टिप्पणीशुक्रबार, कार्तिक २८, २०७१

राणाराज्यका दुई खम्बा

ज्ञानमणि नेपाल

गोर्खाली विजय अभियानको मुख्य तागत जनबल नै थियो। पृथ्वीनारायण शाहले जनताको शौर्यको आधारमा एकता अभियान चलाएका थिए।

jung_BDR_RANAउनले जनबल संग्रहको लागि अलि–अलि धन सञ्चय गर्दै धनुकाँड, तरबार, खुँडा–खुकुरी, भरुवा बन्दूक लगायत स्वनिर्मित हात–हतियारबाटै विस्तारै विजय अभियान अघि बढाए।

विजित प्रदेशमा ‘जहाँको दुवाली, उहींको चपरी’ गर्दै अमनचैन कायम गरेबाट साहूमहाजनहरू उनीसँग मिल्न आए। वीर लडाकूहरू पनि योग्यतानुसार जागीर पाइने भएपछि पृथ्वीनारायणको आश्रयमा आउन लालायित हुन्थे।

छिमेकी देशका सम्पन्न व्यक्तिहरू पनि आफ्नो जग्गा–जमीन र धन–सम्पत्ति सुरक्षाको खातिर खुरुखुरु उनको शरणमा आउन थाले।

त्यसरी पृथ्वीनारायणको जनबलसँगै धनबल पनि बढ्दै आयो। उनको सेखपछिकाले त्यसरी नै एकीकरण अभियान सफल पारे।

पछि जङ्गबहादुरले भीमसेन थापाले भारतमा जरो गाडिसकेको अंग्रेज शक्तिसँग असंगठित सैन्यशक्ति र स्वल्प कोषको भरमा भिड्दा धेरै जमीन गुमाएर हीन सन्धि स्वीकार गर्नुपरेको कुरा हृदयङ्गम गरे।

उनले पृथ्वीनारायण शाहको नीति अनुसरण गर्दै देशमा घरेलु उद्योग तथा कृषि उत्पादन बढाएर निकासी गर्ने, देशको धन बाहिरिन दिंदै नदिने र भरिसक्दो बाहिरबाट धन खैंचेर लिने उपाय अपनाए।

भारदारहरूलाई धन–सम्पत्ति विदेश लैजान मनाही गर्ने नीति लिएका जङ्गबहादुरले देशका नौजवानहरूलाई विदेशिन प्रतिबन्धै लगाए– सजाय तोकेरै।

‘अघि गोर्खाली गोठालाहरू पनि धुलौटामा बाघचाल खेल्दै खेलको रीतिले नै पञ्चाङ्ग गर्न सक्ने सिपालु ज्योतिषी हुन्छन्। त्यस्तै, सबै खुकुरी भिरेर हातमा तबल बञ्चरा लिएर लात्थ्रा, घोचा काट्तै शिकार खेल्दै हतियार चलाउन सिपालु भएका लडाका हुन्छन्।

वनका सिंहलाई कसले शिकारको तालीम दिनुपर्छ र? गोर्खाली पनि सिंह जस्तै वीर लडाका हुन्छन्’ भनेर महाकवि उदयानन्दले अघि गोर्खालीको बयान गरेजस्तै जंगबहादुरले पनि आफ्ना नवयुवकहरूको मुरी–मुरी तारीफ गरेका छन्।

उनले शिकार खेल्दै, तारो हान्दै जन्ती जाँदा बन्दूक पड्काएर बढाइँ गर्दै, शस्त्र चलाउन सिपालु युवकहरूको बयान गर्दै आफ्ना भाइछोरालाई यो राज्य थामी खाने जुक्ति–बुद्धि सिकाएको कुरा ब्रिटिश अधिकारीकहाँ अवगत गराएका छन्।

जंगको नीति

अहिले प्रसिद्ध दैनिक पत्रिकाहरूको सहारा लिएर विचार प्रवाह गर्ने विद्वान् कहलिएका सीके लालले अत्यन्त भ्रामक प्रचार गरिरहेका छन्।

केही साताअघि एक दैनिकमा उनले लेखे– ‘तराई त ब्रिटिशकै हो, महाभारत कटेर तलतिरको जमीन दाबी गर्दा गोर्खालीले हारे पनि भाडाका लडाकू पाइने लोभमा कम्पनी सरकारले पहिले नियमित नगद र त्यसपछि तराईको भूभाग काठमाडौंका सैन्य अधिकारी एवं भाइभारदारको बफादारी किन्नका लागि गोर्खाली राज्यलाई प्रदान गरेको थियो।’ उनी यस्तो उद्वेजनकारी प्रचार गरिरहेका छन्, शायद नियोजित हिसाबले।

ब्रिटिशले नगद दिन खोज्दा नेपालीले दुत्कारेको, मुखवदी रकम दिई भारदार किन्न खोज्ने ब्रिटिश एजेन्टलाई निकालेको, नगद त के पश्चिमको राजा नै बनाइदिन्छौं भन्दा अमरसिंह थापाले ‘म निमकहराम होइन, नेपालको बफादार सिपाही हुँ’ भनेर अस्वीकारेको आदि नेपालको इतिहासका तथ्यहरू हुन्/छन् भने भारदारको बफादारी किन्न तराई बकस दिएको भन्ने कुरा सोह्रै आना असत्य छ।

हिमाल, पहाड र तराईको सम्बन्धबारे पनि मेरो ‘गणतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्मः संघीयताको समस्या र समीक्षा’ द्रष्टव्य छ। यसबाट तराई के हो भन्ने कुरा पनि स्पष्ट हुनेछ।

अंग्रेजले गोर्खाली रिक्रुट भर्ना गर्न बारम्बार मरिहत्ते गर्दा पनि जंगबहादुरले नानाभाँतीका तर्कले टारेका थिए। उनी भन्दा पहिलेका शासकले झ्न् दिने कुरै थिएन। लुकीछिपी गएकाहरूलाई जम्मा गरेर ब्रिटिशले गोर्खा रेजिमेन्ट खडा गरेको थियो।

युद्धपछि बलभद्र कुँवर लगायत केही गोर्खाली लाहोर गएर ‘लाहुरे’ बने। रणजित सिंहको शिख राज्य ब्रिटिशले लिएपछि ती पनि ब्रिटिश सेनामै विलीन भए।

सुगौली सन्धिको चार दशक र जंगबहादुर वितेको ८–९ वर्षपछि मात्र अंग्रेजहरूले गोर्खा रिक्रुट भर्ना सम्झौता गर्न पाएका हुन्।

जंगबहादुर त आफ्नो समयभरि सैनिक संगठन मजबूत पारिराख्ने कार्यमै लागिरहे। उनले आफ्ना भाइछोरालाई मुख्य दुइटा उपदेश दिएका थिए– “विदेश नीतिमा अंग्रेजलाई नचिढाउनु र घरमा राजालाई मानिराख्नु।

राणाराज्यका यी दुई खम्बा हुन्, यस कुरामा ध्यान दियौ भने तिमीहरूले यो राज्य थामी खाने छौ।” जंगबहादुरले अर्को कुरा पनि अवगत गराएका थिए– “मेरो सेखपछि कथंकदाचित् ब्रिटिश जोरी खोजेर लड्नै आयो भने बङ्गालीले जस्तो खुरुक्क राज्य नसुम्पनू।

जीउज्यान दिएर लड्नु, वीर गोर्खालीको नाम राख्नू, जिते राम्रै भो, हारियो भने पनि वीर गोर्खालीको गौरव रहनेछ। वृत्ति मिल्नेछ। पुरुषार्र्थको फल पाइनेछ। गोर्खाली हराम होइनन्, नेपालका बफादार सिपाही हुन्।”

जंगबहादुरले उक्त दुई खम्बा नढलुन्जेल रहन्छ भनेर राणाराज्यको आयु तोकेका थिए, जुन कालान्तरमा सही सावित भयो। भारतमा ब्रिटिश शासन समाप्तिसँगै राणाराज्यको बाहिरी खम्बा ढल्यो।

राजालाई ‘गद्दीच्यूत’ भनेर सरकारी मुखपत्रमा ठूला अक्षरमा घोषणा हुनासाथ राणाराज्यको भित्री खम्बा पनि ढल्यो। त्यसपछिको आन्दोलनको धक्काले राणाराज्यलाई समाप्त पार्‍यो।

बृटिश सरकारलाई मानी श्री ५ महाराजाधिराजलाई थामी यो राज्यको भोग गर्नू भन्ने जंगको भाइछोराहरूलाई उपदेश:

(यसतर्फबाट)

हाम्रा रीकुटलाई तालीम गर्नालाई साहेबहरूको जस्तो धेरै दीन लाग्दैन कीन भन्या कोहि मानिस पल्टनमा भर्ति भयाका छन्, कोही कोही मात्र नभयाका हुन् ति पनि पहाडमा घरघर बन्दुक तरबारहरू राख्ने दस्तुर हुनाले र चादमारी सीकार गरी रह्याका हुनाले यस्ता रीतसंग भर्न हान्नुपर्छ भनि थाह छ, औ तेस देखिन बाहेक जंतिमा जानेहरूले पनि बाटामा बन्दुक मर्कायाका देखनाले र जन्तीमा बन्दुक पर्काउनाले जन्ती गयाकासम्मलाई पनि बन्दुक छोड्नाको थाह सबैलाई रहंछ, सि्रफ अदब र केही कवायद मात्रै सीकाउनुपर्छ।

बृटिश सर्कार अती ठुला गवरमेन्ट हुन्, उनका राजमा सानासाना राजाहरू पनि खुसिसंग रह्याका छन्, बृटिशले हिन्दुस्तानका राजाहरूलाई उठाउं भन्या यकै वर्षमा साफ गर्न सक्छन् तपनि यस्ता कमजोरवाला राजाहरूलाई उनका मुलुक थामी राजन बराबरसंग थामी राखी दियाको र मजहबमा केही जोर नगर्‍याको देखदादेखदै यस्तो परोसीलाई छोडी अर्कातीर लागन्यालाई कांहां बेहत्तर होला, यस्को दृष्टान्त अघि मुसलमानका राजमा पनि दुख पायाकै हुन्, औ ऐहिले पनि पर्सियामा रुसले दखल गर्‍याको धेरै भयाको छैन, तपनि तेस ठाउँमा राजाहरूको इज्जत हिन्दुस्तानका राजाहरूको जस्तो रुसले राखीदीयाको छैन रवाफमा जाहरै छ।

बृटिश सर्कारको काम पर्‍याको वेलामा यतिका वर्षसम्म चैन गरी आयाका तावेदार राजाहरूले आफ्नो दौलत फौजहरूलाई लगाई सबैले मदत गर्नुपर्दछ, नेपाल सरकारले सक्यासम्मका फौजको मदत दिनालाई बहुत खुशी छन्।

बलवाका बेलामा हिन्दुस्तानका राजाहरूले हाम्रा भारदारहरूले यस्तो वेलामा केन येस्तो गर्न लाग्यो भनि मलाई भन्याथ्या, बृटिश सर्कारको जोर औ इमान्दारी समझी तेसवेलामा यती सक्यासम्मको फौज पनी पठाइ दियाथ्या, यसो भन्नाले हाम्रा फौजको मददले बृटिश सर्कारको जोर भयाको हो, भन्या घमण्ड गर्‍याको होइन, तिनहरूलाई दबाउनालाई बृटिश सर्कारको जोर प्रसस्त थियो, तर सारा हिन्दुस्तान संग्रालियाका वेलामा विलायति फौज झिकाइ तिन्हेरुलाई दबाउनालाई केही दीन भन्या लाग्न्या थिया।

बलवाका वेलामा हिन्दुस्तानीहरूले कलकत्तासम्मको राज तिम्रो हुन्छ, कीन यस्तो गर्छौ भन्दथ्या, लालच गरी मुलुक लिमात्र हुन्छ तै ति मुलुकमा फौज राखी थामन पनि पर्दथ्यो तेति थामनालाई फौज सामर्थ थियेन, आखीरमा पाहाडको आड गरी मात्र लड्नु पर्नेथ्यो, कस्तै गरी लड्ना पनी बृटिश सर्कारको जोरसंग केही लागन्या थीयन, बृटिश सर्कारसंग यक दीन मात्रै सामना भै लड्न सक्ने हिन्दुस्तानका राजाहरूमा ता मैले कसैलाई देख्याको छैन।

मैले यो पालीसी मेरा पछी आउने खानदानलाई पनी सीकायाको छु की रोलसंग आफ्नु प्राइमिनीष्टरी गर्नु, श्री ५ महाराज धीराजका गद्दीको लालच नगर्नु, गद्दीको रक्षा गर्नु, बृटिश सर्कारसंग दोस्ती कायम राख्नु, केही कुरा कहानी पर्दा नम्रता भै, धेरै फेरा आफ्नु रीत मजहवको बात समझउनु, बृटिश सर्कार ठुला हुन्, तेती गर्‍यापछी नीश्चै समझर्‍या छन्, उति गर्दा पनी मानेन र अघि सरी आउन लाग्या भन्या मैदानसम्म आउंदा केही नगर्नु, समझाउदै गर्नु, अघि हान्न (हात) आफुले नछोड्नु, उनले हात छोड्न लाग्या साह्रै जोर गर्न लाग्या भन्या पाहाडमा आड पैर गरी सक्यासम्म लड्नु बंगालीले मुलुक सोंप्याझै नसोंपनु, यसमा बहुतै नादानी ठहर्छ, पछी छोराछोरीको नोकरी लाग्दैन, लड्नुपर्‍याको कारण क्या हो भन्या अंग्रेजलाई जीतुला भनी होइन, आफ्नु निमकहलाली नीमीत्तमात्र हो, आफ्ना बाज्याबराज्युले मुलुक आर्जदा जस्तो जमामर्दी गर्‍या, सकन्याले उस भन्दा ज्यादा जमामर्दी गरी लडी मुलुक सोपनु यसले क्या हुंछ भन्या हेर गोर्खालीले जस् जस्सँग नोकरी गर्‍याको हुन् उन्हेरुले बेस गरी जंगको काम दीयाका छन्, पत्यार पनी पार्‍याका छन्, साफ जाहेरै छ, खास गोर्खाका मुलुकका बासंदा मै वही नोकरी गरी आयाका आफ्ना पुराना मजहव रीजरस्म जनमभुमि राजपाट छाड्नुपर्दा पनी केही लडेनन भने नपार, आफुले सक्यासम्मको जवामर्दी गरी आफ्ना संतानको पछी रोटी जगाई मर्नु भनी वेश गरी समझायाको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>