ब्लगबुधबार, बैशाख २, २०७२

पत्रकारको तमासा

छिरिङ् डोल्कर गुरुङ

देशमा हुन् कि विदेश जाँदा, नेपाली पत्रकारहरूले मौका पाउनासाथ आफ्नो पेशागत मर्यादालाई तमासा बनाउने गरेका छन् ।

गत चैतमा मलेशिया यात्रामा निक्लेको पत्रकार समूहका एक सदस्यले काठमाडौं विमानस्थलमा अध्यागमन फारम भर्न मानेनन्– अनावश्यक दुःख भन्दै । उनलाई समूहका अन्य पत्रकारले साथ दिए ।

मलेशियाको मालिण्डो एअरले प्रायोजन गरेको यात्राका अधिकांश पत्रकारले आफूसँग प्रेस पास भएको शेखी गर्दै लाइनमा नबस्ने, चेकजाँच नगराउने जस्ता अशिष्ट व्यवहार देखाए । अशिष्ट र घमण्डी पत्रकारहरूको बाहुल्य रहेको त्यो मेरा लागि निकै असहज हुनपुग्यो ।

लाग्थ्यो, समूहका धेरैजसो पत्रकारले अरूप्रति थोरै पनि आदर नदेखाउने कसम खाएका थिए ।

तस्वीर: सुरेन्द्र तन्डुकार

तस्वीर: सुरेन्द्र तन्डुकार

उनीहरूले नेपाल बाहिरको यात्रामा आफूहरूले देशकै प्रतिनिधित्व गरिरहेको कुरा पूरै बिर्सेका थिए ।

ठूल्ठूलो स्वरमा बोल्नु, हरेक कार्यक्रममा ढिलो गरी पुग्नु, जथाभावी फोहोर फाल्नु उनीहरूको विशेषता थियो । उनीहरूले आयोजक र स्थानीयलाई प्रष्टै बिझउने गरी असभ्य व्यवहार प्रदर्शन गर्दा नेपालकै बद्नाम भइरहेको हेक्का बिल्कुलै राखेनन् ।

कतिसम्म भयो भने, मलेशियाली गाइडले टोलीलाई आफूहरू मलेशियामा रहेको, पत्रकार मात्रै नभई नेपाली नागरिक पनि भएको र मलेशियामा त कम्तीमा ‘सिभिक’ व्यवहार देखाउनुपर्ने चेतावनी बारम्बार दिनुपर्‍यो । तर, नेपाली पत्रकारहरूले गाइडको भनाइलाई कहिले हे..हे..हे.. गर्दै त कहिले ङिच्च दाँत देखाउँदै बेकाम बनाइदिए ।

यसअघि २०१३ डिसेम्बरमा टर्की गएका नेपाली र पाकिस्तानी पत्रकारहरूले पनि यस्तै जात्रा देखाएका थिए । सित्तैंको चन्दन शिरभर घस्न उद्यत यस्ता पत्रकारहरूले के बिर्सिदिन्छन् भने उनीहरूको असभ्य र ढिट व्यवहारको भुक्तान त्यहाँ रहेका आफ्ना दाजुभाइ, दिदीबहिनीहरूले गर्नुपर्छ ।

नेपालीहरू वैदेशिक रोजगारीका लागि जाने मुलुकमध्ये एक नम्बरमा पर्छ– मलेशिया । मलेशियामा रहेका नेपालीमध्ये करीब ४० प्रतिशत खेतबारी, कारखाना र ग्यास स्टेशनमा काम गर्छन् ।

नेपालीहरूमाथि कुटपिट वा लूटपाट भयो भने मलेशिया प्रहरीले वास्तै गर्न छाडेको हामीलाई राखिएको क्वालालम्पुरस्थित होटलका सुरक्षागार्डले बताए । “उनीहरूका लागि हामी लफडा मात्र हौंं”, उनले भने, “यहाँ रहेको नेपाली दूतावास पनि खासै कामलाग्दो छैन ।”

सित्तैंमा मलेशिया पुगेका हामी पत्रकारहरूले पनि राम्रो छाप छोडेनौं । मलेशिया घुमाउने एअरलाइन्सले दैनिक भत्ता नदिएकोमा एक जना पत्रकारको ठूलो गुनासो रह्यो । अर्काले भिसा शुल्क नतिरिदिएकोमा आपत्ति जनाई नै रहे । नल्याउनु ल्याएपछि सबै खर्च बेहोरिनुपर्थ्यो, नेपाली पत्रकारहरू त्यसै पनि अनावश्यक खर्च बेहोर्ने हैसियतमा नरहेको अर्का एक जनाको अरण्यरोदन रह्यो ।

पेशाको हुर्मत
गद्दीच्युत राजा ज्ञानेन्द्रले २९ जेठ २०६५ मा नारायणहिटी दरबार छाड्दा गरेको पत्रकार सम्मेलनपछि पत्रकारहरूले देखाएको अशोभनीय व्यवहार धेरैले बिर्सन सकेका छैनन् ।

पत्रकार सम्मेलनपछि होहल्ला गर्दै उठेका पत्रकारहरूबीच दरबारका कुर्सीमा बसेर फोटो खिच्ने होड चलेको दुनियाँले देख्नुपरेको थियो । त्यसक्रममा कतिपय कुर्सी भाँचिएका थिए । त्यस्तै, जनजाति महासंघले ६ जेठ २०६९ मा पुतलीसडकस्थित रिपोर्टर्स क्लबमा राखेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरू आयोजक विरुद्ध नाराबाजीमा उत्रेका थिए ।

देशभित्र पत्रकारहरूले देखाएका यस्ता हर्कत खानपान वा नगदसँग जोडिएका थिएनन्, तर स्रोतले दिएको चिया पनि खानु हुँदैन भन्ने सिकाइन्छ, पत्रकारिताको कक्षामा । व्यवहारमा त्यो स्तरको सैद्धान्तिकरण सम्भव नहोला, बरु कतिपय अवस्थामा प्रत्युत्पादक पनि हुनसक्ला । तर, एउटा पत्रकारले सित्तैंमा कतिसम्म लिनुहुन्छ भन्ने सीमा त पक्कै हुनुपर्छ पनि !

प्रायोजित यात्रा, खानाको निम्तो वा दशैंमा दूतावासको एक बोत्तल ह्विस्की स्वीकार्दा पनि सम्बन्ध त दिने र लिनेकै हुन्छ । लिनेले कतै न कतै अनुग्रहित हुनैपर्छ ।

निःशुल्क यात्रामा जाँदा, सम्मेलनमा उपस्थित भएबापत भत्ता लिंदा आयोजकले पत्रकारको लेखाइमा आफ्नो मतलबको आशा राख्न सक्छ । तर, आफैंप्रति कति इमानदार रहने, पाठकलाई कति निष्पक्ष र वस्तुगत समाचार दिने भन्ने कुरा हरेक पत्रकारमा पेशाप्रति कति निष्ठा छ भन्नेमा भर पर्छ ।

बसको सीटमा चुइँगम टाँस्नु र हातको बोत्तल जहाँ खाली भयो त्यहीं फाल्नुमा पुरुषार्थ देख्ने नेपाली पत्रकार समूहमा सभ्य–सुसंस्कृत पनि थिए, केही । आगामी दिनमा यस्ता शिष्ट पत्रकारहरू थपिंदै जाने आशा गरौं ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...