समाचारशनिबार, पौष १२, २०७१
गढीमाईको सिनो बहिस्कार: किन स्वीकारेन समुदायले ?
– गोकुल घोरसाइने
गढीमाईको सिनो बहिष्कार अभियान चलाउन तीन दिनदेखि बधशालाको उत्तरतर्फको ढोका सामुन्ने पाल टाँगेर बसेका चमार समुदायका अगुवाहरू आफैंमाथि आक्रमण हुने अवस्था आएपछि १२ मंसीर साँझ् ५ बजेअघि नै त्यहाँबाट भाग्नुपर्यो।
बधशाला सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीलाई समेत पर्वाह नगरी भित्र पसेको ठूलो समूहले बिहान बलि दिइएका करीब ४ हजार ५०० राँगाको मासु लुछाचुँडी गर्दै रातारात घर पुर्याहयो।
“एक छाकको लागि जिन्दगीभर कलङ्क बोक्न तयार भएपछि के गर्नु?” सिनो बहिष्कार संयुक्त संघर्ष समितिका अध्यक्ष महन्थ राम भन्छन्, “हाम्रा कुरा सुन्न कोही तयार भएनन्, उल्टै आक्रमण गर्न खोजेपछि ज्यान जोगाउनै मुश्किल भो।”
पाँच वर्षअघि पनि सिनो बहिष्कार आह्वानको अवज्ञा गर्दै यसैगरी बलिको मासु खोसिएको थियो।
बारा, पर्सा, रौतहट र सीमापारिका चमार र अन्य केही समुदायमा गढीमाईमा बलि दिइएको राँगाको मासुलाई प्रसाद मान्ने चलन वर्षौं पुरानो हो।
चुरेक्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक तामाङ र मधेशको बढही समुदायले समेत बलि दिइएको मासु सुकाएर महीनौंसम्म घरमा राख्छन्।
तर, चमार समुदायका पढेलेखेका र नयाँ पुस्ताका केहीले गढीमाईमा बलि दिइएको मासुलाई ‘सिनो’ भन्दै २०६६ सालबाट शुरू गरेको बहिष्कार अभियान बहुसंख्यक चमार समुदायले आत्मसात् नगर्दा सार्थक बन्नसकेको छैन।
अभियानलाई नयाँ पिंढीको चेतनाका रूपमा अर्थ्याउने कलैयास्थित राजाराम बहुमुखी क्याम्पस प्रमुख नन्दनकुमार साह चमार समुदायमा व्याप्त अशिक्षा र गरीबीका कारण त्यसले सार्थकता नपाएको बताउँछन्।
आधारभूत तहको अवस्था ख्याल नगरी केही टाठाबाठाले लगाएको नाराले मात्र अभियान सफल नहुने उनको तर्क छ।
धरातल नजोडिएको अभियान
सिनो बहिष्कार अभियानमा लागेकाहरूलाई यसपटक उनीहरूकै समुदायका अधिकांशले मासुका ठेकेदार र मेला समितिको पैसा खाएको आरोप समेत लगाए।
गाउँघरमा मरेका पशुको सिनो खाने र गुजाराका लागि छालाका सामान बनाउने बारा, पर्सा र रौतहटका चमार समुदाय सबैभन्दा बढी गरीबीको चपेटामा छन्।
गुजाराका लागि पुरुषहरू जुत्ता, चप्पल, ढोलक, दमाहा र मादल जस्ता सरसामान बनाएर बेच्छन् भने महिलाहरू गाउँमा गर्भवती र सुत्केरी स्याहारेबापत पाइने अन्नबाट बल्लतल्ल गुजारा चलाउँछन्।
२०६८ को जनगणना अनुसार बाराका करीब ८० हजार चमार समुदायमध्ये चार प्रतिशतसँग मात्र आफ्नो घर र निजी जमीन (१० कट्ठा भन्दा कम) छ।
अभियानका अगुवाहरू चाहिं चमार समुदायको सामाजिक मर्यादा र आत्मसम्मानमा आँच पुर्या एको यसखाले परम्परालाई निरन्तरता दिन नहुने र आत्मसम्मान बढाउन शुरू गरिएको अभियान आफ्नै समुदायका कारणले पटकपटक असफल हुनु दुखद् भएको बताउँछन्।
योभन्दा अघिल्लो मेलामा सिनो बहिष्कारको नेतृत्व गरेका जिल्ला विकास समितिको तत्कालीन दलित उत्थान विकास समिति र जिल्ला नेटवर्कका पदाधिकारीले प्रभावकारी काम गर्न नसकेको भन्दै ६ महीनाअघि बारा, पर्सा र रौतहटका चमार समुदायको एक भेलाले छुट्टै समिति बनाएर सिनो बहिष्कारबारे प्रचार गरेको थियो।
तीनै जिल्लाका चमार समुदाय बहुल करीब ५० वटा गाउँमा पुगेर भेला, सभा, र्या ली गरिएको र त्यसक्रममा सबैले सिनो नखाने बताए पनि अहिले आक्रोशित भएर मासु नै खोस्न आएपछि अगुवाहरू नै हैरान छन्।
गत वर्ष करीब २५ हजार बलि दिइएको गढीमाई मेलामा यो वर्ष पाँचहजार राँगा र त्यति नै अन्य पशुपक्षीको बलि दिइएको सम्बद्धहरू बताउँछन्।
देश–विदेशमा चुलिएको विरोध र भारतको सर्वोच्च अदालतले समेत बलिका लागि पशुको निकासी निषेध गरेपछि अघिल्लो वर्षको तुलनामा यो वर्ष गढीमाईमा बलि घटेको देखिन्छ। तर, त्यसले सिनो बहिष्कार अभियानलाई प्रभावित गर्न सकेन।
पूरै समुदायले सिनो बहिष्कार गर्ने चर्चा भएपछि मन्दिर संचालन तथा विकास समितिले बलि दिइएका राँगाको मासु ठेक्कामा बिक्री गर्ने तयारी गरेको थियो।
तर, सिनो लुटेपछि रु.१ करोड ६० लाख १० हजारमा ठेक्का लिएको ठेकेदार जीवन चन्दको समूहले तयारीको क्रममा रु.१ करोड ५० लाख खर्च भएको भन्दै क्षतिपूर्ति दाबी गरेको छ।
कतिसम्म भने, सिनो बहिष्कार अभियानका अगुवाहरूले आफूहरूलाई ‘धोका’ दिएको भन्दै गाउँस्तरका चमार समुदायका समितिहरूमाथि अदालतमा मुद्दा दायर गर्ने समेत बताउन थालेका छन्।
