टिप्पणीशनिबार, बैशाख ५, २०७२

रुसतिर अंग्रेजको अर्जुनदृष्टि (इतिहास)

ज्ञानमणि नेपाल

काठमाडौंस्थित अंग्रेज रेजिडेन्टले नेपालको माध्यमबाट रूसको हालखबर बुझ्न महाराज वीरशमशेरसँग खमख गरिबस्थे।

त्यसबेला ल्हासामा रूसको प्रभाव बढेको चर्चा हिन्दुस्तानमा बराबर चल्थ्यो। रूसले तिब्बतमा आफ्नो प्रभाव फैलाउने हिसाबले एजेन्टहरू पठाएका छन् रे भन्ने खबर सुनिएको हुँदा महाराजलाई यस विषयमा के कति थाहा छ, ल्हासास्थित नेपाली वकीलले केही खबर पठाएका छन् कि भनेर रेजिडेन्टले सोध्थे।

महाराजले ‘वकीलले त्यस्तो कुरो लेखेका छैनन्, रूसी वा युरोपियनलाई प्रथमतः ल्हासा आउनै दिंदैनन्’ भनेर सं. १९५६ जेठ वदि ६ मै जवाफ दिएका थिए। तर, ब्रिटिश सरकारबाट तागेता आएपिच्छे रेजिडेन्टले ढिपी लाउँथे।

महाराजले चीफसाहेब समेतलाई राखेर वकीललाई यो कुराको बेलीविस्तार दिन बडापत्र पठाएका थिए। वकीलले रूसीहरू ल्हासा आए/नआएकोबारे के लेखे, त्यो स्पष्ट छैन, तर रेजिडेन्टले खै गरिरहन्थे।

भारतमा कताबाट ल्हासामा रूसको गतिविधिको चर्चा चल्थ्यो, त्यसमा ब्रिटिश सरकारको अर्जुनदृष्टि रूसतिरै परिराखेकै थियो। डेढ महीनापछि फेरि एउटा विश्वासको कुरो बुझनुछ भनेर रेजिडेन्टले प.क.ज. (पश्चिम कमाण्डिङ जर्नेल) सँग संवादको समय मागे।

उनी नेपालको अन्तरकुन्तर बुझेर स–साना कुरा पनि आफ्नो सरकारलाई जाहेर गर्दथे, आफ्नो रायसल्लाह पनि पेश गर्दथे। उनी ‘आफ्नो सरकारमा लेख्दैनन् भने त्यस्ता वकीलको काम के त?’ भन्दै नेपालका अधिकारीहरूलाई फुर्क्याउँथे पनि।

यताका वकील भने ल्हासामा भित्री कुरा बुझन ध्यान दिंदैनथे, नेपालको बेपार–बिजनेसकै कुरामा चासो राख्थे। त्यसबेला ल्हासामा नेपालबाट गएका माल त्यति चल्ती हुन छाडेको थियो। दार्जीलिङतिरको बाटोबाट दिगर्चा हुँदै थोरै दिनमा ल्हासा पुगेको माल सस्तो पर्थ्यो।

वास्तवमा महाराजले रेजिडेन्टलाई ठीकै भनेका थिए। चीन–भोटका मान्छेहरू युरोपेलीहरूलाई मन पराउन्नथे। अघि ईसाइ धर्म प्रचारको लागि समुद्री मार्ग हुँदै चीन उत्रेका पादरीहरूलाई चीन सरकारले धर्मप्रचार त के बस्न पनि दिएको थिएन। ल्हासामा पनि आदरसत्कार नपाएका उनीहरू नेपाल पसेका थिए।

नेपालमा पहिले यिनले सात समुद्र पारबाट आएका साधु हुन् भनेर आदरै पाए, धर्म प्रचारका लागि तीन शहरमा चर्च पनि खोले। पछि धर्मको नाउँमा राजनीति गर्न थालेकोले पृथ्वीनारायण शाहले निकालिदिए। चीन–भोटमा यिनीहरूलाई रातो टाउके, समुद्री भूत भनिन्थ्यो। नेपालमा मर्कट, फिरङ्गी भनिए।

रूसी–यूरोपीयहरू ल्हासामा गोप्य रूपले आएका भए नेपाली वकीलले भेउ पाउने कुरा थिएन। तिनीहरूलाई ल्हासालीले टिक्न, बस्न पनि दिन्नथे।

१९५० सालतिर एक–दुई जना रूसी आउँदैछन् भन्ने सुईंको पाउनासाथ ल्हासाले चार पाँच दिनको बाटो परैबाट तिनलाई प्यादा लाएर बेइज्जती साथ फर्काइदिएको थियो। त्यसबेला विदेशीको विरोधमा असन्तोषको लहर उठ्दा पेचिङमा रहेका विदेशी दूतावासमा राजदूतहरूलाई बन्धक बनाएकोमा ठूलो हलचल मच्चिएको थियो।

त्यो बेला अब ब्रिटिशले चीनमा युद्ध छेड्छ, भोट पनि लिन्छ भन्ने चर्चा चलेको थियो। यसबारे प.क.ज.ले सोध्दा रेजिडेन्टले ‘चीनको त्यस्तो आन्तरिक कुरालाई लिएर ब्रिटिशले युद्ध गर्दैन, नोक्सानी भराएर लिन्छ, वार्ताबाटै राजदूतलाई पनि छुटाउँछ’ भनेका थिए।

उनले ‘भोटलाई त झन् हाम्रो सरकारले लिने कुरै आउँदैन, एक करोड खर्च गरेर दशौद बीशौद पनि नआउने काम कसैले गर्छ?’ भन्दै आश्वस्त पारेका थिए।
________________________________________
ल्हासामा शंका
श्री ३ महाराजबाट ल्हासामा रह्याका हाम्रा वकील कप्तां इन्द्रध्वज पाडे क्षेत्रीके–
उप्रांत रूसका केही मानिसहरू तहां ल्हासामा अथवा ताहा ल्हासाका आसपासका मुलुक् आई बसि आफ्ना मतलब साध्य गर्ने उद्योगमा लाग्याका छन् भन्यां देशतर्फबाट यांहा खबर आयाको छ. तिमीले यस विसयेको हालखबर केहि लेखी पठायाका छैनौ. तसर्थ. यो बडापत्र पुग्नीमात्र यो माथि लेखियाको कुरो सांचो हो होइन प्राइवेट तवरसंग बेस गरि बुझि हेर्दा रहेछ भन्या तहा कतिजना मानिस आइ बस्याका छन्. कुन हिसाबको काम गर्न लागी रह्याका छन्. खुलासा हाम्रो हजुर्मा जाहेर गरि पठाउन्या काम गर्नु सो खबर ठिक रहेनछ गलवामात्र रहेछ भन्या पनि पक्का गरि बुझि होइन रहेछ भनि जाहेर गर्ने काम गर

कम्यांडर ईन् चिफबाट थपिबक्सेको…

अथवा आउदा रोकियाका छन् भन्या काहा काहा रोकियाका छन्. सो खबर ठीक रहेनछ भन्या पनी पक्का गरी बुझी होइन रहेछ भनी जाहेर गर्ने काम गर

इति सम्बत् १९५६ साल मिति जेष्ठ वदी ९ रोज ५ शुभम् ल्हासामा रूसका मान्छे आयाका छन् भन्ने कुरामा रेजिडेन्टले खै गरेको… अंग्रेज सरकारले तिब्बत लिदा फाइदा नहुने र भोट चीनलाई यथावत् राख्ने आदि कुरा …

सन् १९०० अगस्तको चार तारिख मुताबीक ५७ साल श्रावण सुदी ७ रोज ७ मा गाडाको कुरा भै सकेपछि कुरा भयाको, यस्को सबै कुरा लेखियाको कागज रेजिडेन्टसंग कुराकानीको मीसलमा छ…

श्री प.क.ज.बाट मर्जि भयाको…
अर्को एउटा जरुरी र विस्वासको कुरा गर्नुपर्छ भनि तपाईले मलाई चिठी लेखी पठाउनुभयाको के कुरा हो…६

रजिडंट साहेबले बोलेको…
म याहां रजिडंट भै आयाको ९ महिना भयो. आजसम्म मैले कौनै कुरामा दुख दियाको छैन. अैले केही खबर जांनको इच्छा भयाको हुनाले तपायींसंग केही कुरा सोधदछु…७

ल्हासामा रहेका तपायींका वकीलसंग महाराजको बराबर लेखापढी हुदै रहदैन, ताहा नीजले केही खबर पठायाका छन् की?…८

श्री प.क.ज.– लेखापढी त छ. तर दस्तुरै बमोजीमको डाक नहुनाले चीठी आउनालाई डेढ मैन्हा नभै पुग्दैन. तेसो भया तर पनि पायाको खबर दिदै गर्छन्…९

रेजिडंट– कोहि युरुपेनहरू रूसकै मानीस भनु. हाल ल्हासामा आयाका छन्की. यो कुराको हौरा केही चलेको छ…१०

श्री प.क.ज.– यो कुरा सांचो होला जस्तो लाग्दैन्.
आफ्ना मुलुकभीत्र भोटेहरूले युरुपेनहरूलाई कैह्लै बस्न दिदैनन्. ६ वर्ष जति अघि रुस्को १।२ जना मानीसहरू ल्हासा देखी ४। ५ वाससम्म नजिक आईपुगेछन्. भोटेहरूले साह्रै बेहिसाब गरी फर्काई दियेका थिये. यो खबर माहाराजका हजुरमा बीन्ती चढाउला.

युरुपीयनहरूले ल्हासामा आयाको खबर केही लेखी आयो भने तपाईलाई अलवत् इत्तलायें दीबक्सीनेछ भन्ने पक्का मान्नुहोला…११

रेजिडंट– कोही युरुपेनहरू ल्हासामा आयाका छन कि भनि तपाईहरूका वकीललाई लेखी सोधी पठाउनु भया हुदो हो…१२

श्री प.क.ज.–
खबर सांचो हवैन. सांचो भया पनि हाम्रा वकीलैले तेस कुराको खबर पाउनु मुस्कीलै होला कि. किन भने सो कुरामा उस्तो ध्यान् राखदैनन्…१३

रेजिडंट–
यस्तो कुरा पनि गर्दैनन् भने तपायींहरूको वकीलको ताहा बस्नाको काम के हो…१४

श्री प.क.ज.– आफ्नु मुलुकको फाइदा हेर्नु. बेपार बढाउने उद्योग गर्नु. नीजको काम हो. तर हाल बेपार साह्रै घट्तै आयाको छ. दार्जेलिङबाट बेपार खुलनाले सो बाटो लगेको माल १०।१२ बासैमा ल्हासा पुग्ने हुनाले मैन्हा दिन लगाई काठमाडौंबाट लगेको मालको बिक्री कम हुन गयाको छ. तपायींले भंनु भया जस्तो खबर हालका वकील उस्तो जागीरिया नहुन्यले पाउनन् भन्या लाग्दैन…१५

रेजिडंट–
तैपनि सोधी पठाउनुहोस्. औ चिन्मा गडबड भयाको विसयमा लासामा कस्तो राये छ. सो कुरा पनी सोधी पठाउनुहोला…१६

श्री.प.क.ज.–
हुन्छ म महाराजका हजुर्मा बिन्ती चढाउला…१७
टिबेट बृटिश गभरमेन्टले हात लाउनुपर्छ भन्ने हीसाबको कुरा येक्पल्ट केही दिन् अघि इंगलीसमेनमा हो कि पाइनीयरमा हो. छापीयाको जस्तो लाग्छ. यस्मा तपायींको के राय छ…१८

रेजिडंट– टिबेट हाम्रो गवरमेन्टले कदापि लिने छैनन्. सो मुलुक ली फाइदा हुदैन. मुलुकको आम्दानीले मुलुकको बंदोबस्तको खर्च ढाक्ने छैन. करोड रुपैयां खर्च गरी लडाईं गरी खर्च भयाको दसौद पनि सो मुलुकबाट आउने छैन. हाम्रो मतलब हिन्दुस्तानको सीवाना हिउले छोपेको हिमालयको हिमालपहाडै कायम रहोस् भंनेछ…१९

श्री प.क.ज.– चीन् तर्फको विसयेमा तपायीको के राये छ. यस्को विसयेमा तपायींहरूलाई थाहा भया जति हामीहरूलाई थाहा हुदैन. चिन्मा अरु बादशाहहरूले के के गर्ने हिसाब छ…२०

रेजिडंट– चिन्लाई जस्ताको तस्तै राख्ने हाम्रा गवरमेन्टको मतलब छ. घेरामा परेका एम्बेसडरहरूलाई छोडाइ विद्युत गर्नेहरूलाई सजाय दी नोक्सानी भराउने हिसाब मात्र हुन जाला. मुलुकै हात लाउने हिसाब हुने देखिदैन.

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>