रिपोर्टबुधबार, जेठ १४, २०७१
समाजमा बढ्दो क्रूरता
– तुफान न्यौपाने, नेपालगञ्ज
पति वैदेशिक रोजगारीमा गएपछि बाँके, सोनपुरकी ३५ वर्षीया काफिया खाँले भारत बहराइचका चाँदबाबु खाँ र २२ वर्षीया केशरजहाँ खाँले बहराइचकै गुड्डु खाँसँग एक वर्षदेखि यौनसम्बन्ध राख्दै आएका थिए।
गुड्डु र केशरजहाँको यौनसम्बन्ध बारे थाहा पाएका चाँदबाबुले काफिया र केशरजहाँसँग रु.५० हजार नदिए पतिलाई भनिदिन्छु भन्दै ‘ब्ल्याकमेलिङ’ गर्न थाले।
यसैक्रममा १० फागुन २०६९ मा काफियाले चाँदबाबुलाई पैसा लिन भनेर राति ९ बजे खेतमा बोलाइन् र केही साथीसहित पहिले नै त्यहाँ पुगिन्। चाँदबाबु आउनासाथ उनीहरूले हँसियाले रेटेर टाउको छिनाइदिए।
प्रहरीले शरीर भन्दा ७०० मिटर पर खेतमा टाउको गाडिएको फेला पार्योह। बाँकेका तत्कालीन एसपी भूपाल भण्डारीको निष्कर्ष पनि ‘ब्ल्याकमेलिङ’ बाट बच्न त्यो घटना भएको थियो।
बदलामा हत्या
२०४६ मा बाँके हिरमिनियाका दयाराम बर्मासँग बिहे गरेकी भारत कोलकाताकी सुमा खटिकले २०६४ मा दुई छोरा र तीन छोरीलाई छाडेर कम्दी―८ मिलनचोकका भगवानदिन खटिकसँग दोस्रो बिहे गरिन्।
दयारामले आफ्नो सबै चार कट्ठा जग्गा सुमालाई नामसारी गरिदिएकोमा अरू पैसा समेत लिएर उनी भागेकी थिइन्।
दयारामले ज्यान मार्ने धम्की दिन थालेपछि भगवानदिन सुमालाई लिएर भारत लागे। तर, केही समयपछि फर्किएका उनको माघ २०६८ मा घरमा राति सुतेको वेला हत्या भयो।
दयाराम र उनका भाइले बन्चरो प्रहार गरी भगवानदिनको घाँटी छिनाएका र शरीर घिसारेर बाहिर लगी गुप्ताङ्गसमेत काटेका थिए। प्रहरीले भगवानदिनको शव डुढुवा खोलामा भेट्यो, टाउको र गुप्ताङ्ग भने भेटेन।
घटनाको अनुसन्धान गरेका तत्कालीन प्रहरी नायव उपरीक्षक विनोद घिमिरे पत्नी भगाएको रीसले सो घटना भएको बताउँछन्। सो घटनाको केहीपछि भगवानदिनका आफन्तले दयारामको पनि त्यस्तै क्रूरतापूर्वक हत्या गरे।
८ भदौ २०६२ को दिउँसो १२:४५ बजे जिल्ला विकास समितिको कार्यालयमा पसेर माओवादी कार्यकर्ताले नेपालगञ्जका अजयराज सिंहको हत्या गरेका थिए। त्यसको बदलामा छोरा अभिषेकराज सिंहले त्यही वेला बाँके खजुराका दुई माओवादी कार्यकर्ताको हत्या गरे।
केहीअघि महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरी काठमाडौंमा सार्वजनिक गरेको थियो। प्रहरीका अनुसार, उनले त्यो वेलासम्म ६ जनाको निर्मम हत्या गरिसकेका थिए।
यसक्रममा प्रहरीबाट बँच्न उनले आफूलाई समिर घिमिरे, देव शर्मा, राज सिंह, देवगुरु, रञ्जित सिंह, प्रकाश केसी र सहमान हलवाईको नामले चिनाउने गर्थे।
उनले समिरको नाममा जिल्ला प्रशासन कार्यालय, झापाबाट नागरिकता र राहदानी तथा यातायात व्यवस्था कार्यालय नारायणघाटबाट सवारी चालक अनुमतिपत्र लिएका थिए।
प्रहरीका अनुसार उनले खानामा विषालु पदार्थ र औषधि मिसाएर हत्या गर्ने गरेका थिए।
परिवारभित्रै असुरक्षित
गुलरिया―८ बर्दियाकी १६ वर्षीया शिवा हासमीलाई बाबु खानसँग प्रेम गरेको भन्दै आमा हसिना, दाजुहरू रिजवान र सुद्धुले २२ मंसीर २०६९ मा घरभित्रै पेट्रोल छर्किएर आगो लगाइदिए।
उपचारको क्रममा काठमाडौंमा मृत्यु भएकी शिवालाई प्रेमीले बिहे गर्न नपाएको झोंकमा आगो लगाएको परिवारका सदस्यको दाबी थियो। तर, प्रहरी अनुसन्धानले यथार्थ खुलायो।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको समाजशास्त्र विभाग प्रमुख सावित्रा बस्नेत माओवादी युद्ध र मधेश आन्दोलनको हिंसा र आतंकले मानिसमा आपराधिक मनोवृत्ति बढाएको बताउँछिन्।
केन्द्रीय सत्ता कमजोर भएको, दण्डहीनता बढेको र शान्ति सुरक्षा कमजोर भएको वेला समाजमा अरू पनि अपराध बढ्ने उनको भनाइ छ।
३ चैतमा बाँके लक्ष्मणपुर–८ की २२ वर्षीया रिहाना बानोलाई उनका पति फरिद शेषले दाइजोमा मोटरसाइकल र भैंसी नल्याएको भन्दै शरीरमा मट्टीतेल छर्केर आगो लगाइदिए।
गर्भवती रहेकी उनको समयमा उपचार नहुँदा गर्भमा रहेको शिशुको मृत्यु भयो। करीब दुई सातासम्म भेरी अञ्चल अस्पतालमा उपचार गर्दा पनि निको नभएपछि थप उपचारका लागि उनलाई वैशाख तेस्रो साता काठमाडौं लगिएको छ।
मोटरसाइकल र भैंसी नल्याएको भन्दै हात पछाडि बाँधेर आगो लगाएको काठमाडौं लैजानुअघि नेपालगञ्जमा रिहानाले बताएकी थिइन्।
रिहानाकी आमा नसिद शेष बानोले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराए पनि फरिद अहिलेसम्म पक्राउ परेका छैनन्। प्रहरी उनको खोजी भइरहेको बताउँछ।
दाइसँगको लेनदेन विवादपछि ६ जेठ बिहान ७ बजे जैसपुर―१ बाँकेका सद्दाम नाउले भाउजू चन्दा सल्मानी (२२), उनकी पाँच वर्षकी छोरी मारिया, तीन वर्षका छोरा रियाजुल र १० महीनाका छोरा रिहानलाई मट्टीतेल छर्केर आगो लगाइदिए।
जलेर घाइते भएका उनीहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ भने सद्दाम र उनका बाबुआमालाई प्रहरीले पक्राउ गरेको छ।
भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी मधुप्रसाद पुडासैनी शिक्षा, स्वास्थ्य, चेतना, परिवेश र संस्कृतिले मानिसको स्वभाव बन्ने तथा मानिस अपराधउन्मुख हुने बताउँछन्।
सामाजिक कारणले जन्मने तनावलाई व्यवस्थापन गर्न नसक्नेहरू क्रूर अपराधमा संलग्न भएको पाइएको उनको भनाइ छ।
“प्रहरीले राम्रो अनुसन्धान गरेर सरकारी वकीलसमक्ष पुर्याकउँदै आएको छ” उनले भने, “तर न्यायालयको निर्णयले आरोपीहरू छुट्ने गरेका छन्, हामीले दण्डहीनताको अवस्था आउन दिएका छैनौं।”
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
