टिप्पणीबिहीबार, आश्विन ९, २०७१
अंग्रेजलाई अर्ती
१९३३ फागुनमा सैर–शिकारी मुकाम सर्लाहीमा परलोक भएका जंगबहादुर राणाले त्यसैसालको साउनमा ब्रिटिश रेजिडेन्ट गर्लिस्टोनसँग लामै संवाद गरेका थिए । उनी मनमा हरदम राजनीतिक जोडघटाउका कुरा खेलाइरहन्थे। जंगबहादुर सत्तामा पुग्नुभन्दा पहिले उनका मावली (भीमसेन थापा) खलक र दरबारबीचको अराजनीतिक चलखेलले नेपाललाई अति कमजोर बनाएको थियो। बाहिरी शक्तिसँग भिड्दा देश गुमेको हीन सन्धिमा जकडिनुपरेको अवस्था र मावलीका अलोकप्रिय कार्यहरूले जनता आजित थिए। केन्द्र र पूर्व–पश्चिममा पनि असन्तुष्टि उठिरहेका थिए। त्यस्तो अव्यवस्थितिमा हिंसाबाटै सत्तामा पुगेका उनले सर्वप्रथम लोकप्रिय काम गर्न खोजे।
जंगबहादुरले पृथ्वीनारायण शाहले जस्तो असंलग्न विदेश नीति लिएनन्। उनी मावलीबा (भीमसेन) वा पाँडेकाजीहरूको जस्तो तुजुक देखाउनेतिर पनि लागेनन्। उनले न समर्पण न समर्थनको द्वैध–नीति अपनाए। सन्धिमा जेसुकै लेखिए पनि उनले आफ्नो देशको स्वतन्त्र शान–मानलाई कायम राखे। अंग्रेजको शक्ति बुझेका उनले ऊसँग भिडेर होइन, मिलेरै आफ्नो र देशको स्वार्थसिद्ध गर्ने नीति लिए। चीन र भारतलाई सामञ्जस्यमै राखी भोटसँग युद्ध गरेर नेपालको आर्थिक स्थिति सुधारे। भारतमा विद्रोहले आच्छु–आच्छु पारेका बेला फिरङ्गीलाई सघाएर नेपालमा आफ्नो लागि यश–अर्थ आर्जनका साथै पारिवारिक शासन स्थापित गराए।
देशलाई धनबल र जनबलले शक्तिशाली पार्नुपर्छ भन्ने जंगको विचार थियो। शस्त्रसज्जित सैन्य शक्ति बढाएर अंग्रेजलाई संकट परेको बेला सहायता गरेर लाभ लिने अनि भोटसँग खटपट पारिहाल्यो भने भिडेरै त्यहाँ प्रभाव कायम राखिराख्ने उनको नीति थियो। त्यसैले उनले अंग्रेजहरूलाई कुनै शंका नमानी आफ्ना गोर्खाली पल्टनलाई मद्दत गरिरहन भनिरहे। अंग्रेजहरूले चाहिं गोर्खालीहरू लड्नका शूरवीर छन्, मनमा गाभ राखी कुरा गर्छन्, बहुतै इमानदार र विश्वासिला छन् भनेर तारिफ गर्दै आफूले कायम गरेको गोर्खा पल्टन बढाउन रिक्रुट माग गरिरहे।
जंगबहादुर भने यसमा ‘म आफैं जति चाहियो, त्यति तालीमी फौज दिन्छु भने किन चाहियो रिक्रुट’ भनेर टार्थे। अंग्रेजहरू आफ्नो जिद्दी गर्दा जंगले ‘हाम्रा देशका जनताको मन अंग्रेजप्रति त्यति खलास भएर सङ्लिएको छैन, तिनले विद्रोह त गर्दैनन्, तथापि कथंकदाचित गरिहाले भने मेरो देशको बदनाम हुन्छ, केही कुरामा तपाईंहरूकै जोखिम पारे पनि अपजस त मैले खेप्नुपर्छ, त्यस्तो खतरा किन मोल्नुहुन्छ? विपतमा म आफैं तपाईंका वैरीसँग लडेकै छु, अब पनि पर्यो भने मेरै तालीमी फौज पठाइहाल्छु, त्यसमा केही तल–वितल परे मेरै जिम्मेवारी हुन्छ’ भनेर टारेका थिए।
अक्षरसम्म चिनेका जंगबहादुर गोप्य कुराहरू बाङ्गाटिङ्गा कागखुट्टे अक्षरमा आफैं लेख्थे। अंग्रेजी अखबार पढ्न जान्ने मुन्सीहरूबाट विश्व परिस्थिति बुझने उनले यूरोपमा युद्ध अवश्यंभावी भएको अखबारबाटै थाहा पाएछन्। त्यसका लागि पञ्जाबतिरबाट २५–३० हजारको ब्रिटिश–भारतीय पल्टन पठाउने तयारीका सम्बन्धमा उनले रेजिडेन्ट गर्लिस्टोनसँग कुरा गरेका हुन्। गर्लिस्टोनलाई उनले हिन्दुस्थान सुरक्षाका लागि गोरा पल्टन राख्न र बाहिर पठाउन काला पल्टन तयारी पार्न अर्ती दिएका छन्। काला पल्टन बाहिर गए विद्रोह गर्दैनन्, त्यसमा पनि विशेष गरेर गोर्खालीलाई पठाउनू भन्ने उनको अर्ती थियो। जंगले ‘अंग्रेजी पल्टनमा चार–पाँच हजार गोर्खाली छँदैछन्, समय दिनुभो भने जति पनि तालीमी फौज नै दिन सक्छु’ भनेका थिए।
यसबाट हरदम तालीमी फौज कायम रहने, आफ्ना देशका जवानले जागीर पाउने, ब्रिटिश–भारतबाट हतियारको जोहो हुने र अन्त्यमा आर्थिक लाभ पनि भएर देश बलियो हुने जंगको सोच थियो। रेजिडेन्ट मार्फत अंग्रेजलाई दिएको यो अर्ती यसै आशयमा आधारित छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
