समाचारआइतबार, कार्तिक १२, २०६९
भट्टराई सरकार हट्नुपर्छः कांग्रेस र एमालेको निष्कर्ष
दुवै दलका शीर्ष नेताहरुबीच १२ कार्तिक साँझ राजधानीमा भएको छलफलमा सङ्कटको निकासको लागि नयाँ राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने र त्यसको लागि वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले राजीनामा गरी ठाउँ खाली छाड्नुपर्ने निष्कर्ष निकालेका हुन् ।
नयाँ राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाओवादी तयार नभएसम्म ऊसँग वार्ताको कुनै गुञ्जायस नभएको भन्दै बैठकले सरकार हटाउन आन्दोलनमा जाने पनि चेतावनी दिएको छ ।
एमाओवादीले अघि सारेको प्रस्तावमा कुनै नयाँ कुरा नभएको तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले हालै विभिन्न दलका नेताहरुसँग गरेको वार्ता र सो क्रममा अघि सारेको प्रस्तावलाई पनि दुवै दलले अस्वीकार गरेको बैठकपछि नेताहरुले जानकारी दिए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादीले प्रस्तुत गरेको प्रस्तावमा कुनै नयाँ कुरा नभएको भन्दै त्यसमा भट्टराईको सरकारलाई निरन्तरता दिने कुरा भएकाले प्रस्ताव अस्वीकार गरिएको बताए ।
“मुलुकका यावत समस्या समाधान गर्न सहमति नगरी हुँदैन, त्यसका लागि वर्तमान सरकारले ठाउँ खाली छाड्नुपर्छ, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने प्रक्रियामा पुगेर मात्र अरु कुरामा छलफल गर्न सकिन्छ,” अध्यक्ष खनालले भने ।
अध्यक्ष खनालले यदि सरकार राष्ट्रिय सहमतिको बाटोतर्फ हिँड्दैन भने काँग्रेस र एमालेले संयुक्त आन्दोलनलाई अघि बढाउने प्रष्ट पारे ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीका अध्यक्षले हालै विभिन्न नेताहरुसँग भेटेर राखेको प्रस्ताव बारे बैठकमा छलफल भएको भन्दै यो सरकार हटाएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि एमाओवादी तयार नहुँदासम्म उनीहरुसँग सहमतिको विल्कुलै सम्भावना नभएको बताए ।
“एमाओवादीसँग चुनावमा जाने नियत पनि देखिएन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर त्यसअनुसार संविधान निर्माणको नियत पनि देखिएन,” उपसभापति पौडेलले भने ।
बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति पौडेल तथा नेकपा एमालेका अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरु सहभागी थिए ।
