ब्लगआइतबार, कार्तिक २३, २०७१

सपना–व्यापारको दुर्दान्त वर्णन

आनन्द पी राई

सपना–व्यापारको दुर्दान्त वर्णनलाग्छ, संसारमा सुँगुर नै त्यो प्राणी हो जो सबभन्दा बोधो र संवेदनाशून्य छ। उसलाई केवल खान र सुत्न पाए पुग्छ। खवाइ र सुताइ पनि कस्तो भने सुँगुर खानको लागि मात्र उठ्छ र खाँदाखाँदै अघाएपछि निदाउँदै लड्छ। अघाएको सुँगुर निदाउन सुक्खा, सजिलो या सुरक्षित ठाउँ खोज्दैन, जहाँ अघायो त्यहीं ढलिदिन्छ। ब्रिटिश लेखक तथा समालोचक जर्ज अरवेल (सन् १९०३–१९५०) ले यही सुँगुरलाई सपनाको व्यापारी बनाएर १९४५ मा एनिमल फार्म प्रकाशित गरे, जुन आजपर्यन्त विश्वमा सर्वाधिक पढिने उपन्यासको कोटिमा छ।

उपन्यासमा मिस्टर जोन्सको मेनोर फार्मका जनावरले विद्रोह गरेर आफ्नो सत्ता स्थापना गर्छन्। मालिक (मानिस) को अह्रनखटन विरुद्व विद्रोहको सपना देखाउने काम मेजर नामको बूढो सुँगुरले गर्छ। विचार निर्माणकै क्रममा मेजर खसेपछि सपना साकार पार्ने नेतृत्व स्नोबल नामको सुँगुरले लिन्छ र मेनोर फार्मलाई मानिसमुक्त बनाउँछन्। यसरी भावी पशु गणतन्त्र निर्माणको क्रममा जनावर मुक्तिको सात प्रस्तावना तयार हुन्छ, जसमा सबै जनावर समान भएको घोषणा गरिन्छ। प्रस्तावनाले दुईखुट्टे जति सबै शत्रु र चार खुट्टेसँगै पखेटा भएकाहरु सबैलाई मित्र घोषणा गर्छ।

सत्ता सुदृढीकरणको क्रममा विद्रोहका प्रमुख नेता स्नोबललाई अर्को अगुवा सुँगुर नेपोलियनले ‘कु’ गरेर धपाउँदा ‘एनिमल फार्म’ मा गोप्य रुपमा सेना पनि खडा भइसकेको थाहा हुन्छ। अब नयाँ नायकले अधिनायकवादी सत्ताका लागि आवश्यक प्रोपोगाण्डा मास्टर, दलाल, कवि, चारण, भाट आदिको एउटा दह्रो संयन्त्र बनाउँछ र सुँगुर जतिलाई दैनिक एक माना जौको जाँड खान पाउने वर्गमा पुर्‍याउँछ। सुँगुरहरु असाध्य मोटाउँछन्, कुखुरीहरु अत्यधिक अण्डा पार्न बाध्य हुन्छन् र ‘प्रिय नेता नेपोलियन जे गर्छन्, उचित गर्छन्’ भन्दै सर्वाधिक मिहिनेत गर्ने बोक्सर (घोडा) लाई नरम घाँसे मैदानमा जीवन बिताउन सेवा–निवृत्त हुने बेलामा बगरेकहाँ पठाइन्छ।

‘सबै जनावर समान भए पनि सुँगुरहरु विशेष रुपले समान’ हुन पुग्छन्। सुँगुरहरुमा पनि नेपोलियन विशेष हुन पुगेको चार वटा भुनीले पाएको ३१ वटै पाठाको बाबु उही हुनुले देखाउँछ। जनावरहरु पशुसत्तामा जीवन मर्यादापूर्ण भएको भनेर कमै पीर मान्छन्। सामूहिक भाका हालेर ‘इङ्गल्याण्डका पशुहरुको गीत’ गाएपछि त उनीहरुको रहेसहेको दुःख पनि छुमन्तर हुनपुग्छ।

साम्यवादको सपनामा सोभियत संघमा भएको बहुलट्ठीपन र दोस्रो विश्वयुद्वको मेहेरोमा अरवेलले लेखेको यो उपन्यासले अधिनायकवादी शासन व्यवस्था र त्यसमा पनि खास गरेर कम्युनिष्टको काढ्नु उछित्तो काढेको छ। बालबालिकाका लागि रमाइलो बालकथा र प्रौढहरुलाई राजनीतिक व्यंग्यको पराकाष्ठा लाग्ने यो उपन्यासलाई कथाको सरलता र वर्णनको रोचकताले असाध्य पठनीय बनाएको छ। अरवेलको यो अमर कृतिको नेपाली अनुवाद चारखुट्टेको घरजम तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानले २०२७ सालमै ल्याए पनि धेरैजसो नेपालीले एनिमल फार्म नै अर्थात् अंग्रेजीमै पढे। फणीन्द्रप्रसाद उपाध्यायको त्यो अनुवाद अब शिक्षक मासिकको प्रकाशक संस्था ज्ञान–विज्ञान शैक्षिक सहकारी लि. को प्रयासमा नेपाली पाठकको ठूलो दायरामा पुग्न बजारमा आएको छ।

यो किताब त्यो बेला आएको छ, जतिबेला १४ हजारभन्दा बढी नेपालीको ज्यान लिएको जनगणतन्त्र नेपाल स्थापनाको सपना विसर्जन भएको धुवाँ पूरै हराइसकेको छैन। अझ, स्वीट्जरल्याण्डको चिजले धेरै मोटाएको र स्कच ह्विस्कीले भिजाएको शरीरलाई क्युबान हिलले नथेग्दा खुट्टा मर्किएर ६ सातासम्म सार्वजनिक जीवन त्यागेका भनिएका उत्तरकोरियाका ‘डियर लीडर’ किम जोङ उनले विदेशी फिल्म हेरेको अभियोगमा सय जनालाई झुण्ड्याए भन्ने समाचारको आलोकमा चारखुट्टेको घरजम को पठन अझ गहिरो रुपमा अर्थपूर्ण हुनेछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>