समाचारबिहीबार, कार्तिक १६, २०६९
निर्णायक भनिएको वार्ता निष्कर्षविहीन
नेकपा एमाले नेता कृष्णलाल महर्जनको ललितपुरको बालकुमारीस्थित निवासमा १६ कार्तिक अपरान्ह करिब दुई घण्टा चलेको बैठकमा दलका शीर्ष नेताहरुले आआफ्ना दलगत धारणा राखेका थिए ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आजको शीर्ष बैठकमा संविधानसभाको निर्वाचनको मिति, सदस्य सङ्ख्या, संविधान संशोधन, राष्ट्रिय सहमतिको सरकारलगायतको बारेमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको बताए । अध्यक्ष दाहालका अनुसार १७ कार्तिकमा अरू नेताहरुलाई पनि सहभागी गराएर सहमति गर्ने बारेमा सबै नेताहरु सकारात्मक देखिएका छन् ।
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले भने आजको बैठकको छलफल हेर्दा भोलि सहमति हुने सम्भावना निकै कम रहेको प्रतिक्रिया दिए ।
बैठकमा एकीकृत माओवादी अध्यक्ष दाहाल, नेपाली काङ्ग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिकका पार्टी अध्यक्ष महन्त ठाकुरको सहभागिता थियो ।
