रमझमशुक्रबार, बैशाख ४, २०७२
‘कुमारजी आज्ञा गर्नुहुन्छ’
वरिष्ठ नाट्यकार अशेष मल्लको परिकल्पनामा महिला हिंसा विरुद्ध तयार गरिएको ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नामक नाटक आजदेखि मञ्चन भएको छ ।
कालिकास्थानस्थित सर्वनाम थिएटरमा २३ वैशाखसम्म सञ्चालन हुने नाटकमा महिला हिंसाबिरुद्ध समाजलाई एकीकृत गर्न सन्देश प्रस्तुत गरिएको छ ।
कलाकार ओममणि शर्मा, श्याम खड्का, साधना भण्डारी, भीम खड्कालगायतले भूमिका गरेको नाटकको निर्देशन परिकल्पनाकार स्वयम् मल्लले नै गरेका छन् । करिब एक घण्टाको नाटकमा श्रीस्वस्थानी कथाको मिथकलाई आधार बनाएर परम्परागतरुपमा प्रचलनमा रहेका नकारात्मक भावनालाई छोडी समयसापेक्ष सोचमा परिवर्तन गर्नुपर्ने शिक्षा दिइएको छ ।
नाटककार मल्लले २१ औं शताब्दीको अन्तर्राष्ट्रिय परिवेशमा वैज्ञानिक आविष्कारले मानवसभ्यता तथा विकास चरम उत्कर्षमा पुगेको भए पनि नेपाली समाज अझै पनि स्वस्थानी युगको सोचमा रहेको बताए ।
उनले ७० वर्षका शिव भट्ट ब्राम्हणले सात वर्षकी गोमालाई गरेको दुव्र्यवहारलाई अहिले पनि नेपाली समाजले आस्थाका साथ एक महिनासम्म वाचन गर्ने गरेकोमा दुःख व्यक्त गर्दै महिला तथा बालबालिका प्रत्येक दिन बलात्कृत भएकोमा त्यसको न्यूनीकरणका लागि सो नाटक सिर्जना गरिएको बताए ।