै नेपालीभाषी कलेजबाट निकालिए।
१९९० को अन्त्यतिर अधिकारी परिवार लखेटिंदै पश्चिम झापास्थित बेलडाँगी–२ शरणार्थी शिविर सेक्टर जी–४ को छाप्रो नम्बर १ मा बस्न थाले। भूटान छँदा खेतको सिमाना समेत थाहा नभएको, धेरै हलीगोठाला भएको यो परिवार पाँच मीटर चौडाइ र आठ मीटर लम्बाइको छाप्रोमा समेटियो। सम्पन्न र सुखी अधिकारी परिवारमा एकाएक कष्टको कहर शुरू भयो।
पढाइमा तेज टोमकुमारको मन शिविरमा अडिएन। चिनेजानेकाको सहयोगमा उनी भारतको हरियाणास्थित महर्षि दयानन्द विश्वविद्यालयमा भर्ना भए। भारतकै कुरुक्षेत्र विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरे। त्यसपछि नयाँदिल्ली आएका उनी ड्रूक नेशनल कंग्रेस पार्टीको महासचिवका रूपमा शरणार्थी अधिकारका लागि संघर्ष गर्न थाले। थुप्रै भारतीय बुद्धिजीवीलाई शरणार्थीको वास्तविकता बुझाए।
यसैबीच सन् २००४ मा अमेरिकी सरकारको द्वन्द्व समाधान तथा कूटनीतिक अध्ययन सम्बन्धी डेढ महीने अध्ययन भ्रमणमा छानिएर टोमकुमार अमेरिका पुगे। र उतैबाट बेलायतमा शरणार्थी आवेदन दिए।
टोमकुमारका पिता धनपतिको नाममा भूटानमा रहेको सम्पत्तिको प्रमाण।
लण्डनमा चार वर्ष एकजना वकीलको सहयोगी भई काम गरेका उनले २००९ मा वकील परीक्षा पास गरे। लगत्तै हिथ्रोस्थित हाटन क्रस इमिग्रेसन कोर्टमा वकालत थाले। अहिले टोमकुमार ‘ल सोसाइटी अफ इङ्गल्याण्ड एण्ड वेल्स’ का सदस्य पनि छन्। उनको वकालती शुल्क प्रतिघण्टा २२९ पाउण्ड अर्थात् करीब झ्न्डै रु.३४ हजार छ।
“जस्तै कठिनाइमा पनि आत्तिन नहुनेरहेछ”, टोमकुमार भन्छन्, “जीवनमा सिकेको ज्ञान यही हो।”
भूटानबाट उखेलिएको उनको परिवार अहिले छरपष्ट भएको छ। बाबु धनपति, आमा विष्णुमाया, दाजु, एउटी दिदी र भाइहरू पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका छन् भने अर्की दिदी क्यानाडा। सहोदरहरू फेरि भेट हुने, नहुने ठेगानै नहुने गरी विछोडिएका छन्।
देशै फर्कन्छु भनेर विदेशिन नमानेका र बाँचेका देशवासी भेट्न गएको फागुनमा टोमकुमार बेलडाँगी शिविरको आँगनमा देखिए। आफ्नै देशबाट खेदिंदा र लुटिंदाको दुःखले आँखा भिजाए। “लडेको ढुंगो भयौं, कहाँकहाँ पुग्यौं।”