रमझमबिहीबार, बैशाख ३, २०७२
२०७२ मा कलाः नयाँ प्रस्तुति, नयाँ प्रविधि
-सजना बराल
रंगकर्म, चलचित्र र संगीत क्षेत्रको अबको चुनौती मौलिकता संरक्षण गर्दै प्रस्तुतिमा नयाँपन दिनु हुनेछ।
अहिले काठमाडौंका मण्डला, सर्वनाम, शिल्पी, थिएटर भिलेज र थिएटर मल पाँचवटै नाटकघरमा नियमितजसो नाटक मञ्चन भइरहेका छन्। दर्शकको संख्या पनि बढिरहेको छ।
खुशीको कुरा भने नयाँ वर्ष २०७२ मा उपत्यकाका भक्तपुर र ललितपुरमा तीन–चार वटा नाटकघर थपिने सम्भावना छ। अन्य शहरमा पनि मञ्चन विस्तार गरिंदैछ। रंगमञ्चको विस्तारसँगै प्रस्तुतिमा स्थानीय कथा र कलाकारले प्राथमिकता पाउने छन्।
रंगकर्मी सुनिल पोखरेल दर्शक बढ्नु र प्रस्तुतिमा पनि विविधता आउनुलाई रंगकर्मकै उपलब्धि मान्छन्। भन्छन्, “नयाँ कलाकार मात्र होइन, मञ्चन शैली अझ्ा परिस्कृत हुनेछ। सजावटमा ध्यान दिइनेछ।” टिकिरहने संघर्षबाट पार पाएपछि मात्र दस्तावेज, विद्यालय नाटक जस्ता गम्भीर पक्षतर्फ सोच्ने बेला आउने पोखरेल बताउँछन्।
नयाँ विधाको पालो
चलचित्र निर्देशक निश्चल बस्नेत पछिल्ला केही वर्षहरूमा मौलाएको विधागत चलचित्र निर्माण प्रक्रिया २०७२ सालमा झांगिने तर्क गर्छन्। चलचित्रको कथावस्तु वा ‘टे्रन्ड’ यसै भन्न नसकिए पनि २०७२ सालले नयाँ विधा सिर्जना गर्ने बस्नेतको दाबी छ। “बलिउड–टे्रन्डलाई पछ्याउनेहरू मात्र होइन, केही फरक गर्न खोज्नेहरू पनि सुझबुझका साथ आइरहेका छन्, त्यसैले नयाँ वर्ष सम्भावनाको वर्ष हुनेछ”, उनी भन्छन्।
बजार सीमित भए पनि प्रत्येक साता दुई–तीन वटा चलचित्र रिलिज भइरहेका छन्। तीमध्ये अधिकांश घाटामा जान्छन्। तर पनि निर्माताले हरेश खाएका छैनन्।
तर, अब यस्तो दिन सकिने पाका निर्देशक नीर शाहको बुझाइ छ। “बजारले थेग्नै नसक्ने बग्रेल्ती चलचित्र बनाइएका छन्, २०७२ सालमा यो क्रम धेरै हदसम्म रोकिनेछ”, शाह भन्छन्। तर, निर्देशक बस्नेत भने चलचित्र निर्माणको गति रोकिने छाँट देख्दैनन्।
क्युएफएक्स हल मार्फत नेपालमा डिजिटल प्रोजेक्सन शुरु गरेका भाष्कर ढुंगाना २०७२ सालमा ललितपुरको पुल्चोक, काठमाडौंको ठमेल र चितवनको नारायणघाटमा पनि नयाँ हल खोल्दैछन्। “मल्टिप्लेक्सको विकास जरुरी छ”, उनी भन्छन्, “नेपाली चलचित्रको व्यापार कसरी बढाउने भन्नेबारे अध्ययन पनि गर्नेछौं।”
चलचित्र ‘सुन्तली’ को निर्देशन तथा निर्माण गरेका ढुंगाना आउने दिन युवा लक्षित चलचित्रले प्राथमिकता पाउने बताउँछन्। निर्देशक शाहको योजनाचाहिं मौलिकता केन्द्रित चलचित्र निर्माणतिरै छ। आशा गरिएका चलचित्र समेत चित्तबुझ्दो नभएपछि निराश दर्शक २०७२ मा पुनः पुरानै धारका चलचित्रतर्फ फर्कन सक्ने निर्देशक बस्नेतको अनुमान छ। “परिवर्तन नै त नहोला तर पृष्ठभूमि भने बन्नेछ”, उनी भन्छन्।
प्रविधिप्रेमी श्रोता
बीचमा अलि सुस्ताए जस्तो देखिएको सुगम संगीत २०७२ सालमा फेरि सुनिन थालिनेमा गायक दीप श्रेष्ठ आशावादी छन्। “बेला–बेला नयाँ–नयाँ ह्वीम आउलान्। चलनचल्तीका, छोटा–मीठा शब्द र सरल लय भएका गीत चल्लान्”, श्रेष्ठ भन्छन्।
नयाँ वर्षमा प्रतिलिपि अधिकारबारेका समस्या सुल्झने सम्भावना देखिएको बताउँदै श्रेष्ठ यसो हुनसके स्टेजकै भरमा गुजारा चलाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँछन्।
सांगीतिक समूह ‘नेपथ्य’ का गायक अमृत गुरुङ आगामी वर्ष नेपाली संगीतकर्मी यूट्युबमा झनै सक्रिय हुने बताउँछन्। “केही गर्छु भन्नेका लागि यूट्युब ठूलो प्लेटफर्म बनेको छ”, उनी भन्छन्, “संगीतकर्मीले युट्युबको तागत पनि बुझिसकेका छन्।”
नेपथ्य स्वयंले भने वेम्बले झै अन्य प्रतिष्ठित मञ्चमा प्रस्तुतिको तयारी गरिरहेको उनी बताउँछन्।
संगीतकार न्ह्यू बज्राचार्य भने सात–आठ वटा गीतको अल्बम निकाल्ने भन्दा एउटा मात्रै म्युजिक भिडियो निकाल्ने लहडले नयाँ वर्ष प्रभावित हुने लक्षण देख्छन्।
संगीत आइट्युन्स वा एपमा राख्ने क्रम मौलाउने बताउँदै उनी भन्छन्, “नीति–नियम कडाइका साथ लागू भएपछि मात्रै संगीतको बजार ठाउँमा आउँछ, नत्र झनै धरासायी हुन्छ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
