रमझमबुधबार, बैशाख २, २०७२

२०७२ सालः उपन्यासकाे वर्ष

हिमालखबर

२०७२ सालमा स्थापितहरूका नयाँ कृति मात्र होइन, नयाँ लेखकका बिल्कुलै नयाँ स्वादका सिर्जना समेत आउँदैछन्।

– रविन गिरी

4Ql3aAs२२ चैतमा कुमार नगरकोटी नगरकोटको फोर्ट रिसोर्टमा थिए। त्यसको अघिल्लो साता त्यहीं थिए, बुद्धिसागर। साताको फरकमा दुई प्रतिभाशाली साहित्यकार त्यहाँ पुग्नुको उद्देश्य थियो, उपन्यासको मस्यौदालाई अन्तिम रूप दिनु।

दुवै जना नयाँ वर्षको वैशाख वा जेठमा नयाँ कृति पाठकसामु पुर्‍याउन प्रयासरत छन्। नगरकोटी अतियथार्थवाद र रहस्यवादले भरिएको ‘मिस्टिका’ तयार पार्दै छन् भने बुद्धिसागर ‘फिरफिरे’ लाई अन्तिम रूप दिंदैछन्। दुवै कृति उपन्यास हुन्।

“कुण्डलिनी कुहिरोले काठमाडौंलाई छोप्छ, रहस्यमय पात्रहरू त्यसैभित्र रुमलिन्छन्”, प्रकाशोन्मुख ‘मिस्टिका’ बारे नगरकोटी भन्छन्। “अन्धविश्वासले महिला र बालबालिकामाथि थोपरेको हिंसा मेरो दोस्रो उपन्यासको केन्द्र हो। प्रयोगका दृष्टिले पनि यो पहिलोभन्दा विशिष्ट छ”, ‘कर्नाली ब्लुज’ बाट प्रशस्त प्रशंसा बटुलेका बुद्धिसागर भन्छन्।

‘नयाँ वर्ष, नयाँ उपन्यास’ को यो लाममा मदन पुरस्कार विजेताहरू अमर न्यौपाने र राजन मुकारुङ पनि छन्। न्यौपानेको ‘करोडौं कस्तूरी’ वैशाखमै बजारमा आउनेछ भने मुकारुङले पनि ‘अयोग्य’ को प्रकाशन साल २०७२ नै तोकेका छन्। २०७२ मा शिवानीसिंह थारू, विकास संग्रौला, गोपाल खनाल, नवराज राउत, विनिता बराल, प्रणय राणा, दिनेश काफ्ले, उज्ज्वल प्रसाईं आदि पनि लेखक अवतारमा आउँदैछन्।

फाइन प्रिन्टले ‘फिरफिरे’, ‘करोडौं कस्तूरी’ सँगै नयनराज पाण्डे, शिवानीसिंह थारू, सुरेश प्राञ्जली, राज सरगम, विनिता बरालका उपन्यास र मनु मञ्जिलको निबन्धसंग्रह पाठकसामु ल्याउनेछ। यसबाहेक सुविन भट्टराईको ‘समर लभ’ को अंग्रेजी अनुवाद, प्रशान्त झाको ‘ब्याटल्स अफ दी न्यू रिपब्लिक’ र अंग्रेजी उपन्यास ‘गट डेज’ को नेपाली अनुवाद ‘खबुज’ आउँदैछ। “प्रकाशन र पठनका दृष्टिले नयाँ वर्ष निकै सुखद् हुने देखिन्छ”, फाइन प्रिन्टका अजित बराल भन्छन्।

उता, फिनिक्स बुक्सले सत्यमोहन जोशीको जीवनी र मुकारुङको ‘अयोग्य’ सँगै युग पाठक, गोपाल खनाल, स्वप्निल स्मृति, मनोज बोगटी, दीपेन्द्र लामा, उज्ज्वल प्रसाईं, संगीतश्रोताका कृतिहरू ल्याउँदैछ। इन्द्रबहादुर राई र पारिजातका सम्पूर्ण रचना यसै वर्ष छाप्ने प्रबन्ध पनि मिलाइरहेको फिनिक्स बुक्सका जगदीश अधिकारीले बताए। अर्को प्रकाशन संस्था नेपालयका निर्देशक अर्पण शर्मा भने नयाँ वर्षमा अंग्रेजी पुस्तक प्रकाशनमा केन्द्रित हुने बताउँछन्।

“विकास संग्रौलाको अंग्रेजी उपन्यास र केही नेपाली पुस्तकको अनुवाद छाप्दैछौं”, शर्माले भने, “महिला लेखकहरूका ‘प्रेमका कथा’ पनि निकाल्ने योजना छ।”

पछिल्लो समय आत्मकथा र संस्मरणका पुस्तकहरू बढी चर्चित रहे पनि २०७२ उपन्यासको वर्ष हुने प्रकाशन संस्था र लेखकहरूको भनाइ छ। बुकहिल प्रकाशनले कुमार नगरकोटीको ‘मिस्टिका’ सँगै ब्रजेश खनाल र मिलन संग्रौलाको उपन्यास निकाल्दैछ।

डा. निर्मल ज्ञवाली, अश्विनी कोइराला, रोशन शेरचन, भूपिन, राजा पुनियानी र सविता गौतम दाहालको कृति पनि प्रकाशनको तयारी गरिरहेको बुकहिलका भूपेन्द्र खड्काले बताए। यसबाहेक रामकृष्ण ढकाल र राजेश पायल राईको जीवनी पनि बुकहिलको प्राथमिकतामा छ।”

यस्तै हिमाल किताबले अरविन्द रिमालका लेखहरूको संग्रह र पीटर जे कार्थकको संगीत संस्मरण प्रकाशनको तयारी थालेको छ भने घोष्ट राइटिङ प्रालिले अभिनेता भुवन केसीको जीवनी र बीएन पुस्तकले अभि सुवेदीको निबन्धसंग्रह ‘फ्लानरको डायरी’ निकाल्दैछ।

उता, अर्किड बुक्सले नवराज राउतको उपन्यास, राप्रउ उपाध्यायको गैर–आख्यानलाई नयाँ वर्षको प्राथमिकतामा राखेको छ। सन् ६० को दशकमा नेपाल बसेका एक विदेशीको संस्मरण पनि छाप्ने तयारी थालेको अर्किडका महेश्वर आचार्यले बताए।

प्रकाशन मिति चैत लेखिएको भए पनि नारायण ढकालको उपन्यास ‘वृषभ बध’ र उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटो पहाड’ पढ्न नयाँ वर्ष नै कुर्नुपर्ने भएको छ।

अंग्रेजीका कुरा

अंग्रेजी भाषाका नेपाली लेखकहरू विक्रमसम्बत्को नयाँ वर्षभन्दा ग्रेगोरियन पात्रोलाई कामकाजी बनाउँछन्। तर, सम्बत्भित्रै ग्रेगोरियन पात्रोका साढे ८ महीना पर्ने भएकाले यसमा धेरै लेखक अटाइहाल्छन्। कथासंग्रह ‘नथिङ टु डिक्लियर’ का लेखक रवि थापा अबको त्यही ८ महीनाभित्र ठमेलबारे ‘नन् फिक्सन’ निकाल्ने तयारीमा छन्।

कथासंग्रह ‘दी भ्यानेसिङ एक्ट’ सर्जक प्रविन अधिकारी पनि २०१५ भित्रै एउटा उपन्यास र इन्द्रबहादुर राईका कथाहरूको अनुवाद निकाल्न जुटेका छन्। थापा र अधिकारी दुवैको प्रकाशक भारतको स्पिकिङ टाइगर बुक्स हुनेछ। प्रणय राणाले पनि भारतकै प्रकाशन संस्था रूपासँग कथासंग्रह ‘सिटी अफ ड्रिम्स’ प्रकाशनको सम्झौता गरिसकेका छन्।

पत्रकार कुन्द दीक्षितको ‘डेटलाइन अर्थः जर्नालिज्म् एज इफ द प्लानेट म्याटर्ड’ को नेपाली अनुवाद पनि २०७२ मै सार्वजनिक हुनेछ। उनीद्वारा सम्पादित ‘लडाइँमा जनता’ को परिमार्जन सहितको चौथो संस्करण पनि यही वर्ष आउनेछ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>