टिप्पणीशनिबार, मंसिर २७, २०७१
जंगबहादुरका असफल उत्तराधिकारी
श्री ३ जंगबहादुर राणाले अप्रत्यक्षतः राजारानीकै मूढताका कारणबाट आफ्ना विपक्षीहरूलाई पन्साउन सकेका थिए।
सत्ता प्राप्तिपछि उनी आफ्नो छवि सुधार्दै राज्यलाई स्थिर पार्न लागे। मावली (भीमसेन थापा) माथि लागेको अवगाल मेटाउने र गुमेको नेपाली भूमि फिर्ता गर्ने उनको जीवनको ध्येय रह्यो।
उनी ‘बलले होइन, सलले’ नै ब्रिटिशबाट फाइदा लिनेपट्टि लागेको काठमाडौंस्थित तात्कालिक रेजिडेन्टसँगको परिसंवादबाट थाहा हुन्छ। (हे. वार्ता)
जंगबहादुर बेलायत जाँदा पनि ब्रिटिश साम्राज्य कसरी बढेको रहेछ, त्यसको शस्त्र भण्डार र सैनिक संघटन कस्तो रहेछ भनेर बुझनेमा केन्द्रित रहे।
ढुकुटी भरी धन र सैनिक संघटन मजबूत भए धनबल–जनबलबाट जे पनि गर्न सकिंदो रहेछ भन्ने जंगले बुझे।
उनले ब्रिटिश र हिन्दुस्तानी राजाहरूसँग कति फौज छ भनी जानकारी माग्दा ब्रिटिश रेजिडेन्टले ‘माथिबाट यो विवरण केका लागि भनी सोधिपठाए के भन्ने’ भनेर सोधेका थिए।
त्यसको जवाफमा जंगले ‘हिन्दुस्तानका राजाहरू हाम्रो सैन्यशक्ति यति छ, उति छ भनेर फुर्ती लाउँछन्, त्यही बुझौं भनेर मात्र हो’ भनेका थिए।
त्यसपछि उताबाट लाठ साहेबले पर्सिया र रूसको समेत फौज विवरण पठाए, यताबाट नेपालको पनि विवरण पठाइयो।
वि.सं. १९३२–३३ मा रूसले बेलायतमा आक्रमण गर्दैछ भन्ने व्यापक चर्चा चल्यो। रूसले धावा बोल्यो भने इङ्गल्याण्डको मद्दतका लागि हिन्दुस्तानबाट फौज आउँछ भनेर अखबारमा छापिएको खबरले जंगका कान ठाडा भए।
उनले गोर्खाली पल्टन पठाउने आशय व्यक्त गर्दा रेजिडेन्टले खाली ठाउँमा गोर्खाली पल्टन राखिदिने भनेका पनि थिए।
तर, लडाइँ उठिगएको थिएन। लडाईं भइहाल्यो भने जंगबहादुरले भने जस्तै हुने, हिन्दुस्तानका गोरा पल्टन नझिकाउने, अहिले बेलायत र भारतमा सुरक्षाको व्यवस्था गरिएकै छ, महारानी भिक्टोरियाको सुरक्षा गार्डमा केही खाली भएमा गोर्खाली फौजको साटफेर हुने रेजिडेन्टले भनेका थिए।
यूरोपमा आफ्नो तालिमी फौज पठाएर सहयोग गरी बदलामा पहिले राप्ती–महाकाली बीचको तराई (नयाँ मुलुक) लिए जस्तै देश बढाउने जंगको धोको थियो।
त्यसको ४१–४२ वर्षपछि फेरि ब्रिटिशलाई मद्दत गर्नुपर्ने अवसर आउँदा चन्द्रशमशेर राणाले पनि दिल खोलेर मद्दत दिए।
त्यसरी प्रथम विश्वयुद्धमा लाखौं नेपालीको रगत बग्यो। त्यसको बदलामा भने ब्रिटिशहरूले चन्द्रलाई लोलोपोतो गरेर केही रकममै टाटो मारिदिए। दोस्रो विश्वयुद्धमा जुद्धशमशेरले पनि दिल खोलेरै अंग्रेजलाई मद्दत गरे।
भारतबाट अंग्रेज विदा हुन आज कि भोलि भइसकेको त्यो समयमा युद्ध सकिएपछि अंग्रेजहरूले नेपाललाई आफ्नो पुरानो सीमा दाबी गर्न भन्यो।
परन्तु जुद्धले आँटै गर्न सकेनन्। भाक्सु, देहरादुन र दार्जीलिङ, डुबर्सतिरका सचेत भइसकेका जनतालाई कज्याएर राणाशासन धान्न सकिन्न भनेर उनले सवासय वर्षपछि नेपालले पाएको स्वर्ण अवसर उसै गुम्न दिए।
नेता तीन प्रकारका हुन्छन्। पहिलोकोटिका शासक वा नेता देश–जनताको भलाइमा समर्पित हुन्छन्। दोस्रोकोटिका नेता देशको भलाइका साथै आफ्नो सत्ता स्वार्थ हेर्छन्। तेस्रो तहका नेता देश भड्खालामा जान्छ भने जाओस्, आफ्नो स्वार्थ बनिरहोस् भन्ने नीच सोचाइ राख्छन्।
नेपालको अढाइसय वर्षको इतिहासमा पृथ्वीनारायण शाह र बहादुर शाह पहिलो कोटिका राजनेता थिए भने जंगबहादुर दोस्रो कोटिका। त्यसपछिको शताब्दीमा विश्वेश्वरप्रसाद कोइराला राजनेता कहलाए। अहिलेका हाम्रा नेताहरूको कुरा गरिरहनै परेन।
________________________________________
दक्षिणको नाडी छाम्न जंगबहादुरले ब्रिटिश रेजिडेन्टसँग गरेको संवादः
हिन्दुस्तानमा बृटिस सर्कारको कति फौज छ। हिन्दुस्तानी राजाहरूको कति फौज छ। कस्मीरको कति फौज छ। तेस्को हिसाब साहेबसँग भया पठाईदिनु भया हुँदो हो।
उसतर्फबाट
मसँग भन्या छैन। फगत अफीसमा लेखी मगाई दिन्छु … अफिसबाट त्यो कागज किन माग्याको हो भनि सोधी पठाया …।
यसतर्फबाट
हीन्दुस्तानीहरूले कुरा गर्दा धेरै बढाई गर्दछन् र साहेबसँग सोध्या तहकीत होला भन्या कुराले हो …।
उसतर्फबाट
हिन्दुस्तानको बीलकुल फौज र पर्सीयाको, रुसको फौज औ अंग्रेजको सबै फौजको हिसाब लेखियाको कागज पठाईदियाको छ नेपालको पनि यस्तै खुलीयाको फौजको हीसाब लेखीयाको कागज पठाइदीनु होला …।
यसतर्फबाट
नेपालको फौजको कागज पठाइदियाको छ …।
(यो माथिको जवानी कुराकानीमा उसतर्फबाट आएका सवालजवाफ पूरा छैनन्)।
दुवैतर्फ हिन्दुस्तानका राजाहरूको र नेपालका फौजको संख्याको जानकारी गरेको र यूरोपको युद्धमा काला फौज नझिकाउने कुराः
इ माथि लेखियाका ३३ साल श्रावण भादौमा श्री ३ महाराजको र रजिडण्ट साहेबको जवानि कुराकानी भयाको उसतर्फबाट लेखवट आयाको
सन् ७६ सेप्टेम्बरको १० तारीखमा लाठ लिटनसाहेबले गर्डिलस्टोन साहेबलाई लेख्याको बेजिनिस चिठि साहेब मौसुफले श्री ३ महाराजलाई सुनाउनालाई भनि पठाईदियाको थियो र उस्को नक्कल लि राख्याको तर्जुमा…
तिमिले महाराज सर जंगबहादुरबाट हिन्दुस्तानका राजाबाबुको फौज कति छ भनि सोधनुभयाको कारण समेत खोली मिष्टर थानटलाई लेखेको चिठि उसले मलाई देखाउदा मैले सो हिसाबको कागज केहि पर्दा नराखी भयासम्मको पठाइदिनु भनी हुकुम दियाँ।
उस्को बदलामा महाराजबाट पनी नेपालका फौजका हिसाबको कागज पठाईदिया म खुसि मान्छु …
तिमीले मिष्टर थानटलाई आधा सर्कारी तवरसँग लेखेको चिठिमा महाराजका रायले लि पठायाको अर्थ केही गरी इंगलैण्डको र इउरोपका अरु वादसाहका बीचमा लडाई उठ्न गयो भन्या बीराना मुलुकमा कामलाई ज्मा गर्न होइन, हुन्यासम्म बीलायतका जंगी फौजहरूको हाल नयाँ बन्दोबस्त गरीसक्याको हुनाले तेस काम निमित्त हिन्दुस्तानबाट एउटा गोरा सीपाही पनि नझिकाउन्या हदमीत्थ भैसक्याको छ भन्या कुरा थाहा पाउनाले सर जंगबहादुरलाई खुसि हासिल हुन्याछ भन्या मेरा बुझ्नामा आउछ केही गरी तेस्को काम परि आयो भन्या बीराना मुलुकका कामलाई ज्मा गर्न्य सबै फौजको जोर पुग्न्या गरीसक्याका छन्।
हिन्दुस्तानबाट फौज झिकाई थपनुपर्दैन खाली केही गरी कुइनका धेरै फौज हाजिर नरह्याका बेलामा मिलासिया बढाउनु पर्न्या मिडीटेरेनीयन समुद्रमा हुन्याछ र महाराजका फौजको मात्र केही सारफेर हुन्याछ महाराजलाई यस मुद्दामा दोस्ती जाहेर गर्नु भयाकोमा मेरा तर्फबाट सुकुरगुजारी गरी यस चिठिको सब ब्यहोरा समझाइदिनु …।
रुससँग युद्ध भएमा गोरा फौज पठाउँदा खाली भएको किल्लामा नेपाली फौज राख्ने कुराः
श्री ३ महाराजका नाउँमा गर्डिस्टोन साहेबले सन् ७६ डिसेम्बरको १६ तारिखमा लेख्याको चिठिको तर्जुमा…
गयाको महिनाको आखीरमा तपायिका खाहिस बमोजिम रुसको र इंगलैण्डको लडाई भयो भन्या हिन्दुस्तानबाट मदद निमित्त फौज पठाउन्या छन् भनि छापावालाहरूले लेख्याको कुरो साँचो हो होइन भनि भाईसरायबाट दारीयाफ गर्नालाई मैले चिठि लेख्याको थियां
औ तपायिबाट यो कुराको सोधनी गर्नु भयाको बृटिस सर्कारबाट याहाँबाट फौज पठाउनु हुनाले खालि भयाका किल्लाहरूमा नेपाली फौज राखीदिउंला भन्या अभीप्रायले हो भन्या पनि सो चीठिमा मैले लेखिपठायाको थियां
लर्ड लिट्नसाहेबबाट तपायींबाट इमान्दारी साथ दिनु भयाको यो कुराको बदलामा उनको ठुलो कदरदानी तपायिलाई जाहेर गरीदिनु भन्या र यो कुरा बहाबाट कुईनका हजुरमा पनि जाहेर गरी दिउंला भनि मलाई तारमा खबर पठाईबक्सनुभयो।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
