रिपोर्टसोमबार, चैत्र २२, २०७२

किन रुन्छन्, नेताहरू ?

सइन्द्र राई

Haribol Gajurel
१३ चैतको साँझ् नेपाली कथानक चलचित्र ‘राहदानी’ हेरेर बाहिरिने क्रममा कृषिमन्त्री हरिबोल गजुरेल डाँको छाडेर रोएको दृश्यले राम्रै चर्चा पायो । चलचित्रमा समेटिएको गरीब किसानको ‘गाई मरेको’ दृश्यले आफूलाई रुने बनाएको प्रतिक्रिया मन्त्री गजुरेलले दिंदै आएका छन् । चलचित्रका दृश्यहरूले कोमल हृदय भएका दर्शकलाई रोएर मन हल्का पार्न प्रेरित गरे पनि टीभी क्यामेरा अगाडि मन्त्रीको रोदन अस्वाभाविक भएको एमाओवादीका एक नेता बताउँछन् ।

चन्द्रशमशेरदेखि हरिबोलसम्म

राणा प्रधानमन्त्री चन्द्रशमशेर वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको उद्घाटन गर्दा ‘आज मैले आफ्नै खुट्टामा बन्चरो हानें’ भन्दै रोएको इतिहास पढ्न पाइन्छ । पंचायतकाल र त्यसपछि पनि राष्ट्रिय पंचायत, दलको बैठक, सार्वजनिक मञ्च र भेटवार्ताहरूमा थुप्रै नेता रोए । २०४३ सालको राष्ट्रिय पंचायत निर्वाचनमा जनपक्षीय उम्मेदवार बनेर जितेका पद्मरत्न तुलाधर राष्ट्रिय पंचायतको बैठकमै रोए । जनताको दुःखको चर्चा गर्दा रोइहाल्ने तुलाधर बहुदलीय व्यवस्था स्थापनापछिको राजनीतिक सभाहरूमा पनि थुप्रै पटक भक्कानिए । कम्युनिष्ट राजनीतिकर्मी, जनपक्षीय प्रतिनिधि हुँदै अहिले जनजाति अगुवा बन्न पुगेका उनी सार्वजनिक मञ्चहरूमा रुन छाडेका छैनन् ।

नेपाली राजनीतिमा रुवाइको कारण पनि चर्चित हुने अर्का पात्र तारानाथ रानाभाट हुन् । नेपाली कांग्रेसका महामन्त्री र प्रतिनिधिसभाका सभामुख बनेका उनी ४ असार २०५९ मा कांग्रेस विभाजन हुँदा र २०६२ को शाही ‘कु’ का वेला सार्वजनिक रूपमा रोए । त्यस्तै, २०४७ पछि संसदीय राजनीतिमा समाहित भएको नेकपा (एमाले) मा सार्वजनिक रूपमा पनि रुने नेताहरू छन् । तीमध्ये प्रदीप नेपाल बढी रुनेमा पर्छन् । यद्यपि, पार्टी नेता वा आफन्तजन गुमाउँदा बाहेक राजनीतिक सन्दर्भमा सार्वजनिक मञ्चमा कांग्रेस, एमालेका नेताहरू रोएको दृश्य केही वर्षयता देखिएको छैन ।

एमाओवादीमा भने अध्यक्ष पुष्पकमल दाहालदेखि हरिबोल गजुरेलसम्मको रुवाइले निरन्तरता पाएको छ । अध्यक्ष दाहाल भाषणकै क्रममा आँसु झर्नमा अग्रस्थानमै छन् । पार्टीका कलाकारहरूले प्रस्तुत गरेको नाटक हेर्दा उनी रोएको समाचार र तस्वीरहरू सशस्त्र द्वन्द्वकालको एउटा चर्चित विषय थियो । त्यसयता पनि उनी सार्वजनिक रूपमा रुन छाडेका छैनन् । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा नेताहरू समाजका पथप्रदर्शक समेत हुने भएकाले सार्वजनिक स्थलमै रुँदा आम जनतालाई हित नहुने बताउँछन् । नेताहरू रोएपछि परिस्थिति अवास्तविक भएर भावनातिर धकेलिने उनको भनाइ छ । तर, मनोरोग विशेषज्ञ कपिलदेव उपाध्याय आँसु भावनाको अभिव्यक्ति भएकाले कसैको रुवाइलाई अस्वाभाविक मान्न नहुने बताउँछन् । (हे.बक्स)

स्वार्थको हतियार
‘जनयुद्ध’ को नाममा सशस्त्र राजनीति थालेको १ फागुनको अवसरमा हरेक वर्ष माओवादीका नेताहरू रुने गर्छन्– समूह र छुट्टा–छुट्टै पनि । शान्ति प्रक्रियामा आएपछि ६ टुक्रामा विभाजित उनीहरू विगत सम्झ्ेर वा १० वर्षको अवधिमा मारिएकाहरूका आफन्तलाई भेट्दा रुनु अस्वाभाविक होइन पनि । त्यसबाहेक सार्वजनिक मञ्चहरूमै अन्य प्रसंग निकालेर पनि उनीहरू रुने गरेका छन् ।

राष्ट्रिय विपत्तिमा राजनेताहरू रोएको दृश्य संसारभर नै देखिन्छ र त्यस्तो आँसुले सबैलाई बाँध्न नै सहयोग गरेको हुन्छ । तर, एमाओवादीका नेताहरूको रुवाइमध्ये १४ जेठ २०६९ मा संविधानसभा विघटन हुँदाको नारायणकाजी श्रेष्ठको रुवाइलाई मात्र केही हदसम्म राष्ट्रिय चिन्तासँग जोड्न सकिन्छ । एमाओवादीबाट फुटेर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा एमाओवादी नेताहरू जनमत आफूतिर तान्ने राजनीतिक स्वार्थले सार्वजनिक स्थलमा रुने गरेको बताउँछन् । उनी भन्छन्, “विगतमा खसेका नेताहरूको आँसु पनि राजनीतिक स्वार्थका लागि मात्र थियो भन्ने प्रमाणित भइसकेको छ ।”

उनका अनुसार, विगतमा माओवादीभित्र अध्यक्ष दाहाल र अर्का नेता बाबुराम भट्टराईबीच अन्तरसंघर्ष चल्दा एकले अर्कालाई माथ गर्न दुवै रुने गर्थे । दाहालले २०५३ सालमा पार्टीका अर्का बलिया नेता रामबहादुर थापालाई कार्बाही गर्ने निर्णय रुँदै सुनाउँदा धेरैले दाहाललाई साथ दिएका थिए । २०५५ मा भएको चौथो विस्तारित बैठकमा भट्टराईले दाहालकै सिको गरे । दाहालले पेलेको भन्दै डाँको छाडेर रोएपछि पार्टीका धेरै नेताले भट्टराईलाई समर्थन गरेको उक्त बैठकमा सहभागी एक नेता बताउँछन् । “त्यसपछि त आफ्नो पक्षमा माहोल बनाउने गजबको हतियारका रूपमा ‘आँसु संस्कृति’ विकसित भयो”, नाम उल्लेख गर्न नचाहने ती नेता भन्छन् ।

माओवादीमा रुने प्रवृत्तिको थालनी भने पुराना नेता मोहनविक्रम सिंहबाटै भएको थियो । २०४० सालमा सिंहलाई कार्बाहीको निर्णय हुँदा पार्टीमा रुवावासी चल्यो, जसले सिंहका समर्थक बढाए । आफू गम्भीर बनेको देखाउन रुने परम्परा बसेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव थापा बताउँछन् । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल नेताहरू पनि मान्छे नै भएकाले उनीहरूको आँसुलाई विशेष रूपमा अथ्र्याउन नहुने बताउँछन् । तर, सार्वजनिक मञ्चमै रोएर तथ्यहरूलाई भावनातिर धकेल्न पनि नहुने उनको भनाइ छ ।

नेताहरूले देश हितको अगाडि व्यक्तिगत चोटहरू सहन सक्ने सामथ्र्य राख्नुपर्नेमा लाभको लागि आँसु खसाल्ने प्रवृत्ति बढेको देखिन्छ । रानाभाटले रोएरै नेपाली कांग्रेसमा आफ्नो राजनीति बचाए भने तुलाधर अहिलेसम्म आँसुको मनोविज्ञानमार्फत सहानुभूति बटुल्ने प्रयत्न गर्दैछन् । राजा ज्ञानेन्द्रको ‘कु’ पछि सात दलले सडकमै चलाएको संसद्को सभामुख बनिदिन भएको आग्रहलाई रानाभाटले अस्वीकार गरेका थिए । त्यसवेला ‘प्रधानमन्त्री बन्न राजाले राखेको प्रस्ताव अस्वीकार गर्दा पनि आफूलाई राजावादीको आरोप लगाइएको’ भन्दै रानाभाट सार्वजनिक रूपमा रोएका थिए ।

आँसुको मनोविज्ञानमार्फत सहानुभूति बटुल्न अन्य विधिभन्दा सजिलो छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सडक दुर्घटनामा मृत्यु भएपछि फैलिएको समवेदनाको मतले राजनीतिको बाटो खोलेको विद्यादेवी भण्डारीलाई राष्ट्रपतिसम्म पु¥यायो । समवेदनामार्फतै सांसद्, मन्त्री, प्रधानमन्त्री बन्ने नेता÷नेतृहरू थुप्रै छन्, दक्षिणएशियामा । त्यस्तै, पिताको असामयिक निधनपछि राजनीतिक नेतृत्वमा आएका पुत्रहरू पनि छन् । यसमा दक्षिणएशियाको सामाजिक मनोविज्ञान प्रतिबिम्बित छ । अपवाद जहाँ पनि हुनसक्छ, तर नेपालका नेताहरूका प्रायशः रुवाइमा व्यक्तिगत स्वार्थ कारक रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव थापाको विश्लेषण छ ।
Kapil Dev Upadhyay‘अभिनयबाट पनि रुन सकिन्छ’
कपिलदेव उपाध्याय, मनोरोग विशेषज्ञ

बाह्य तथा आन्तरिक परिस्थिति अनुसार हाँस्ने, रिसाउने, डराउने, आक्रोशित हुने जस्तै रुने पनि एउटा भावनात्मक अभिव्यक्ति हो । रुनु कमजोरी होइन, कमजोरीको अभिव्यक्ति हो । भावनालाई दबाएर राख्न सक्ने बलियो हृदयका मानिस हत्तपत्त रुँदैनन् । महिलाको तुलनामा पुरुषमा त्यो क्षमता बढी हुन्छ । रोएपछि मन हल्का हुन्छ । रुनु स्वास्थ्यका लागि पनि राम्रो हो, हाँस्नु जस्तै । आफन्त गुम्दा, पीडादायी घटना हुँदा, विपत्मा पर्दा मानिस रुन्छन् । विस्तारै सहनक्षमताले जितेर रोइरहने अवस्था हट्दै जान्छ । एउटै घटना सम्झिएर बारम्बार रोइरहनु वा सार्वजनिक रुपमा पटक–पटक रुनु चाहिं रोग हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>