खेलकुदबुधबार, आषाढ ४, २०७१
आजका तीन खेलः क–कस्ले जित्लान् ?
विश्वकप फूटबलअन्तर्गत ४ असार राति अष्ट्रेलिया र नेदरल्याण्डस्, स्पेन र चिली तथा क्यामरुन र क्रोएशियाबीच खेल हुँदैछ ।
अष्ट्रेलिया विरुद्ध नेदरल्याण्डस्
फिफा बरियतामा ६२ औं स्थानमा रहेको एशियाबाट खेल्ने अष्ट्रेलिया र १५ औं स्थानमा रहेको नेदरल्याण्डसबीच अहिलेसम्म विश्वकपमा भेट भएको छैन । तर, सन् १९७४, १९७८ र २०१० को विश्वकप उपविजेता नेदरल्याण्डसको पल्ला भारी रहेको फूटबल विश्लेषकको भनाइ छ ।
उसले पहिलो खेलमा सावित विजेता स्पेनलाई ५–१ गोलले हराएर आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ । तर, सन् २००६ को विश्वकपमा दोस्रोचरणसम्म पुगेको अष्ट्रेलियाले अघिल्लोचरणमा पुग्न पनि जित्नैपर्ने दबाब छ । आफ्नो पहिलो खेलमा उसले चिलीलाई ३–१ ले नतिजा सुम्पेको छ ।
यी दुईबीचको खेलमा रोविन भान पर्सी र आर्जेन रोविन फेरि चम्कन सक्ने खेलाडी हुन् । तर, अष्ट्रेलियाले भने चिलीविरुद्ध गोल ठोकेका टिम काहिलको बढी भर गर्नुपर्ने हुन्छ ।
स्पेन विरुद्ध चिली
साविक विजेता स्पेनले समूहचरणको पहिलो खेल गुमाइसकेकाले चिलीविरुद्ध निक्कै दबाबमा खेल्नुपर्ने छ । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन समेत रहेको स्पेन विश्वकप इतिहासमा तेस्रो स्थान (सन् १९६२)सम्म पुगेको चिलीलाई जित्दै पुरागमन गर्ने दाउमा हुनेछ । हार वा बराबरी मात्र खेलेमा विश्व बरियताको पहिलो नम्बरमा रहेको स्पेन पहिलोचरणबाटै घर फर्किने खतरा छ ।
पहिलो खेलमा अष्ट्रेलियालाई ३–१ ले हराएको चौंधौं बरियताको चिली उच्च मनोबलका साथ मैदानमा उत्रिदैं छ । स्पेनलाई जित्दा दोस्रोचरणमा पुग्ने चिली कम्तिमा खेल नगुमाउने रणनीतिका साथ पेश हुनेछ ।
मध्यपंक्तिमा पकड जमाएर खेल्ने स्पेनलाई जिताउन जाभी हर्नाण्डेज, जाभी अलोन्सो, आद्रेस इनियस्टाको योगदान महत्वपूर्ण हुनेछ । तर, उच्च फर्ममा रहेका बार्सिलोनाका स्ट्राइकर एलेक्सिस सान्चेसलाई रोक्न स्पेनलाई हम्मे पर्नेछ । सान्चेसलाई मध्यपंक्तिबाट अर्टुरो भिडालले गोल गर्न सघाउने छन् ।
क्यामरुन विरुद्ध क्रोएशिया
यसअघि विश्वकपमा नभिडेका क्यामरुन र क्रोएशिया जसरी पनि जित्ने रणनीतिका साथ मैदान उत्रदैं छन् । पहिलोचरणका खेल हारेका दुवै टीम अर्कालाई जितेर अघिल्लोचरणको प्रवेशलाई जीवित राख्न चाहन्छन् ।
विश्व बरियतामा ५६ औं स्थानको अफ्रिकन पावरहाउस क्यामरुन र १८ औं बरियताको क्रोएशियाबीचको भिडन्त रोमाञ्चक हुनेछ । सन् १९९८ को विश्वकपमा क्रोएशिया तेस्रो भएको थियो भने क्यामरुनले सन् १९९० मा क्वाटरफाइनलसम्मको यात्रा गरेको थियो ।
इन्जुरीका कारण कप्तान सामुएल इटो नउत्रिए पनि क्यामरुनका लागि बार्सिलोनाका एलेक्स सङ्ग र अर्का मिडफिल्डर स्टेफन मबिया हतियार हुन् । प्रतिबन्धमा परेर पहिलो खेल गुमाएका बार्यन म्युनिखका स्ट्राइकर मारियो मान्ड्जुभिकलाई क्रोएशियाले उतार्दै छ । उनलाई मध्यपक्तिंमा रियल म्याड्रिडका लुका मोड्रिकले सघाउने छन् ।
दीपेन्द्र सापकोटा, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
