रमझमशनिबार, माघ ४, २०७०

समाजसेवी सुन्दरी

हिमालखबर

रिहाविलिटेसन होमका बालबालिकाहरुसँगै खुस्बु

पाँच वर्षअघि काठमाडौंको फर्पिङमा ‘सपना आमाघर’ खोलेकी झापा सुरुङ्गाकी खुस्बु राजधानीको विशालनगरमा पनि ‘स्ट्रिट चिल्ड्रेन रिहाविलिटेसन होम’ स्थापना गरेर ३५ जना सडक बालबालिकाको अभिभावक बनेकी छन्।

“अनाथहरूलाई पालनपोषण गर्नुभन्दा सडक बालबालिकालाई सम्हाल्नु चुनौतीपूर्ण छ, तर मैले यसैमा आनन्द लिइरहेकी छु”, खुस्बु भन्छिन्।

उनी अध्यक्ष रहेको संस्था मानव कल्याण समूहले सडकमा जीवन विताइरहेका बालबालिकालाई डेन्ड्राइट लगायतका ड्रग्स्बाट छुटाएर पढाउने, बढाउने र रोजगार बनाउने काम थालेको हो– नौ महीनाअघिबाट। बेलायतको किङ्सटन युनिभर्सिटीबाट एमएस्सी खुस्बुले उता जानुअघि नै समाजसेवामा हात हालेकी थिइन्।

समाजसेवामा अहिलेसम्म दाताको सहयोग नलिएको बताउँदै उनी भन्छिन्, “परिवार, आफन्त, साथीभाइ र बेलायतको आफ्नै व्यवसायबाट धानिरहेकी छु, नियमित रुपमा मासिक रु.१००० सहयोग गर्ने २५ जना साथी छन्।”

झापा, सुरुङ्गाका गरीब परिवारका लागि २० वटा रिक्सा किनिदिएकी खुस्बुले गरीबलाई निःशुल्क सेवा दिने शर्तमा सुरुङ्गाकै रेडक्रस उपशाखालाई एम्बुलेन्स दिएकी छन्। १२ जना वृद्धवृद्धाले आश्रय लिएको माइधामको कृष्ण प्रणामी मन्दिरलाई पनि नियमित सहयोग गरिरहेकी छन्, उनी।

यसैगरी, आफू पढेको कन्काई माविमा हजुरबुबाको नाममा गरीब विद्यार्थीका लागि रु.१ लाखको कोष स्थापना गरेकी छन्। अब मोडलिङमा नफर्कने बताउने खुस्बुले हालै रिहाविलिटेसन अफ स्ट्रिट चिल्ड्रेन बिफोर एण्ड आफ्टर नामक डकुमेन्ट्री पनि बनाएकी छन्।
ऋषिराम कट्टेल
तस्वीरः बिक्रम राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>