समाचारशुक्रबार, आषाढ २०, २०७१

मासिन सक्छ यार्सागुम्बा

हिमालखबर

– बच्चु विक, सैपाल (बझाङ) बाट फर्केर

स्वाद थाहा नभए पनि बझाङको रिलु–८, धारकी रमिता बोहरा (१४) चार वर्षयता वैशाखदेखि असारसम्म शक्तिवर्द्धक यार्सागुम्बा पाइने हिउँले ढाकिएको उत्तर क्षेत्र पुग्छिन्। यार्सा बेचेर आउने रकमले पढाइ खर्च जुटाउँदै आएकी उनले यो वर्षको जेठ मसान्तसम्म चीनको तिब्बतसँग सीमा जोडिएको काँडा गाविसको कालापानी (४ हजार २२१ मिटर उचाइ) मा ३५ वटा यार्सा टिपेको बताइन्। सत्यवादी उमावि, भोपुरमा ८ कक्षा पढ्दै गरेकी उनी पानी पर्न थालेकोले थप यार्सा पाइएला भनेर अहिले उत्साहित छिन्। धेरै यार्सा पाइएमा आमालाई एक जोर नयाँ कपडा किनिदिने उनको योजना छ।

बझाङको सैपाल क्षेत्रमा यार्सा टिप्दै । तस्वीर: बच्चु विक

त्यति नै उचाइको राइढुङ्गामा छोरा र भतिजासँग भेटिएका चैनपुरका किसन कुँवर (४२) ले यार्सा खाँदा जोश आए जस्तो तथा गर्मी महसूस हुने बताए। तर, पैसा कमाउन कहिल्यै सग्लो यार्सा नखाने उनको यो वर्ष यार्सा टिपेर कमाएको पैसाले नयाँ घर बनाउने योजना छ। यो वर्ष ३०० यार्सा टिपिसकेका उनले आठ वर्षदेखि सैपाल हिमाल (७ हजार ३१ मिटर) नजिकको राइढुङ्गामा यार्सा टिप्दै घर खर्च र चैनपुरको बोर्डिङमा तीन जना छोराछोरी पढाउँदै आएका छन्। खेतबारी नभएका उनी गत वर्ष रु.३ लाख कमाएको र यो वर्ष पनि त्योभन्दा कम कमाइ नहुने बताउँछन्।

सैपालको पश्चिमी किनारहुँदै तिब्बती सिमानाको ताक्लाकोट, उरैभञ्ज्याङ पुगेर फर्केका काँडा–७, धुलीका टसी तामाङ (७१) लाई पनि यार्सागुम्बा नपाउने चिन्ता छैन। आफूले टिप्ने र अरूले टिपेको पनि किन्ने गरेका उनी गाउँका सबैको जीवन यार्साले नै चलाएको बताउँछन्। दुई दशकदेखि यार्सा खोज्न र बेच्न लागेका उनी सरकारी संयन्त्रको अनुपस्थिति, भौतिक पूर्वाधारको अभाव र गरीबीको मारमा रहेका दुर्गम भेगका बासिन्दालाई यार्सागुम्बाले ‘आत्महत्या’ गर्नबाट जोगाएको बताउँछन्।

सैपालको काखमा रहेका राइढुङ्गा, कालापानी, नयाँ, इमलटार लगायतका ठाउँमा यार्सा खोजिरहेका टसी जस्ता ३० हजार भन्दा बढी मानिस यार्साको भरमा बाँचिरहेका छन्। यार्सा व्यापारको अनुगमन गरिरहेका बझाङ जिल्ला वन कार्यालयका अधिकृत राजीव चौधरी पनि आयआर्जनको स्रोत नभएका बझाङवासीलाई यार्साले नै वर्षभरि खान पुग्ने बनाएको बताउँछन्। सदरमुकाम चैनपुरभन्दा उत्तरका गाउँका बासिन्दाहरूलाई एक किलोको रु.२४२ पर्ने तराईबाट आउने मोटो चामल खान सक्ने यार्साले नै बनाएको काँडा गाविस सचिव धनबहादुर घर्तीमगर बताउँछन्। सदरमुकाम चैनपुरमा रु.१० मा पाउने बिस्कुटको ती गाविसमा रु.४० पर्छ भने चाउचाउको रु.४५; दाल एक किलोको रु.३२५।

आर्थिक टेको

हिमाली क्षेत्रका २५ वटै जिल्लामा यार्सा पाउने सम्भावना भए पनि दार्चुलाको खण्डेश्वरी, घुँसा, राप्ला र व्याँस, बझाङको काँडा, नयाँ र राइढुङ्गा, मुगुको मेगाउँ र डोल्पाको मैकोटमा बढी पाइन्छ। यो वर्ष दार्चुलामा २५, बझाङमा ३०, डोल्पामा ४३ र मुगुमा २० हजार मानिस यार्सा खोज्न पुगेको अनुमान छ। खाने र सुत्ने बन्दोबस्त गरेर मध्य वैशाखमा गएका उनीहरू असार मसान्तपछि मात्र फर्किने दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रका वार्डेन अशोककुमार राम बताउँछन्।

यार्सा संकलन शुरू हुँदादेखि नै ती क्षेत्रमा व्यापारीहरू पुग्छन्। प्रत्येक क्याम्पमा रहने व्यापारीका एजेन्टले प्रत्येक दिन संकलन भएको यार्साको हिसाब राख्छन्। अहिले एउटा यार्साको रु.५०० को हिसाबले किन्न थालेको व्यवसायी कञ्ज भण्डारीको भनाइ छ। गत वर्ष एक किलोको रु.१९ लाखमा बिक्री भएको यार्सा यो वर्ष रु.२३/२४ लाख प्रति किलोमा बिक्री हुने अनुमान छ। गत वर्षको यार्सा ‘स्टक’ नभएकोले यो वर्ष मूल्य बढेको व्यापारीको भनाइ छ।

गत वर्ष दार्चुला, बझाङ, डोल्पा र मुगुबाट १ हजार ५०६ केजी यार्सा बिक्रीका लागि अनुमति लिइएको तथा रु.१ करोड ५० लाख ६० हजार राजस्व संकलन भएको थियो भने यार्सा निकासीबाट रु.२ अर्ब ८६ करोड १४ लाख ती जिल्लामा भित्रिएको थियो। जसमध्ये ७५ प्रतिशत रकम हिमाली क्षेत्रका बासिन्दासम्म पुगेको यार्साका बारेमा अध्ययन गरेका बझाङ जिल्ला वन कार्यालयका डीएफओ रमेश चन्द बताउँछन्।

तस्करी बढी

तर, सबै यार्सा जिल्ला वन कार्यालयको छूटपुर्जी लिएर मात्र बिक्री हुँदैन। राजस्व तिरेर कारोबार गरिने भन्दा दोब्बर यार्सा सीधै उत्तरी नाकाहुँदै तिब्बत पुग्छ। हिमाली क्षेत्रमा सरकारी उपस्थिति नभएकाले उत्तर नाकाहुँदै तिब्बत पुर्‍याउन व्यापारीलाई सजिलो भएको बझाङका वन अधिकृत सुजितकुमार झा स्वीकार्छन्।

आर्थिक वर्ष २०६९/७० मा मुगुमा २० हजार भन्दा बढी संकलकले यार्सा टिपेकोमा वन कार्यालयले ६ केजीको मात्र राजस्व पाएको थियो भने गत वर्ष पनि ३३.४ किलोको मात्र राजस्व आएको थियो। तर, दार्चुलामा भने अरू जिल्लाभन्दा यार्सा दोब्बर संकलन भएको तथ्याङ्क छ। चीन, भारत, नेपाल र भूटानमा पाइने यार्सा भारतमा प्रतिबन्धित छ भने चीनमा खुला छ। दार्चुलाको तिङ्कर र खण्डेश्वरी, बझाङको उरैभञ्ज्याङ र राइढुङ्गा, मुगुको नाम्ला भञ्ज्याङ, डोल्पाको याला भञ्ज्याङ तथा हुम्लाको लाप्चे र चाङला भञ्ज्याङहुँदै नेपालको यार्सा अवैध रूपमा तिब्बत पुर्‍याइन्छ। दार्चुलाको तिङ्कर र खण्डेश्वरीबाट बझाङको सैपालहुँदै राइढुङ्गाबाट तिब्बत पुर्‍याउने अर्को सजिलो नाका छ भने डोल्पा, मुगुको यार्सा पनि हुम्लाको राइढुङ्गा नजिकैको नाम्ला भञ्ज्याङबाट अवैध रूपमा तिब्बत लगिन्छ। बझाङ–हुम्लाको राइढुङ्गा नजिकको नाका बझाङको धुली सीमा प्रहरी चौकीबाट चार दिन टाढा छ भने हुम्लाको सीमा प्रहरी चौकीबाट पाँच दिन टाढा।

खोजी कठिन

महँगो यार्साको खोजी निकै कठिन छ। तीन महीनासम्म यार्सा खोज्न उच्च हिमाली क्षेत्रमा बस्नुपर्दा कैयौं व्यक्ति लेक लागेर बिरामी पर्छन्। कुहिनो र घुँडा धसेर यार्सा खोज्नुपर्ने भएकाले कैयौं घाइते हुन्छन्। त्यहाँबाट फर्कनेहरू पछिसम्म पनि हातखुट्टा तन्काउन नसक्ने गरी बिरामी पर्ने गरेको यार्सा संकलक किसन कुँवर बताउँछन्।

यार्सा खोज्ने क्रममा कैयौंले ज्यान समेत गुमाएका छन्। बझाङमा जेठ महीनामा मृत्यु भएका दुई जनामध्ये एक जना ६ कक्षाका विद्यार्थी पुरनबहादुर रोकाया (१२) थिए। तीन वर्षदेखि यार्सा संकलन गरेर घरखर्चमा सहयोग पुर्‍याउँदै आएका पुरनको मृत्यु भएपछि परिवारका अरू सदस्य घर फर्किए। अपसकुन भएकाले घर फर्किएको पुरनका बुवा अस्मान (५२) बताउँछन्। काडा―७ मा आलु र फापर मात्रै फल्ने बारी भएका उनी बँचेका चार छोराछोरी सहित ६ जनाको परिवारलाई पाल्ने चिन्तामा छन्।

यार्सा संकलन गर्नेहरूबाट शुल्क लिने जिल्ला विकास समिति र गाविसहरूले कुनै सुविधा दिएका छैनन्। बझाङका गाविसहरूले एक जना संकलकबाट रु.३००, जिविसले जिल्लाका बासिन्दाबाट रु.५०० र अन्य जिल्लाका बासिन्दाबाट रु.१००० का दरले प्रवेश शुल्क उठाउँछन्। दार्चुला, डोल्पा र मुगुमा त्यति नै प्रवेश शुल्क उठाउने गरिएको छ। यसरी शुल्क लिने निकायहरूले प्राथमिक उपचार र सुरक्षा प्रबन्ध पनि गर्नुपर्ने यार्सा संकलक टसी लामाको माग छ।

जथाभावी दोहन

च्याउ प्रजातिमा पर्ने यार्साको संकलन नेपालमा २०५८ देखि खुल्ला गरिएको हो। त्यसयता प्रत्येक वर्ष हजारौं मानिस हिमाली क्षेत्र पुगेर यार्सा टिप्ने गर्छन्। प्रत्येक वर्ष नटिप्दा कुहिएर खेर जाने भए पनि अहिले जसरी अव्यवस्थित रूपमा टिप्दा नोक्सान हुने इकोलोजिस्ट विना वाग्लेको भनाइ छ।

जथाभावी टिप्दा यार्सा अर्को वर्ष नउमि्रने गरी मासिने सम्भावनाबारे यार्सा संकलकहरूले थाहा पाएका छैनन् भने उनीहरूलाई कसैले यसबारे जानकारी पनि दिएको छैन। केहीले सुरक्षित रूपमा टिप्ने गरे पनि अधिकांशले कोदालोले खनेर टिप्ने गरेको पाइन्छ। त्यसो गर्दा अर्को वर्ष यार्सा उत्पादन नहुने बझाङका जिल्ला वन अधिकृत रमेश चन्द बताउँछन्। यार्साको संकलन, भण्डारण र कारोबार सम्बन्धी अनुगमन गर्नु जरुरी भइसकेको उनको भनाइ छ।

_______________________________________________________________________________

व्यवस्थित गर्न जरुरी

रमेश चन्द, डीएफओ, बझाङ

अवैध रूपमा कारोबार भएको थाहा पाएपछि हामीले नै यार्सामा प्रतिबन्ध हटाउन पहल गरेका हौं। यसमा प्रतिबन्ध हटेपछि हिमाली क्षेत्रमा आर्थिक क्रान्ति नै ल्याएको छ। हिमाली क्षेत्रका बासिन्दाको आर्थिक हैसियत बलियो भएको छ भने जीवन पहिलेभन्दा सुखी बनेको छ। राज्यले पनि करोडौं रुपैयाँ राजस्व पाएको छ।

तर, यसको संकलन, भण्डार र कारोबार हेर्ने राष्ट्रिय नीति बनेको छैन। किनभने, यही हिसाबले संकलन हुने हो भने कुनै दिन नष्ट पनि हुन सक्छ। दार्चुलादेखि डोल्पासम्ममा सबैभन्दा राम्रो यार्सा डोल्पामा पाइन्छ। डोल्पाको यार्सा एक केजी पुग्न २५ सयदेखि ३ हजार वटा भए पुग्छ भने अन्य जिल्लामा एक किलो पुग्न ३५ सयदेखि ४ हजार वटा चाहिन्छ।

सबै जिल्लामा अहिलेसम्म अव्यवस्थित रूपमा संकलन गरिन्छ। व्यवस्थित तरीकाले संकलन गर्ने तरिका अहिलेसम्म सिकाउन सकिएको छैन। कसरी टिप्ने तथा कसरी राख्ने भन्नेबारे सिकाउनु आवश्यक छ। प्रवेश गर्ने नाकामा क्याम्प राखेर तालिम दिन नसकिने होइन। उनीहरू बस्ने क्याम्पमै गएर पनि सिकाउन सकिन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>