समाचारशुक्रबार, पौष १८, २०७१
शीर्ष नेताको बैठक तय भएन
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले चार दिनभित्र सहमतिमा पुग्न वा सहमति नभए आफूलाई संविधानको प्रारम्भिक विधेयक ल्याउने अधिकार दिन प्रस्ताव गरेको दोस्रो दिन प्रमुख दलका शीर्ष नेताको बैठक तय हुन सकेको छैन ।
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीका स्वकीय सचिव रमेश आचार्यले अहिलेसम्म दलहरुको बैठक तय भएको जानकारी नआएको बताए ।
अध्यक्ष नेम्वाङले १७ पुसको कार्यव्यवस्था परामर्श समितिको बैठकमा चार दलका शीर्ष नेतालाई आमन्त्रण गरी सो प्रस्ताव गर्नु हुँदा नेताहरुले गम्भीरताका साथ छलफलमा जुट्ने विश्वास दिलाएका थिए ।
अध्यक्ष नेम्वाङले दिएको समयअनुसार २१ पुससम्ममा संविधानका अन्तरवस्तुमा सहमति हुनुपर्नेछ । सहमति हुन नसके नेम्वाङले नै मस्यौदा तयार पार्ने प्रस्तावलाई संविधानसभाले अनुमति दिनुपर्ने हुन्छ ।
नेपाली कांग्रेस र नेकपा एमालेले उक्त प्रस्तावमा सकारात्मक भएपनि एमाओवादी र मधेसी मोर्चा सहमतिको विकल्पलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएको छ । रासस
