थप समाचारबुधबार, बैशाख २, २०७२
भारतः ६ वटा दल मिलेर नयाँ दलको घोषणा
भारतका ६ वटा राजनीतिक दलहरु मिलेर एउटा नयाँ दल बनाउने निर्णय गरेका छन् ।
विभिन्न दलहरु मिलेर एउटै दल बनाउने चर्चा केही पहिलेदेखि नै निश्चित जस्तै भए पनि २ वैशाखमा जनता दल युनाइटेडका अध्यक्ष शरद यादवले दिल्लीमा औपचारिक घोषणा गरेका हुन् ।
जनता दल युनाइटेड, समाजवादी पार्टी, राष्ट्रिय जनता दल, भारतीय राष्ट्रिय लोकदल, जनता दल सेक्युलर र समाजवादी जनता पार्टी मिलेर बन्ने नयाँ दलको अध्यक्ष समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादव हुने भएका छन् ।
यी सबै दलहरु सन् १९८८ मा अस्तित्वमा आएको जनता दलकै हिस्सा भएकाले यसलाई ‘जनता परिवार’ को विलय पनि भनिएको छ ।
यादवले पार्टीको नाम, झण्डा र निर्वाचन चिन्हका लागि लालु यादव, एचडी देवेगौडा, कमल मोरारका, रामगोपाल यादव, मुलायम सिंह यादव र शरद यादव सम्मिलित कमिटी गठन गरिएको पनि जानकारी दिएका छन् ।
सन् १९८८ मा जनता दल कांग्रेस विरोधि दलका रुपमा उदाएको थियो, जसलाई त्यसबेला भारतीय जनता पार्टीले सहयोग गरेको थियो । तर, अहिलेको एकता भने भारतीय जनता पार्टीको विरोधमा भइरहेको देखिन्छ ।
सन् १९८९ मा भारतमा भएको आम निर्वाचनबाट जनता दल दोस्रो ठूलो दल बन्न पुगेको थियो । त्यसबेला भारतीय जनता पार्टीको समर्थन लिएर जनता दलका नेता विश्वनाथ प्रसाद सिंह भारतको प्रधानमन्त्री बनेका थिए । यद्यपी एक वर्षमै भाजपाले समर्थन फिर्ता लिएपछि सिंह नेतृत्वको सरकार ढलेको थियो ।
भारतीय सञ्चारमाध्यमहरुबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
