समाचारबिहीबार, कार्तिक १६, २०६९
नयाँ निर्वाचनमा जाने कांग्रेसको निर्णय
केन्द्रीय कार्यालय सानेपामा १५ कार्तिकमा बसेको बैठकले संविधानसभाको पुनःस्थापनाबाट नयाँ संविधान बनाउन धेरै अवरोध रहेको भन्दै अबको राजनीतिक गतिरोध अन्तका लागि संविधानसभाको नयाँ निर्वाचनमा जानुपर्ने सहमति भएको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताए ।
“निर्वाचनका लागि यो सरकार तत्काल फेरिनुपर्दछ, नयाँ राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ, नयाँ सरकारले मात्र बाँकी अवधिको लागि बजेट ल्याउन सक्छ र आउँदो वैशाखभित्र नयाँ निर्वाचन गर्ने गरी मिति तोक्नुपर्छ,” प्रवक्ता बडूले भने ।
बैठकले अब अरु धेरै समयसम्म विवादित विषयमा छलफल गरिरहनुको सट्टा नयाँ संविधानसभा÷संसदको निर्वाचनमा जानु नै देश, जनता र लोकतन्त्रको पक्षमा एक मात्र उपयुक्त कदम हुनेछ भन्दै दलहरूबीच सहमति जुटाउन कांग्रेसले अग्रसरता लिने निर्णय गरेको छ ।
वर्तमान सरकार नैतिक, राजनीतिक र संवैधानिक दृष्टिले वैधानिकता गुमाइसकेकाले यो सरकारको नेतृत्वलाई खारेज गरी नयाँ राजनीतिक सहमतिको सरकार गठन हुनु अनिवार्य रहेको ठहर पनि काँग्रेसले गरेको छ ।
त्यसैगरी सरकार बाहिर रहेका सबै राजनीतिक दलहरूबीचमा राष्ट्रिय एकता निर्माण गरेर एनेकपा माओवादीको सत्ता कब्जाको षडयन्त्रविरुद्धमा र विद्यमान राजनीतिक गतिरोधको अन्त्य गरी मुलुकलाई निकास प्रदान गर्नका लागि सङ्घर्षमा उत्रन कांग्रेसले सबैसँग आग्रह गरेको छ ।
बैठकले निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न कांँग्रेसको नेतृत्वमा राजनीतिक सहमतिको सरकार गठन गर्ने र सहमति बमोजिम संविधानसभा÷संसदको निर्वाचनसम्बन्धी व्यवस्थालगायत निर्वाचनसम्बन्धी सबै प्रबन्ध गर्नुपर्नेमा आवश्यकता औँल्याएको छ ।
बैठकमा सभापति सुशील कोइरालाले निर्वाचनमा जानु पर्नेमा र वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले चुनावमा जानपनि संविधान संशोधन गर्नपर्ने भएकोले संविधानसभा केही समयको लागि पुनस्र्थापना गर्न सकिने धारणा राखेका थिए ।
उपसभापति पौडेलले कार्यपालिकाबाट संविधान संशोधन गर्ने नजिर बसाउन नहुनेमा जोड दिएका थिए ।
