रिपोर्टबिहीबार, बैशाख १८, २०७१

सफ्टवेयर एपमा कम छैनन् नेपाली

हिमालखबर

– गणेश आचार्य

एलिजा र चन्द्रमान श्रेष्ठ।

विदेशी डेभलपरहरूले बनाएको एमआरआई गर्ने मेशीनको अभाव पूरा गर्ने मोबाइल एप्लिकेशनले भूटानमा नाम र दाम दुवै कमायो। चीनमा भ्रष्टाचारी ठहर भएकाहरूको टाउकोको चित्र भएको अर्को एप्लिकेशनले युवाबीच ‘तैंले कति जना भ्रष्टाचारीको टाउको फोडिस्?’ भन्दै कुरा गर्ने फेशन चलायो।

उडिरहेको प्लेन या गुडिरहेको गाडीको सबै स्पेशिफिकेसन स्क्यान गर्ने एप्लिकेशनले पनि ठूलो सफलता पायो, यसबीचमा। मोबाइल एप्लिकेशनको मामलामा नेपालमा पनि निकै सिर्जनशील कामहरू भइरहेको छ। तीमध्ये कोही व्यापारिक छन्, कोही सामाजिक।

सफ्टवेयर डेभलपर एलिजा र चन्द्रमान श्रेष्ठको जोडीले लोडसेडिङको समस्यालाई डिजिटलाइज गरेर बिजुली जाने समयतालिका याद नहुने वा प्रत्येक पटक फोटोकपी गर्नुपर्ने झमेला हटाएको छ।

लोडसेडिङ सूचना

एलिजाले सफ्टवेयर डेभलपर नै रहेका आफ्ना श्रीमान् चन्द्रमान श्रेष्ठसँग मिलेर बनाएको नेपाल विद्युत् प्राधिकरणको तालिका हेर्ने एप्लिकेशन गुगल प्ले स्टोरमा लञ्च गरेको साता दिनमा हिट हुन थाल्दा दैनिक सयौं इमेलहरू आउन थाले। “कतिले नयाँ सुविधा थप्न आग्रह गरे, त्यो पनि गरियो”, उनी भन्छिन्।

बत्ती जान कति समय बाँकी छ, कतिवेला आउँछ, वरिपरि बत्ती छ कि छैन जस्ता कुरा समेत थाहा दिने यो एपका करीब तीन दर्जन भर्सन अपलोड भइसकेका छन्।

नेपाल लोडसेडिङ सेड्युल नामक यो एप नेपालमा सबभन्दा धेरै चार लाख पटक डाउनलोड भएको छ। यीमध्ये तीन लाख प्रयोगकर्ताले लोडसेडिङको तालिका परिवर्तन हुँदा फोटोकपी गर्नुपरेको भए १० लाख रुपैयाँभन्दा बढी खर्च हुन्थ्यो।

यो जोडीले शुरूमा ड्रपबक्सको फ्रि स्पेश प्रयोग गरिरहेका वेला एक्कासी इमेल आयो– “यो स्पेशमा भिजिटर ट्राफिक एकदमै बढ्यो, अब हामी फ्रि स्पेश दिन सक्दैनौं।”

त्यतिन्जेल यो जोडीले आफ्नो दिनरातको मिहिनेत र गुगल प्लेस्टोरमा अपलोड गर्दाको खर्च बाहेक अरू लगानी गर्नुपरेको थिएन। अब भने पैसा खर्च नगरी नहुने भयो र रातदिन नसुती सबै युजरलाई अर्को ठाउँमा सारे।

“हिट भइरहेको स्मार्टफोन चलाउनेलाई लोडसेडिङको जानकारी थाहा पाउन स्मार्ट बनाउने प्रयासलाई बीचैमा छोड्न सक्दैनथ्यौं”, को–डेभलपर चन्द्रमान भन्छन्, “यद्यपि, लोडसेडिङ सकिएर यो एप्लिकेशन बन्द गर्नुपरेको दिन हाम्रो लागि खुशीको हुनेछ।”

गैर–नाफामुखी एप

शंकर उप्रेती

एलिजा र चन्द्रमानले यो एप्लिकेशन अरू कसैलाई बनाइदिएको भए कम्तीमा रु.८–१० लाख लिन्थे, तर आफैं लगानीकर्ता भएकोले एपमा आउने एड मार्फत मासिक बढीमा ३०० डलर कमाइरहेका छन्। यसलाई बिजनेशका रूपमा नलिएको र अरू दुई–तीन वटा गैर–नाफामुखी एप्लिकेशन डेभलपिङ गरिरहेको चन्द्रमानले बताए।

शंकर उप्रेती अर्का गैर–नाफामुखी डेभलपर हुन्, जसले बनाएका हाम्रो पात्रो, नेपाली डिक्सनरी र हाम्रो किबोर्ड एन्ड्रोइड र आईओएसमा पाँच लाखभन्दा धेरै पटक डाउनलोड भएका छन्।

अमेरिकाको सफ्टवेयर डेभलपमेन्ट कम्पनीमा काम गरिरहेका उनी भन्छन्, “विदेशमा बस्नेहरूमा हुने नेपालका चाडपर्वहरूको रुचिलाई स्मार्ट तरीकाले डिल गर्न हाम्रो पात्रो बनाएँ।”

प्रारम्भिक चरणमा यो एप्लिकेशन ठ्याक्कै भित्तेपात्रो जस्तो थियो। दिनदिनै बढेको स्मार्टनेशले अहिले यो एपमा वर्षभरिका तिथि, चाडपर्व, दिवस, जयन्ती, तिनको काउन्टडाउन, समाचार, मुद्रा विनिमय दर, सुनचाँदीको भाउ, राशिफल लगायत हेर्न सकिन्छ।

नेपाली पात्रो

दोस्रो संविधानसभा निर्वाचनताका उपे्रतीले अमेरिकाबाटै परिणामको लाइभ अपडेट गरेका थिए। उनी दैनिक कम्तीमा दुई घन्टा आफ्ना एप्लिकेशनमा नयाँ सुविधा थप्ने काममा बिताउँछन्। “व्यक्तिगत रुचिले बनाएका एप्लिकेशनले अहिले पाँच लाख नेपालीलाई सजिलो पारेको देख्दा गर्व लाग्छ” शंकर भन्छन्।

यी एप्लिकेशनबाट खासै आर्थिक फाइदा छैन, तर यसले स्मार्टफोन प्रयोग गर्ने नेपालीमाझ बनाएको साख शंकरको सम्पत्ति हो। उनले केही महीनाअघि लन्च गरेको हाम्रो किबोर्ड नामक एप्लिकेशनले कम्प्युटर या मोबाइल फोनमा टाइप गर्दा अंग्रेजी डिक्सनरी अनुसारका शब्दहरू सजेस्ट गरे जस्तै नेपाली शब्दकोशका शब्दहरू सजेस्ट गर्छ।

यो एपले नेपाली हिज्जे पनि चेक गर्छ। प्राविधिक रूपले शंकरका तीन वटा एप्लिकेशनको बजार मूल्य रु.२० लाख हाराहारी हुन आउँछ।

देश–विदेशका नेपाली रेडियो सुन्न मिल्ने गरी बनाइएको रेडियो नेपाली अर्को सिर्जनशील र गैर–नाफामुखी एप हो।

“आफूले बनाएको एप्लिकेशनले विदेशका हजारौं नेपालीलाई नेपालसँग जोडेका कथाहरूले रमाइलो अनुभव गराउँछ”, यसका डेभलपर सचिन शाक्य भन्छन्, “नयाँ रेडियो खुलेर अनलाइन जाने बित्तिकै हाम्रो रेडियो थपिदिनुपर्योश भनेर इमेल आउँछ।”

आजभोलि चर्चामा रहेको नाफामुखी नेपाली एपको पहिलो नम्बरमा आउँछ– क्यास अन एड। क्यास अन एडमा फोनसँगै प्रचार सामग्रीको भिडियो पनि आउँछ। यो भिडियो ६ सेकेन्ड हेर्दा रु.१ पाइन्छ। यस्तो सुविधा दिने यो संसारकै पहिलो एप्लिकेशन हो।

विश्वास ढकाल

क्यास अन एड प्रालिका अध्यक्ष विश्वास ढकाल करीब दुई लाख पटक डाउनलोड भइसकेको क्यास अन एडमा एकाउन्ट खोलेपछि जम्मा हुने पैसा ईसेवा मार्फत निकाल्न सकिने बताउँछन्। पैसा ईसेवामा ट्रान्सफर गर्न कम्तीमा ५ डलर जम्मा भएको हुनुपर्छ।

डेभलपरहरूको क्रियटिभ टीमले तीन महीनामा पहिलो रिलिज निकालेको क्यास अन एडले छिट्टै नयाँ भर्सन ल्याउँदैछ। प्रचार सामग्री दिने संस्थाले दिएको रकममध्ये क्यास अन एडले आधा उपभोक्तालाई दिन्छ।

सिर्जनशील र नवीन सोचबाट आएको क्यास अन एडलाई विश्वभरि चलाउन मिल्ने परिकल्पनामा काम भइरहेको छ।

एडहरू डिस्प्ले हुने तरीका यो एपको अर्को रोचक पक्ष हो। यसमा लक्षित वर्गसम्म एड पुर्या उन, उपभोक्ताको रुचि र चाहना अनुसारका एडहरू डिस्प्ले गरिन्छन्।

क्यास अन एड मार्फत लक स्क्रिनमा समेत एड डिस्प्ले हुन्छ। त्यसरी देखिएका एडहरू स्क्रल गरेर आफ्नो एकाउन्टमा पैसा जम्मा गर्न सकिन्छ। लक स्क्रिनमा एड राख्ने प्रविधि नयाँ होइन, तर यसलाई नेपाल भित्र्याएको क्यास अन एडले नै हो।

एपको नेपाली बजार

क्यास अन एड

नेपालका कर्पोरेट हाउस, संघ–संस्था र सेलिब्रेटीहरूले एप्लिकेशनलाई आफ्ना गतिविधिको सोकेशका रूपमा लिन थालेका छन्।

संचार क्षेत्रका कम्पनीहरू आफ्ना डिजिटल प्रयोगकर्तालाई ध्यानमा राखेर एपमा लगानी गरिरहेका छन्। केएमजी नामक एपमा कान्तिपुर पब्लिकेसन्सका दैनिक, साप्ताहिक र मासिक पत्रिका, रेडियो, टिभी, अनलाइन सबै हेर्न सकिन्छ। त्यसअघि नागरिक दैनिकको यस्तो एप्लिकेशन चर्चामा रह्यो।

एप डेभलपमेन्टको एक अग्रणी एफवानका मुख्य कार्यकारी सुवास शर्मा विश्व बजारमा जान सक्ने एन्ड्रोइड एप बनाउन सक्दा नाम र दाम दुवै मिल्ने बताउँछन्।

प्रयोगकर्ताहरूको क्रेज र बनाउनेहरूको प्यासनले एपको नेपाली बजार निर्धारण गर्ने बताउँदै क्यास अन एडका अध्यक्ष विश्वास ढकाल भन्छन्, “स्पेसिफिक भएर एप्लिकेशन बनाउने हो भने दुई या तीन वर्षमा राम्रो प्रतिफल दिन्छ।”

एप्लिकेशन डेभलपमेन्टमा काम गरिरहेको अर्को संस्था फोकसवानका बजार प्रबन्धक टेकराज अधिकारी स्मार्ट फोनका प्रयोगकर्ताको बढ्दो संख्याका कारण अहिले सामाजिक–व्यापारिक संघ–संस्था एप्लिकेशनतर्फ आकर्षित भएको बताउँछन्।

नेपालका कुल मोबाइल प्रयोगकर्तामध्ये ४० प्रतिशतले एन्ड्रोइड फोन चलाउने हुनाले पनि एन्ड्रोइड एप बनाउनेहरूको संख्या बढ्दैछ। माइक्रोसफ्ट जस्ता विख्यात कम्पनीहरूका केही एप्लिकेशन नेपालमै बन्ने गरेको बताउँदै टेकराज भन्छन्, “नेपालका एप डेभलपरहरू प्रविधिका क्षेत्रमा धेरै कमाउनेमध्ये पर्छन्।”

नेपालमा डेभलपर हुन भने सजिलो छैन। जस्तो, नेपालबाट अझै पनि गुगल प्लेस्टोरमा एप्लिकेशन अपलोड गर्न मिल्दैन। तर, एप डेभलपमेन्ट पहिलेभन्दा सजिलो भएको र नेपाली डेभलपरहरूको भविष्य राम्रो रहेको एंग्री बर्डस्को उत्पादक कम्पनी रोभियोमा काम गर्ने विजय गुरुङ बताउँछन्।

“पहिले कम्पनी र मोडल अनुसार एउटै एप्लिकेशनको दर्जनौं भर्सन बनाउनुपर्थ्यो”, विजय भन्छन्, “अहिले एन्ड्रोइड प्लेस्टोर या आईओएस एप स्टोरमा राखिदिए विश्वभरिका मोबाइलमा चलाउन मिल्छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>