अर्थ/बजारबिहीबार, भाद्र ६, २०७०
मोटरसाइकल आयातमा ३५ प्रतिशत वृद्धि
मोटरसाइकल बिक्री गर्ने कम्पनीले प्रवद्र्धनात्मक बजार विस्तार गरेका कारण मोटर साइकलको आयात र विक्रीमा वृद्धि भएको हो । मुलुकमा आयात हुने सवारी साधन मध्ये ९० प्रतिशत वीरगञ्जबाटै भित्रिन्छ । विरगञ्ज नाकाबाट उच्च आयात हुने प्रमुख दश वस्तुमध्ये मोटरसाइकल दोस्रो स्थानमा पर्दछ ।
आर्थिक वर्ष २०६८/०६९ मा रु ५ अर्ब ४२ करोड मूल्य बराबरका ७८ हजार ९८५ वटा मोटरसाइकलको आयात भएकोमा आव ०६९/७० मा रु ७ अर्ब ७४ करोड हजार मूल्य बराबरका एक लाख १५ हजार ६०६ वटा मोटरसाइकल आयात भएको छ ।
मोटरसाइकलको आयातमा भएको वृद्धिसँगै राजस्व असुलीमासमेत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष मोटरसाइकलको आयातबाट भएको राजस्व असुलीमा ५३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा मोटरसाइकलको आयातबाट रु ५ अर्ब १७ करोड ९५ लाख ११ हजार राजस्व असुली गरेकोमा गत वर्ष त्यसमा वृद्धि भई रु सात अर्ब ९२ करोड ९३ लाख ८९ हजार राजस्व असुली भएको छ ।
मोटरसाइकल विक्रेता रोहित इन्टरप्राईजेजका अनुसार, तरलता अभावका कारण बैंक तथा वित्तिय संस्थाले कर्जामा नियन्त्रण गर्न थाले पनि मोटरसाइकल बिक्री गर्ने कम्पनीको प्रवद्र्धनात्मक बजार विस्तार योजनाले यसको बिक्रीमा प्रतिकूल प्रभाव पारेको देखिएको छैन् ।
बजारमा तरलताको अभावसँगै सोधनान्तर घाटा उच्चदरले बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा कडाइका साथ नियन्त्रण गर्न थालेको थियो ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामहरी अर्यालले भने, “महँगा चार पाङ्ग्रे हलुका सवारी साधनको तुलनामा मोटरसाइकलमा धेरैको पहुँच र किन्न सजिलो भएकाले यसको आयात निरन्तर बढ्दै गएको हो ।”
नेपाली बजारमा विशेषगरी होन्डा, हिरो, यामाहा, सुजुकी, टिभिएस, बजाजका मोटरसाइकलको बिक्री अत्यधिक हुने गरेको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
