टिप्पणीसोमबार, साउन १९, २०७१

भारतसँग साँध–बाँध किचलो

ज्ञानमणि नेपाल

अंग्रेजसँग युद्धमा हारेपछि नेपालले मेची–काली पारिको त्यत्रो जमीन गुमाएर हीनसन्धिमा जकडिनु पर्‍यो । वीर गोर्खालीका हातखुट्टा बाँधिए । देशभर विषाद छायो । भीमसेन थापाले चिनियाँ सहयोगमा फेरि युद्ध गरेर गुमेको भूभाग फिर्ता ल्याउने प्रयत्न गरे, तर सफल भएनन् । भीमसेनपछि उदाएका रणजङ्ग पाँडेले त्यो प्रयास जारी राख्ने क्रममा भतिज जगतबमलाई सौगातसहित रूस पठाए । तर, जगतबम ल्हासामा रोकिएकै बेला नेपाल दरबारमा पाँडेहरूको पतन शुरू भयो । विदेशी षड्यन्त्रमा राष्ट्रवादी शक्तिले दुर्दशा बेहोर्‍यो ।

कोतपर्वपछि जर्नेल, मुख्तियार प्राइम्मिनिष्टरहुँदै श्री ३ महाराज बनेका जंगबहादुर राणा अब इष्ट इन्डिया कम्पनी सरकारसँग लडेर होइन, मिलेर लाभ लिनेमा लागे । बनारस गएका राजा राजेन्द्र र रानी राज्यलक्ष्मीले उतैबाट जङ्ग विरुद्ध लड्न राजेन्द्रलाई ल्याएर दरबारमै नजरबन्दमा राखियो, युवराजलाई गद्दी चढाइयो । कहिले वसन्तपुर त कहिले भक्तपुर दरबारको नजरबन्दीमा राजेन्द्रको जीवन बित्यो ।

जंगलाई भेट्दा उनी जहिल्यै ‘मलाई राजा बना’ भनेर गनगन गरिरहन्थे । कहिले चिठीमै लेखेर पठाउँथे । राजेन्द्रले दुइटा राजा पनि हुनु भएन, छोरालाई हटाउनु पनि भएन, यस्तो अप्ठ्यारोमा अंग्रेजलाई भनेर सुखीम राज्यमा जसरी पनि मलाई राजा बना भन्न लागे । यो कुरा जङ्गलाई पनि जँचेछ । उनले राजाकै लालमोहर लाएर कम्पनीमा पठाए । आफू बेलायत जाँदा यो कुराको जिकिर गरे गरेनन्, गरेकै भए पनि ब्रिटिशले सुखीम राज्य फुस्काउने थिएन । बेपारी ब्रिटिशहरू बल्ल भेटेको भोट पस्ने मुहुटी सुखीमलाई उम्कन किन दिन्थे र !

जंगको उपकार

नेपालीको मनमा गुठी, बिर्ता, किपट खोस्ने बासट्ठीहरणले पीडा पारेको थियो । त्योभन्दा ठूलो चोट युद्धपछि नेपालको धेरै भाग गुमेबाट पर्‍यो । चतुर जंगले जनताको मनमा युद्धको हारले पारेको घाउमा मलमपट्टी लाउन पाए मावलीबा (भीमसेन) माथि लागेको कलङ्क मेटिनेथियो र आफ्नो पनि कीर्तिबर्द्धन हुनेथियो भन्ने सोचेर सत्तामा पुग्नेवित्तिकै हरण भएका गुठी बिर्ताहरूको सट्टा भर्ना निम्ति पहाड मधेशका ऐलानी बाँझा र पर्ती जमीन दिइनेछ भन्ने घोषणा गराए । मानिसहरू आफ्ना थातथलो छोडेर त्यस्ता जमीनमा आवाद गर्न नगए पनि आशावादी भए ।

जंगबहादुरले सुखीम लिने प्रयत्न पनि गरेकै हुन्– जग्गाको सट्टा दिन्छु भन्दै । त्यसमा सफल नभएपछि उनी भोटसँग युद्धको तयारीमा लागे । चीन आफ्नै समस्यामा अलमलिएको मौकामा भोटमा पूर्ण अधिकार स्थापित गर्न जंगले उसको दर्जनौं अर्घेल्याईं अघि सार्दै युद्ध थाले, जसमा नेपाल विजयी भयो । भोट नेपाललाई वर्षेनि रु.१० हजार सिर्तो तिर्ने राज्य भयो । भोटको बेपारमा नेपालको एकाधिकार भयो– विना भन्सार शुल्क । नेपालीले वीर जातिको ख्याति कायम ग¥यो । यसरी नेपालसँग शस्त्रसज्जित सेना रहनुपर्छ भन्ने मान्यता स्थापित हुँदा ‘तिमीहरूलाई किन हातहतियार चाहियो’ भन्ने इष्ट इन्डिया कम्पनीको भनाइ पनि खण्डित भयो ।

यो विजयबाट जंगले कम्पनी सरकारको पनि उपकार गर्ने भए । अघि लद्दाख युद्धमा भोटले युद्धबन्दी बनाएको शिख सैनिकहरूलाई ल्याएर कम्पनीलाई सुम्पिने कुरा भोट सन्धिको एउटा दफामै उल्लेख भयो । जंगले त्यही गरे । कम्पनीलाई जंगको योभन्दा ठूलो उपकार चाहिं वि.सं. १९१४ मा हिन्दुस्थानमा अंग्रेज विरुद्ध महाविप्लव उठ्दा आफैं तालिमी फौज लिएर गई सहायता गर्नु थियो । त्यसवेला दिल्लीका वादशाह लगायत हिन्दुस्थानभरका राजा–रजौटा र नवावहरूले चिठी लेखेर, वकील पठाएर ‘हामीलाई सहयोग गर, हामी नेपाललाई मान्छौं, हिन्दुस्थानमा जंगबहादुरको दुहाइ चल्नेछ’ भनेर आग्रह गर्दा पनि उनले स्वीकारेनन्, हिन्दुस्थानीको बुता बुझेर ‘अंग्रेज दोस्त–मित्र’ भन्दै उतैपट्टि लागे ।

त्यसबेला उनले अंगे्रजको पक्षमा ठूलो जनधनले मरिमेटेर सहयोग गरेका थिए– गुमेको सबै जमीन फिर्ता पाउने आशा लिएर । तर, अंग्रेजको विजयपछि नेपालले ‘नयाँ मुलुक’ मात्र पायो । त्यतिले जंगको चित्त बुझेको थिएन । उनी बेलायत गएर बहस गर्ने विचारमा थिए । जान हिंडेका पनि थिए, तर के कुरामा चित्त नबुझेर हो, लडेको निहुँ पारेर बम्बईबाट फर्किए । वि.सं. १९३१ मा लाठसाहेवको निम्तो पाएर कलकत्ता जाँदा आफूले गरेको उपकारहरूको फेहरिस्त पेश गरे । जंगले त्यति जमीन दिएकोमा पनि कृतार्थ शुभचिन्तकै भएको बताउँदै अहिले साँध मिच्ने, सिमानामा बाँध बाँधेर नेपालको जग्गा डुबाइदिने आदि गरेकोमा कम्पनीप्रति खुलेरै असन्तुष्टि व्यक्त गरे ।

पुरानो मुद्दा

इष्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि भएसँगै भारतसँग नेपालको सीमा र बाँधको समस्या उत्पन्न भयो । कम्पनीले सम्पूर्ण तराई आफूतिर पारी मेची–महाकाली बीचको पहाडी भाग मात्र नेपाललाई छोडेको थियो । यसमा नेपाल दरबारका कसैको मञ्जुरी नहुँदा पुनः युद्धको स्थिति आयो । उता मराठासँग पनि खटपट शुरू भएकोले कम्पनी सरकारले राप्ती पश्चिमको बाहेक अरू तराई नेपाललाई फिर्ता गर्‍यो । वारपार खुल्ला सीमा भएको तराईमा कतै बस्ती, कतै खेत त कतै पर्ती जमीन थियो । यसमा सीमा छुट्याएर सीमास्तम्भ खडा गर्न दुवैतिरका नापी अमिन खटिए । उता १० गज यता १० गज गरी २० गज बाँझो चौरको सीमा राखियो । पछि किन १० गज मात्र रह्यो ? किन दश गजा क्षेत्र भनियो ? विचारणीय छ । यसले पनि धेरै ठाउँ विवादित भए ।

सरकारी तहबाट सीमाको नाप–नक्शा भइरहेकै थिए, विवाद पनि चलिरहेकै थिए । पूर्व र पश्चिमका पहाडी सीमामा पनि विवाद थपिए । जस्तो, पहाडमा मेची नदीको दुई धार रहेछ– एउटा मेची, अर्को सिद्धि–केची । तराईमा पनि मेचीका दुई धार नै रहेछन्– बहता धार र सुक्खा धार । यीमध्ये कुन चाहिं सीमा हो भन्ने विवाद सुगौली सन्धि भएको २५ वर्षपछि समाधान भयो । पश्चिममा पनि त्यस्तै छ । महाकालीको शिर कुन हो भन्ने विवाद अहिलेसम्म टुंगिएको छैन । जङ्गबहादुरले जिकिर गरेको ‘तुलसीपुरको पाहाडी इलाकाको क्षेत्रफल ३० कोश लम्बाइ ४ कोश चौडा’ भनिएको हुँदा त्यो दाङको पहाड होइन । यत्रो क्षेत्रफल महाकालीको शिर लिम्पियाधुरा–लिपुलेख हुनुपर्छ ।

ठूलो धार भएको पुरानो नक्शामा ‘काली’ लेखिएको छ । तुलसीनुराङ भन्ने ठाउँ त्यतै छ भन्ने सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइले पनि यो विवाद यहींको हो भन्ने बुझिन्छ । १४० वर्ष पुरानो यो विवादलाई महाकालीको कृत्रिम शिर बनाई अरू जटिल बनाइँदैछ । लक्ष्मणपुर, महलीसागर आदि बाँधले सीमा क्षेत्रका नेपाली भूमि डुबानमा पारेको विवाद आफ्नो ठाउँमा छँदैछन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>