समाचारशुक्रबार, पौष १२, २०७०

छाउपडी गोठबाट घरमा

हिमालखबर

डडेल्धुरा, अजयमेरू गाविसकी पार्वती भाट ऐरलाई अहिले महिनावारी हुँदा गोठमा बस्नु पर्दैन । तर, त्यो गाउँमा छाउपडी प्रथा उन्मूलन भने भइसकेको छैन ।

जोगबुढा गाविसमा जन्मेकी पार्वतीकोे माइतीगाउँमा छाउपडीप्रथा (महिनावारी हुँदा घरबाहिर गोठ वा छाप्रोमा बस्ने चलन)मा सुधार आए पनि कर्मगाउँ अजयमेरूमा अझै यसका अवशेष बाँकी छन् ।

लू निभाः बालसरोकार समूहमा सामाजिक परिचालकका रूपमा कार्यरत पार्वतीको गाउँ जान डडेल्धुरा सरमुकामबाट उत्तरतर्फ पैदल हिँड्दा तीन घण्टा लाग्छ । अहिले यहाँका विद्यालय, संस्थाका कार्यालय वा बजारतिर भने छाउपडीको असर हटिसकेको छ । समैजी गाविसस्थित सरस्वती निमाविका प्रधानाध्यापक डिल्लीराज भट्टका अनुसार महिनावारी हुँदा बालिकाहरू विद्यालय नआउने समस्या हाल कायम छैन ।

डडेल्धुरालगायत सुदूरपश्चिमका केही जिल्लामा छाउपडीप्रथा परम्परागत संस्कार मानिन्छ । छाउपडीमा प्रायः महिलालाई घरभित्र बस्न दिइन्न । घर नजिकैको गोठ वा छाप्रोमा बसाइन्छ । सानो बच्चामा आमा भए पनि बच्चासहित गोठमा बस्नुपर्छ । जसका कारण महिलाहरू असामनता, एक्लोपना र हेलात्वबाट ग्रसित हुन्छन् । उनीहरूलाई अरूले प्रयोग गर्ने शौचालय वा धारामा पनि जान दिइन्न तर भान्छाको बाहेक अरू सबै काममा नियमित खट्नुपर्छ ।

पार्वतीका श्रीमान् पेशाले शिक्षक भएकाले उनले अरू महिलाले जस्तो भेदभाव व्यहोर्नु परेन । उनका श्रीमान्ले सामान्य रूपमा लिए पनि घरछिमेकका बुढापाकाले छाउपडीमा घरभित्र बसेको मन पराउँदैनन् । परम्परागत मान्यतालाई अटेर गरेका अनिष्ट हुनसक्ने भावी पिँढीले दुःख पाउँने अन्धविश्वास गरिन्छ । छाउपडी तत्कालीन कर्णाली (खसान) राज्यदेखि चलेको शब्दावली हो ।

“छाउपडी नबार्ने हो भने घरमा केही अनिष्ट भएमा तैँले गर्दा भयो भन्ने आरोप पनि महिलाले खेप्नुपर्छ,”सामाजिक परिचालक भएर आग्रह गर्दा आफ्ना अनुभव सुनाउँदै पार्वर्ती भन्छिन् ।

परम्परागत संस्कार कायम रहेका घरका महिलामा महिनाको चार दिन छाउपडी होइन महिलाले खाटमा सुत्नु हुँदैन भन्ने गलत मान्यताको समस्या पनि कायमै छ । महिनावारी नभएको बेलामा पनि श्रीमान्हरू खाटमा र श्रीमतीहरू भुइँमा सुत्नुपर्छ । महिलाहरू खाटमा सुतेमा पनि देउता रिसाउँछन् भनिन्छ । हुन त, यहाँका गाउँका अधिकांश घरमा खाट हुँदैन ।

मजेयमेरू सहस्रलिङ्ग उमाविमा कक्षा १२ मा अध्ययनरत हरिना भट्ट पनि छाउपडीमा केही सुधार आए पनि पूर्णरूपमा अन्त्य नहुनुमा बुढापाकाले ‘हामी मरेपछि जे सुकै गर, हामी हुन्जेल भनेको मान’ भन्ने सोच जिम्मेवार रहेको बताउँछिन् ।

दुई दशकअघि डेप्रोस संस्थाबाट सामुदायिक विकास कार्यक्रम संयोजकका रूपमा जिल्लामा काम गरेका पाटन संयुक्त क्याम्पसमा सहायक क्याम्पस प्रमुख बाबुरामसिंह थापा त्यसबेला सुदूरपश्चिममा अँध्यारो युग भएको बताउँछन् । “अहिले त भर्खर परिवर्तन भएको छ भने त्यसबेला यसमा सुधार ल्याउने प्रयास कठिन हुन्थ्यो । परिवर्तन गर्न खोज्दा मष्ट (वायु) देउताले सहँदैनन् भनिन्थ्यो,”थापाले भने ।

परम्परागत संस्कार हट्न नसक्नुमा अशिक्षा र गरिबी पनि कारण मानिन्छ । एसएलसी उत्तीर्ण गरेर स्थानीय होटलमा काम गरिरहेका शेरबहादुर ऐर गरिबीका कारण यस्तो भएको बताउँछन् । तर, महेन्द्र नमुना उमाविमा कक्षा ९ मा अध्ययनरत डोटीघटान गाविसका रोहित बोहरा गरिबीलाई भन्दा अशिक्षालई दोष दिन्छन् । उनले आफ्नो गाउँमा आमा दिदीबहिनीलाई महिनावारीमा घरभित्रै बस्न दिन थालिएको बताए ।

भद्रपुर उमाविका शिक्षक पुष्पराज भट्ट भने छाउपडी अछामतिर केही समस्या भए पनि हाल सञ्चारमाध्यममा आएजस्तो सुदूरपश्चिमकै समस्याको विषय नभएको दाबी गर्दै भने, “यो यहाँको ठूलो समस्या नै होइन मिडियाले बढी प्रचारमा ल्याएको मात्रै हो ।”
प्रकाश सिलवाल, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>