रमझमबिहीबार, बैशाख ३, २०७२

थ्रीडी क्रेज

हिमालखबर

-गणेश आचार्य

हामीले झट्ट हेर्दा देखिने तस्वीर समतल हुन्छन्। तस्वीरमा देखिएको वस्तुको अर्कोपट्टिको भागमा के छ भन्ने देखिंदैन। ती तस्वीर टुडी अर्थात् टु डाइमेन्सनल हुन्। टुडी टेलिभिजन, मोबाइल फोन, क्यामेरा लगायतले हामीलाई समतल चित्र नै देखाउँछन्।

थ्रीडी अर्थात् थ्री डाइमेन्सनलले भने वस्तु जस्तो छ त्यस्तै देखाउँछ। हामीले हातमा समाउँदा भकुण्डो जस्तो देख्छौं थ्रीडी टीभीमा समेत त्यस्तै देखिन्छ।

हाम्रा दुई आँखा करीब दुई इन्चको अन्तरमा हुन्छन्। त्यसकारण दुई आँखाले भिन्न कोण देख्छन्। तर मस्तिष्कको बाइनाकुलर भिजनले ती भिन्न कोणबाट देखिएको दृष्टिका आधारमा दूरी पत्ता लगाउँछ।

तर थ्रीडी तस्वीर साधारण आँखाले देख्न गाह्रो हुन्छ। यो प्रविधिमा एउटै तस्वीरलाई दुई वटा क्यामेराले फरक कोणबाट खिचिएको हुन्छ। त्यसरी खिचिएको तस्वीर हामीले दुईथरी सिसा भएको थ्रीडी चश्मा लगाएपछि मात्रै देख्न सक्छौं। थ्रीडी चश्माको दुई वटा सिसामा एउटै तस्वीरको दुईवटा कोण प्रोजेक्ट हुन्छ, दिमागमा दुवै तस्वीर एकैसाथ प्रोसेस हुन्छन् र हामी त्यसलाई थ्रीडी आकारमा देख्छौं।

थ्रीडी तस्वीर वा भिडियोमा कसैले सियो हामीतिर सोझ्याए सियो हामीलाई नै घोच्न आएजस्तो भान हुन्छ। यसलाई ‘स्टेरियोस्कोपिक भ्यू’ भनिन्छ। विना चश्मा थ्रीडी तस्वीर या भिडियो देखाउने मनिटर या टीभी कसरी बनाउन सकिन्छ भनेर अध्ययन अनुसन्धान भैरहेका छन्। यसको मतलब कुनै दिन त्यस्तो पनि आउला जतिबेला हामी चश्मा विना नै थ्रीडी तस्वीर या भिडियो हेर्न सक्नेछौं।

नेपालमा थ्रीडी

काठमाडौं लगायतका केही शहरमा थ्रीडी सिनेमा हेर्न मिल्ने हल छन् जहाँ सिनेमाका थ्रीडी संस्करण देखाइन्छन्। नेपालमा क्युएफएक्स, एफक्युब, बिग मूभिज, क्यूज लगायतले थ्रीडी सिनेमा देखाउँछन्। थ्रीडी प्रविधिमा बनेको पहिलो नेपाली चलचित्र ‘भिजिलान्ते’ हो। थ्रीडी खिच्ने क्यामेरा र सम्पादन प्रविधि तुलनात्मक रुपमा महँगो छ। काठमाडौं र अरु केही शहरमा अंग्रेजी र केही हिन्दी थ्रीडी सिनेमा चल्ने गरेका छन्।

हामी सधैं सिनेमा हेर्न जाँदैनौं। त्यसैले थ्रीडीको यस्तो मनोरञ्जन घरसम्म ल्याउने काम सोनी, सामसङ, एलजी लगायत ब्रान्डका टेलिभिजनले गरिरहेका छन्।

एलजीले हालै निकालेको अप्टिमस थ्रीडी मोबाइल फोनमा थ्रीडी भिडियो खिच्ने र हेर्ने सुविधा छ। सोनी, फुजीफिल्म लगायतका कम्पनीले थ्रीडी भिडियो खिच्न र हेर्न मिल्ने कम्प्याक्ट क्यामेरा बजारमा ल्याएका छन्। त्यस्तै एचपी, लेनोभो लगायतका कम्पनीका थ्रीडी ल्यापटप समेत चर्चित ग्याजेटमा पर्छन्।

थपिंदो ‘डी’

हामीले गणितमा पढे जस्तै कुनै पनि वस्तुको तीन वटा आयाम हुन्छ। एक्स, वाई र जेड एक्सिस्। दृश्यका आधारमा थ्रीडी भन्दा पर्तिर अरु आयाम हुँदैन। तर फोरडी, सिक्सडी र एटडीसम्मका चलचित्र देखाइने सिनेमाघर छन्।

दृश्यका आधारमा थ्रीडी र एटडी चलचित्रमा केही भिन्नता हुँदैन। तर यस्ता सिनेमा हलमा सिनेमासँगै संयोजन हुने गरी केही सुविधा राखिएका हुन्छन्। जस्तो, रेल चढेको दृश्यमा सीट समेत हल्लिने, हावा, गन्ध र पानी पर्ने व्यवस्था हलले मिलाएको हुन्छ। कन्ट्रोल सेक्सनमा बस्नेले त्यसको समयतालिका मिलाउँछ। सिनेमा हलमा राखिएका भौतिक सुविधासँगै ‘डी’ बढ्दै जान्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>