खेलकुदआइतबार, माघ २५, २०७१
अयोग्य लडाकु, योग्य खेलाडी

१९ मंसीरमा हङ्कङमा आयोजित भर्टिकल पाँच किमी अन्तर्राष्ट्रिय दौडमा मिरा राई । तस्वीर: रिचर्ड बुल
राजनीतिबाट ठगिएकी मीरा राई (२४) अल्ट्रा म्याराथन मार्फत नेपालको शिर उँचो पारिरहेकी छन् ।
-नरेश नेवार
२४ माघमा हङ्कङमा सम्पन्न स्काई रनिङ एशियन च्याम्पियनसिप ५० किलोमिटर दौडमा मिराले जितेकी छन्।
५० किमि दौड ५ घन्टा ३९ मिनेट ३१ सेकेन्डमा पूरा गरेकी मीरा महिला तर्फ पहिलो भइन भने समग्रमा छैटौं । ट्रफीसँगै मीराले ८ हजार हङकङ डलर प्राप्त गरेकी छन् ।
हङकङमै गत डिसेम्बरमा भएको प्रतियोगितामा पनि मीराले नयाँ रेकर्डसहित स्वर्णपदक हात पारेकी थिइन् । अक्टोबरमा भएको यही प्रतियोगितामा उनी महिलाको समूहमा प्रथम भइसकेकी थिइन् ।
सेप्टेम्बरमा इटालीमा भएको प्रतियोगिता उनको जीवनको पहिलो अन्तर्राष्ट्रिय अनुभव थियो, जहाँ उनले प्रथम हुँदै रेकर्ड नै तोडिन् ।
२४ वर्षीया मीरालाई यतिबेला अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरकै वरिष्ठ खेलाडी मान्न थालिएको छ । तर, उनको कथाको शुरुआत खेलबाट होइन, राजनीतिबाट भएको थियो ।

मिरा माओवादी छापामार हुँदा ।
भोजपुरको सानो दुम्माना गाउँकी मीराका लागि सक्ने भएदेखि नै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो । आफ्नो उमेरभन्दा दोब्बर तौलको भारी बोकेर उकाली–ओराली गर्दा उनलाई अल्ट्रा म्याराथन खेल संसारमा हुन्छ भन्ने थाहै थिएन ।
जसोतसो एसएलसी पास गरेपछि अब के गर्ने, कसरी पढ्ने भन्ने कुराले उनलाई सताउन थाल्यो । गरीब परिवारसामु थप दुःख गर्नुबाहेक उपाय पनि थिएन । साथीहरूको लहलहैमा उनी १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगिन् ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि मीरा अयोग्य लडाकूको सूचीमा परिन् । “सरकारले मात्र होइन आफ्नै पार्टीले समेत अयोग्य भनेपछि कुन मुख लिएर घर जानु भनेर बाहिरै बस्न थालें”, गम्भीर हुँदै उनी भन्छिन्, “ठूलो धोका पाइयोे ।” घर फर्कन पनि नसकिने र जागिर पनि नपाइने त्योबेला थुप्रै ‘अयोग्य’ साथीहरूसँग जिल्लामै सानोतिनो काम गर्न थालिन् ।
काठमाडौंमा उनकी साथी थिइन्, अनुपम मगर । कराँतेकी अन्तर्राष्ट्रिय खेलाडी उनै अनुपमले मीरालाई काठमाडौं आउन र कराते खेल्न प्रोत्साहित गरिन् । कराते हुँदै उनी अल्ट्रा म्याराथनमा आइपुगेकी हुन् ।

२४ माघमा हङ्कङ्मा सम्पन्न ५० किमी दौडमा मिरा ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा आफ्नो परिवार नपुगेको ठाउँमा पुग्न र देशको नाम राख्न पाउँदा मीरालाई खुशी लाग्छ । तर, हौसला र सम्मानले मात्र जीवन धान्न गाह्रो परिरहेको छ । महीनाको चार, पाँच हजारको कमाइले आफूसहित भाइबहिनीको खर्च पनि पु¥याइरहेकी छन् । “तर, म हरेश खान्न । सधैं यस्तो हुँदैन भन्ने लाग्छ”, आत्मविश्वास साथ भन्छिन् ।
सरकारले ‘अल्ट्रा म्याराथन रनिङ’ खेललाई मान्यता दिएर प्रतियोगिता सञ्चालन गरे मीरा जस्ता खेलाडीलाई राहत मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम पनि राख्न सकिन्छ ।
“विदेशमा दौड्दा सबैले गोर्खा, गोर्खा भन्दै हौसला दिन्छन्, त्यतिबेला गर्व लाग्छ, तर अब देशले पनि यो खेलका लागि केही गर्ने बेला आएको छ”, मीराको भनाइ छ ।
नेपाली महिलालाई अल्ट्रा म्याराथन खेलको तालीम दिनु र उनीहरूलाई विश्वकै उत्कृष्ट खेलाडी बनाउनु मीराको भविष्यको सपना हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
