समाचारबिहीबार, कार्तिक १६, २०६९
न्यायाधीशका लागि सातसय बढी आवेदन
परिषद्का सचिव जीवनहरि अधिकारीका अनुसार अन्तिम दिन १५ कार्तिकसम्म पुनरावेदन अदालतको मुख्य न्यायाधीश र न्यायाधीशका लागि ५०० भन्दा बढी र जिल्ला अदालतका न्यायाधीशका लागि १८० जनाले आवेदन फारम भरेका छन् ।
दुवै तहका अदालतका लागि परिषद्मा दर्ता भएका, हुलाकबाट आएका र इमेलबाट आएका आवेदन फारामलाई एकीकृत गरी दर्ता गर्ने काम भइरहेकोले आवेदकको सङ्ख्या यकिन हुन नसकेको उनले बताए ।
परिषद्ले गत असोज १९ गतेदेखि न्याय क्षेत्रमा निश्चित योग्यता पुगेका अनुभव प्राप्त व्यक्तिहरूलाई तोकिएको ढाँचामा आवेदन फारम बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
आवेदकहरूको सुविधाको लागि परिषद्ले दशैं विदाका समयमा पनि परिषद् खुल्ला राख्नुका साथै हुलाक र इमेलमार्फत आएका आवेदन पनि दर्ता गर्ने गरेको थियो ।
हाल पुनरावेदन अदालतमा ३२ र जिल्ला अदालतमा ४२ न्यायाधीशको दरबन्दी रिक्त छ ।
